राजनीति

फागुन १ को सार्वजनिक बिदा उत्सव कि हिंसा प्रारम्भ भएको दिन ?

काठमाडौं । फागुन १ मा सार्वजनिक बिदा दिने सरकारको निर्णयले फेरि एकपटक संसदमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच घोचपेच चलेको छ । गत फागुनमा एमालेसहितको प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध थालनी भएको दिन भन्दै फागुन १ मा सार्वजनिक बिदा दिएको थियो । त्यस दिन नेपालमा १० वर्षे हिंसा सुरु भएको भन्दै माओवादीको आलोचना भइरहेको छ । तर माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गतेलाई जनयुद्ध दिवस बनाउने भन्दै सार्वजनिक बिदा दिए ।

प्रचण्डले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय भएका बेला एमाले, माओवादी नेतृत्वको सरकार थियो । त्यसबेलासम्म नेपाली कांग्रेस प्रतिपक्षमा थियो । एमालेले फागुन १३ गते सरकार छाडेको थियो । प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने घोषणा गरेपछि मात्रै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।

आफू सरकारमा हुँदासम्म एमालेले फागुन १ गतेको सार्वजनिक बिदाबारे एक शब्द बोलेन । तर जब प्रतिपक्षमा पुग्यो, तब मात्र एमालेलाई फागुन १ गतेको सार्वजनिक बिदाले पिरोल्न थाल्यो ।बर्खे अधिवेशनको अन्तिम दिन बिहीबार प्रतिनिधिसभामा एमाले र माओवादी सांसदले यो विषयमा राम्रै सवाल जवाफ चल्यो । आजको बैठकमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने भनिए पनि एमालेले उपाध्यक्ष विष्णु पौडेल, माओवादीले उपमहासचिव वर्षमान पुन र कांग्रेसले रमेश लेखकलाई बोलन लगाएको थियो । एमालेका उपाध्यक्ष पौडेलले फागुन १ गते कुनै पनि दृष्टिकोणले उत्सवको दिन हुन नसक्ने जिकिर गर्दै सार्वजनिक बिदा दिने निर्णय फिर्ता हुनुपर्ने माग गरे । उनले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन सार्वजनिक बिदा दिन नहुने जिकिर गरे ।

‘फागुन १ गते कुनै उत्सव मनाइने दिन हुन सक्दैन । त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो,’ उनले भने, ‘हिंसा प्रारम्भ भएको दिन फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सबलीकरण हुन सक्दैन । नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन । यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनै पर्छ भन्ने लाग्छ, उसलाई यो ठिक हो भन्ने लाग्छ भने म सरकारलाई चुनौतीका साथ भन्न चाहन्छु, सरकारले फागुन १ गते युद्ध दिवस मनाउनु पर्छ भन्ने प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस् । त्यो आँट छ सरकारसँग ?’

पौडेललगत्तै बोलेका माओवादी नेता वर्षमान पुनले आफैं मन्त्रिपरिषद् बैठकमा बसेर जनयुद्ध दिवसको बिदा दिएको बिर्सनुभयो भन्दै प्रश्न गरेका थिए । ‘जनयुद्ध दिवसका विषयमा उहाँ कुरा उठेको छ । म स्मरण गराउन चाहन्छु, माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्ववक्ता माननीयज्यू उपप्रधानथमन्त्री हुनुहुँदोहरेछ । त्यही क्याबिनेटले निर्णय गरेको रहेछ’, पुनले भने, ‘म व्यक्ति केन्द्रित हुन चाहन्न । हाम्रो संस्कार कहाँबाट आउने हो ।

हामी आफैं निर्णय गर्ने, अर्को ठाउँमा जाँदा त्यही कुरा अर्को कसरी हुन्छ । हामी सबैले आफ्नो संस्कार र संस्कृति सुधार गरौं । हामी सबै आफूतिर फर्किऔं ।’प्रधानमन्त्री प्रचण्डले फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णयमा एमाले अध्यक्ष केपी ओलीले नै हस्ताक्षर गरेको दाबी गरेका छन् । जनयुद्ध दिवस मनाउने बेला चाहिँ विभिन्न बहाना बनाएर छलेको उनको भनाइ छ । तर यो विषयले फेरि एकपटक एमालेलाई विरोधका लागि विरोध नभई आफ्नो अडानमा कायम रहन नसक्ने दलको रूपमा परिभाषित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *