समयको ख्याल राख्ने मुलुकको विकास हुन्छ । तर, हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो छ । कुनै उच्चपदस्थ कतै सवारी हुँदैछन् भने घन्टौं अगाडिदेखि सवारीसाधन आगमन निषेध गरिदिन्छन् । विदेशी पाहुना आउन लागे भने पनि उही अवस्था छ । ट्राफिक जाम बनाएर सवारीसाधन रोकेर राख्ने प्रवृत्ति हामीकहाँ विगतदेखि छ । जुन अहिले पनि जारी नै छ ।
कुनै सर्वसाधारण अस्पताल हिँडेका हुन्छन् । कुनै बिरामी बोकेर घरतिर फर्किएका हुन्छन् । कोही कामका लागि घरबाट निस्किएका हुन्छन्, त कुनै आफ्नो ड्युटीमा पुग्न दौडधुप गरिरहेका हुन्छन् । तर, यो कुरा सरकारले देख्दैन । कुनै उच्च पदाधिकारी सवारी हुनेबित्तिकै सर्वसाधारणलाई ट्राफिक जामको त्रासले सताउँछ ।
उसै त जाम हुने सडक, त्यहीमाथि सवारी । सरकारलाई घन्टौं सवारीसाधन रोक्दा पनि कुनै फरक पर्दैन । अहिले पनि राजाकै पालाको सिस्टम छ । २०६५ सालअगाडि राजा सवारी हुनुभन्दा दुई घन्टा अगाडि सवारीसाधनको आवतजावत रोकिन्थ्यो । हिँड्न पनि रोक लगाइन्थ्यो । बाटो पूरै खाली गराएर राजा सवारी हुन्थे । राजा हटाएर जनताको छोराछोरी राष्ट्रप्रमुख भए । उच्च पदमा पुगे । तर, सिस्टम परिवर्तन हुनुसकेन ।
पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी त गणतन्त्रको राजा नै भइहाले । उनीहरू सवारी हुनुभन्दा दुई घन्टा अगाडि नै पूरा बाटो खाली गराइन्थ्यो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल अलिक फरक देखिएका छन् । उनी सवारी हुँदा एकतर्फीको बाटो खाली गराइन्छ । तर, साइरन बजाउने र सुरक्षाकर्मी दौडाउने क्रम जारी नै छ । अहिले पनि राष्ट्रपति सवारी हुँदा सयौं सुरक्षाकर्मी परिचालन गरिन्छ । बाटोभरि सुरक्षाकर्मी उभाइएको हुन्छ । सुरक्षाकर्मी उभ्याउनु पर्यो किन ? देखाउनका लागि ?
छिमेकीले सीमा मिचेको मिच्यै छन्, सुरक्षाकर्मी जति सबै उच्चपदस्थ भनाउँदाहरूको पछाडि खटिएका छन् । अनि सीमाको सुरक्षा कसले गर्ने ? देश ठूलो कि यिनीहरूको नौटंकी ? सुरक्षाकर्मीलाई अगाडिपछाडि दौडाउनुको साटो सीमामा पठाए त छिमेकीले ज्यादती गर्न सक्दैन थिए ।
प्रधानमन्त्रीदेखि लिएर विपक्षी दलका नेताको गाडीसमेत त्यसरी नै दौडिएको हुन्छ । यिनीहरूको गाडी हुइँकेको देख्दा सर्वसाधारणको सातो जान्छ । यताउता हेर्दैनन्, हुइँकाउँछन् । उनीहरूको गाडीले सर्वसाधारणलाई ठक्कर दियो भने कसले जिम्मा लिन्छ ? कहाँकहाँ न पुग्न लागेझैं नेताहरूको गाडी हुँइकेको हुन्छ । आफूहरू व्यस्त छौं भनेर देखाउन त्यसरी गाडी गुडाएका होलान् । तर, जनताले तिनका काम देखिसकेका छन् । गाडी दौडाएअनुसारको रफ्तारमा काम गरेको भए आज देश कहाँ पुगिसक्थ्यो ? जति नै हतारो भएको देखाए पनि आखिर चिया खाने र एकअर्काको खुट्टा तान्नेबाहेक केही गरेका होइनन् ।
मुलुकको व्यवस्था परिवर्तन भयो ।
विडम्बना, राजाले ल्याएको व्यवस्थामा परिवर्तन हुन सकेन । अहिलेका नेताहरूले आफूलाई गणतन्त्रको राजा ठानेका छन् । जनताको सेवक हुनुपर्नेहरू शासक बनेका छन् । नेताहरू जनताका लागि काम गर्छौं भनेर भाषण ठोक्छन् । तर, अहिलेसम्म के गरे ? जनताको हिजो जहाँ थिए, आज पनि त्यहीँ छन् । जीविकोपार्जन गर्नै समस्या छ । जनता खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था छ । विदेश पलायन हुने नेपालीको संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । विकासको मूल फुटाउँछौं भन्छन्, तर कतै विकासको थोपो देखिँदैन ।
सभामुख देवराज घिमिरे साइरन बजाएर दौडिँदै संसद् भवन पुग्छन् । उनको गाडी हुइँकेको देख्दा कानुन बनाउन साह्रै हतारो भएझैं लाग्न सक्छ । तर, अहिलेसम्म उनले कतिवटा विधेयक पारित गराउन सके त ? वर्षौं बित्न लागिसक्यो, बल्लतल्ल मिटरब्याजको विधेयक पारित भएर कानुन बन्यो । करोडौं तलबभत्ता खाइसकें, तर प्रगति केही छैन । पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको सवारी हुइँकेको देख्दा बालुवाटारमा ठूलै निर्णय हुन लागेकोझैं महसुस हुन्छ । तर प्रतिफल केही आउने होइन ।
यिनीहरूको सवारीका कारणले सर्वसाधारणले कति सास्ती पाउँछन् ? कतिपयको ज्यानमाथि नै जोखिम पर्न सक्छ । एक मिनेट मात्र ढिलो भयो भने बिरामीको ज्यान जान सक्छ । सरकारका कर्मचारीलाई फरक नपर्ला, तर निजी कार्यालयमा काम गर्नेहरूलाई समयले निकै प्रभाव पार्छ । समयमा कार्यालय पुगेन भने जागिर जान सक्छ । तलब काटिन्छ । यो त सरासर गर्ने कोही र भर्ने कोहीको अवस्था भयो । नेताका कारणले जनतामा परेको क्षतिको भर्पाइ कसले गर्ने ? बुढापाका भन्छन्, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि भत्काउँछ ।’ हामीकहाँ ठ्याक्कै त्यस्तै अवस्था छ । नेताहरू आफू त काम गर्दैनन्, अरुलाई पनि गर्न दिँदैनन् ।
सबैभन्दा धेरै वर्षा जेठ, असार र साउनमा हुन्छ । यो खेतीको सिजन हो । यतिबेला खेती गरेन भने वर्षको नौ महिना खान पाइँदैन । तीन महिना रातदिन नभनिकन काम गरिन्थ्यो । तीन महिनाको दुःखले नौ महिना बसिबसी खान पुग्थ्यो । बुढापाकाले अहिले पनि भन्छन्, ‘बर्खाको बेलामा मान्छे नै मरे पनि छोपेर खेतीमा गइन्थ्यो । नभए त भोकले अरु सदस्य पनि मर्नुपथ्र्यों ।’
नेपाललाई कृषिप्रधान देश भनिन्छ । अब कृषिप्रधान होइन, आयातप्रधान देश नामाकरण गरे हुन्छ । असारको समयमा जनतालाई भेला गराएर भाषण ठोक्छन् । देशलाई कृषिमूलक बनाउने, विकास गर्नेलगायतका खोक्रो भाषण गर्छन् । किसानले मल पाइरहेका छैनन् ।
विश्वका धेरै मुलुक यस्ता छन् कि जो पूरै मरुभूमिले घेरिएको छ । तर, त्यहाँका नेताहरूले मरुभूमिलाई हराभरा बनाए । नेताहरूले मरुभूमिमा उब्जनी गरे । आफ्ना देशका नागरिकलाई आफैंले उब्जाएकोले खान पुर्याएका छन् । विकास गरे । गर्न चाह्यो भने सबै सम्भव छ भन्ने उदाहरण विश्वका अधिकांश मुलुकले दिएका छन् ।नेपाल त प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश । उर्वर भूमियुक्त देश । जलस्रोतको दोस्रो धनी देश । विडम्बना, यहाँ नै सबैभन्दा धेरै खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । हरेक वस्तुमा नेपाल परनिर्भर छ । नेताहरूले भएका उद्योग, कलकारखाना पनि बन्द गराइदिए ।
मुलुकलाई गरिब देखाएर विदेशीबाट डलर ल्याउँदै खाने काम नेताहरूले गरे । जलविद्युत मात्र निकाल्न सकेको भए आज नेपाल कहाँ पुगिसक्थ्यो । नेपालीलाई पहिल्यैदेखि किसान भनेर चिनिँदै आएको छ । नेताहरूले यो पनि देख्न सकेनन् । धमाधम जग्गा प्लानिङ गर्न दिइयो । नेताहरूले अल्मलाइरहेका छन्, जनता तिनकै पछाडि लागिरहेका छन् । जनतामा चेतना नआएसम्म नेताहरूले घुमाइरहन्छन् । देशको विकास त कल्पनाबाहिरको कुरा हो ।




