मनोरञ्जन

इगोले खाँदै छ नेपाली चलचित्र उद्योग

काठमाडौं । केही समयअघि अभिनेता अनमोल केसी पक्राउ परे । आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले उनलाई काभ्रेको साँगाबाट पक्राउ गरेको थियो । तर उनी प्रहरी हिरासतमा बस्न मानेनन् । आफ्नो छाती दुःखेको भनेर उनी चिरायु अस्पताल भर्ना भए । निर्माताबाट लिएको १० लाख पेस्की फिर्ता गरिदिने सर्तमा पछि उनी रिहा भए ।

‘रावायण’ चलचित्रकी निर्माता सुुप्रिया कटुवालको उजुरीका आधारमा अनमोल पक्राउ परेका थिए । सुप्रिया निर्देशक सुदर्शन थापाकी श्रीमती हुन् । ठगीकाण्डमा पक्राउ गर्न लगाएर सुदर्शनले अनमोलको स्टारडम ध्वस्त गर्न खोजेको आरोप लागेको छ । यद्यपि सुदर्शन भने आफूमाथि अन्याय भएको दाबी गर्छन् ।

अनमोल केसीलाई तीन दिन प्रहरी कस्टडीमा पु¥याएका सुदर्शनमाथि अहिले उल्टै आपराधिक विश्वासघातको मुद्दा परेको छ । आफ्नो मञ्जुरीबिना ‘प्रसाद २’ फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले सुदर्शनविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका छन् ।

गत साउन १० मा परेको जाहेरीमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल, निर्देशक थापा तथा सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको थियो । त्यही जाहेरीअनुसार अग्रवाललाई प्रहरीले गत शुक्रबार दरबारमार्गबाट पक्राउ गरेको थियो । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिए पनि आज आइतबार उनलाई अदालतमा उपस्थित गराइएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा सुदर्शन थापा आश्चर्यमा परेका छन् । उनले निर्मातासँग अझै नौ लाख पारिश्रमिक पाउन बाँकी रहेको दाबी गरे । आफूलाई फसाउने षडयन्त्र भइरहेको उनको भनाइ छ ।

केही समयअघि ‘प्रेमगीत ३’ चलचित्रको विषयलाई लिएर भुवन केसी र प्रदीप खड्काबीच ठूलै लफडा भयो । हिन्दीमा डब गरिएको ‘प्रेमगीत ३’ लाई नेपाल चलचित्रको मान्यता दिन नसकिने भन्दै चलचित्र विकास बोर्डले कर लिने निर्णय गरेपछि केसी र खड्काबीच लफडा भएको हो । कतिसम्म भने सार्वजनिक कार्यक्रममा समेत यी दुईबीच इगो प्रस्टै देखिन्थ्यो ।
चलचित्र विकास बोर्डले हालै अवार्ड वितरण गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले विकास बोर्डले तयार गरेको सूचीका आधारमा अवार्ड दिए । तर बोर्डले यसपटक उत्कृष्ट चलचित्रको अवार्ड दिएन । उत्कृष्ट चलचित्रमा ‘प्रकाश’ छनोट भएको थियो ।

अवार्डका जुरीहरूले ‘प्रकाश’ लाई उत्कृष्ट चलचित्रको अवार्ड दिन सिफारिस गरेका थिए । तर ‘प्रकाश’ मा प्रदीप खड्काले अभिनय गरेकाले भुवन केसीलाई त्यो अस्वीकार्य भयो । अहिले बोर्डविरुद्ध ‘प्रकाश’ निर्माण टिम अदालत पुगेको छ । इगोकै कारण भुवनले प्रदीप खड्का अभिनित चलचित्रलाई अवार्ड दिन चाहेनन् । यो घटनाले नेपाली चलचित्रकर्मीमा इगो कतिसम्म झाँगिएको रहेछ भन्ने पुष्टि गर्छ ।

त्यति मात्र होइन, चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गरिदिएपछि चलचित्रकर्मी आगो भए । कसको चलचित्रले कति टिकट बिक्री गर्दै कमाइ ग¥यो भन्ने बक्स अफिस रिपोर्टले देखाउने गर्छ । विदेशमा पनि बक्स अफिस रिपोर्ट हेर्न पाइन्छ । तर नेपालमा भने सामाजिक सञ्जालमै बक्स अफिसमा गरेको व्यापार हालिदिएर भुवन केसीले सबै निर्माता निर्देशकलाई चिढ्याए । चौतर्फी आलोचना भएपछि भुवनले त्यो निर्णय फिर्ता लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *