देश

ओलीले संसदबाटै सरकारको विकल्प खोज्न आह्वान गर्नु अर्थपूर्ण


काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले मंगलबार प्रतिनिधिसभामा झन्डै दुई घन्टाभन्दा बढी समय सम्बोधन गरे ।

लामो समयपछि संसदमा सम्बोधन गरेका ओलीले परम्परागत ढर्रालाई निरन्तरता दिए । सरकारको आलोचना गर्नुबाहेक उनले नयाँ केही बोलेनन् ।

ओलीले देशमा सुशासन कायम गर्न सरकार असफल भएको आरोप लगाए । सुन तस्करीमा संलग्नलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीको आलोचना गरेका उनले राजनीतिको अपराधीकरण गरिएको आरोप लगाए ।

ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति पनि प्रश्न उठाए । स्वतन्त्र न्यायपालिका सरकारको विभागजस्तो बनाउन खोजिएको आरोप पनि उनले लगाए । फागुन १ गते जनयुद्ध सुरु गरेको दिन सरकारले सार्वजनिक बिदा दिएकोप्रति ओलीले आक्रोश पोखे ।

ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति निकै आक्रामक देखिए । उनले प्रचण्ड सरकार चलाउन लायक नभएको भन्दै आक्रोश पोखे । उनले १५ दिन प्रधानमन्त्री स्वदेशमा नहुँदा पनि सरकार चलिरहेको भन्दै यस्तो सरकारको विकल्प खोज्न सार्वजनिक आह्वान पनि गरे ।

ओलीले प्रचण्ड सरकारको विकल्प खोज्न आह्वान गर्नुलाई अर्थपूर्ण मानिएको छ । खासगरी कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारको आयु अब चार दिन मात्र बाँकी छ । असोज २० गते मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमालेको मात्रै मतले सरकार टिक्ने अवस्था छैन । त्यही भएर ओलीले संघीय सरकारदेखि नै समीकरण फेर्न प्रतिनिधिसभामा प्रचण्ड सरकारको विकल्प खोज्न आह्वान गरेको र त्यो नेपाली कांग्रेसप्रति लक्षित भएको राजनीतिक विश्लेषकहरूको अनुमान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *