काठमाडौं । दशैं नेपालीको लागि ठूलो चाड हो । तर, यो चाड पनि धनीलाई मात्र लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले दशैंमा समेत न नयाँ कपडा किन्न पाउँछन्, न मिठो नै खान पाउँछन् । धनीका लागि त जहिल्यै दशैं हुन्छ । गरिबहरूका लागि मात्र वर्ष दिनमा एकपटक दशैं आउने हो । तर, वर्ष दिनमा मनाइने उक्त चाडमा पनि उनीहरूले न राम्रो कपडा लगाउन पाउँछन्, न मिठो खान पाउँछन् । यसपालिको दशैं आँगनमै आइसकेको छ । महँगीले सीमा नाघिसकेको छ । बेरोजगारी ह्वात्तै बढेको छ । व्यापार व्यवसाय ठप्प छ । जताततै आर्थिक मन्दी छ । दशैं भित्रिए पनि बजारमा चहलपहल छैन ।
गाउँघर फर्किनेहरू पनि कमै छन् । दशैं कसरी मनाउने र खर्च कसरी जुटाउने भनेर सर्वसाधारण जनता चिन्तित छन् । जो व्यक्ति सरकारी जागिरे छ, जसको पेन्सन आउँछ, उसलाई त केही चिन्ता नै छैन । किनकि उनीहरूलाई दिनहुँ दशैं लागेको हुन्छ । अहिले व्यापारीहरू धमाधम कामदार निकालिरहेका छन् । कतिपयलाई त तलब नै नदिई पनि निकालिएको छ । संघसंस्था, कम्पनी, होटल, रेस्टुरेन्टलगायतमा काम गर्नेहरूलाई पनि निकालिरहेको छ । सरकारी जागिर भएका तथा पेन्सन आउनेहरूले अहिले दशैंमा यतिको खसी किन्ने र यसरी मनाउने भनेर छलफल गर्न सुरु गरिसकेका छन् ।
तर, गरिबको घरमा अहिलेसम्म जिरा, मसलाको समेत कुरा चलेको छैन । किनकि उनीहरूसँग आम्दानी छैन । ऋण पनि कसैले पत्याउँदैन । पहिलापहिला आफूसँग पैसा नभए पनि दशैं मनाउन साथीभाइ, आफन्तसँग ऋण लिइन्थ्यो । अहिले त जोकोही सहकारीले पैसा खाइदिएको बताउँछन् । ऋण माग्दा आफूहरूसँग दशैं मनाउन पैसा नभएको उनीहरू बताउँछन् । कसैले ऋण नपत्याए आफूसँग भएको जग्गा, सेयर र सुनसमेत बेचेर जोहो गरिन्थ्यो पहिला । तर, अहिले त न जग्गा नै बिक्री हुन्छ, न सेयर र सुन । दशैं नजिकिएसँगै बचतकर्ताहरू रकम फिर्ता पाउने आशामा सहकारी धाइरहेका छन् ।
सहकारीमा बचत फिर्ता पाउने आशामा बसेका कतिपय बचतकर्ताहरू बालबच्चाको फिस तिर्न नसक्दा पढाइ छुटेको भन्दै आँशु झार्छन्, न कतिपय उपचार खर्च नभएर रोग पालेर बस्नुपरेको गुनासो गर्छन् । पछिल्लो समय मुलुकभर दर्तामा रहेका सहकारीमध्ये अधिकांश भागेका छन् । त्यस्तै, कतिपय सहकारी नभागे पनि पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । ती सहकारीका सञ्चालक र कर्मचारीहरू बचतकर्तासमक्ष तीनवटा कुरा राख्छन् । उनीहरू रकम फिर्ता गर्न नसक्ने भन्दै घरजग्गा, गाडी र सेयर लिन बताउँछन् । एक–दुई पैसा भए पनि ब्याज आउँछ र आफूलाई चाहेको बेलामा रकम निकाल्न सकिन्छ भनेर सर्वसाधारणले सहकारीमा बचत गरे ।
सहकारीका सञ्चालन र कर्मचारीहरूले घुसको आडमा घरजग्गा, गाडी र सेयरमा कर्जा लगानी गरे । अहिले बचतकर्तालाई रकम फिर्ता गर्नुको साटो घरजग्गा, गाडी र सेयर लिनुस् भनिरहेका छन्, त्यो पनि महँगो मूल्यमा । बैंकले सय रुपैयाँमा निष्कासन गरेको सेयर पाँच हजारमा लिनुस् भनिरहेका छन् ।
एक लाख आना नपर्ने जग्गा ६५ लाख र दुई लाख नपर्ने सवारीसाधन ५० लाखमा भिडाउन खोजिरहेका छन् । बचतकर्ताको रकम फिता गर्नुको सातो उल्टै उनीहरूलाई ठग्ने काम भइरहेको छ । बचतकर्ताहरूलाई जसरी भए पनि घरजग्गा, गाडी र सेयर आफूहरूले भनेको मूल्यमा खरिद गर्न उनीहरूले दबाब दिइरहेका छन् । सहकारीहरूले हिजो १६ देखि २२ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाएर बचतकर्ताहरूलाई रकम जम्मा गर्न लगाए । तर, अहिले घरजग्गा, गाडी र सेयर महँगोमा भिडाएर पैसा पचाउन खोजिरहेका छन् उनीहरू । अहिले पनि सहकारीका सञ्चालक र कर्मचारीहरूले नयाँ नयाँ पोलिसी ल्याएर जनता ठग्ने काम गरिरहेका छन् ।
आमनागरिक बैंक तथा सहकारीका सञ्चालक र कर्मचारीहरूको पोलिसी नै जनता ठग्ने रहेको बताउँछन् । बैंक र सहकारीमाथिबाट जनताको विश्वास गुमिसकेको छ । जसकारण बैंकमा पनि पैसा निकाल्ने बचतकर्ताको लाम छ । अधिकांश बैंक घाटामा गइसकेको छ । डुब्ने अवस्थामा पुगेका छन् । अहिले सहकारीमा बचतकर्ताहरू सय रुपैयाँसमेत राख्दैनन् । जनताले विश्वास गर्न छाडेपछि सहकारी भाग्नुपरेको छ अनि बैंक नाजुक अवस्थामा पुगेको छ । बैंक तथा वित्तीय संस्थाले धेरैलाई ठगेपछि आज यो अवस्था निम्तिएको हो । हिजो करोडपतिलाई सुकुम्बासी बनाउने बैंक आज आफैं कंगाल हुनुपरेको छ ।
बैंकहरूले करोड मूल्य पर्ने धितो राखेर ५० लाख कर्जा प्रवाह गरे । त्यसमा पनि पाँच लाख घुस, २ प्रतिशत सेवाशुल्क र १८ देखि ४८ प्रतिशतसम्म ब्याज । तर, ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो ४५ लाखमा पचाउने । यस्ता ठगहरूद्धारा बैंक र सहकारी सञ्चालन भए पनि सर्वसाधारणको सम्पत्ति लुटियो । अहिले जनतामा सचेतना आइसकेको छ । बैंक र सहकारीको विरोधमा चौतर्फी आवाज उठिसकेको छ । कतिपयले त कालोमोसोसमेत दल्न थालेका छन् । भूरादेखि बूढासम्म बैंक र सहकारीका सञ्चालक र कर्मचारीहरू ठग हुन् भनेर भन्छन् । सबैको मनमा बैंक र सहकारी लुटमारा हो भन्ने छाप परिसकेको छ ।
यसले गर्दा अहिले बैंक र सहकारीमा बचत गर्ने तथा कर्जा लिनेको संख्या ह्वात्तै घटेको छ । जनता शिक्षित भइसकेका छन् । उनीहरूको चेतना आइसकेको छ । त्यसैले, अब यस्ता ठगहरूले उनीहरूलाई लुट्न पाउँदैनन् । अहिले सरकारले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालकहरूलाई पक्राउ गरेको छैन । न त बचत फिर्ता नगर्ने सहकारीको दर्ता नै खारेज गरेको छ । गत वैशाख २६ गते सरकारले सहकारीको कार्यदल गठन ग¥यो । उक्त कार्यदलले गत भदौ २५ गते प्रतिवेदन बुझायो । तर, त्यो प्रतिवेदन कार्यान्वयन भएन । दराजमा थन्कियो । बचतकर्ताहरूले न पैसा फिर्ता पाए न न्याय नै पाए । उनीहरूको रकम जोखिममा परेको छ ।
करोडौं बचतकर्ताको खर्बौं रकम फिर्ता नहुने अवस्थामा पुगेको छ । यसरी एकातिर सहकारीले रकम फिर्ता नगर्दा र अर्कातिर बेरोजगारी, महँगी बढेकोबढै गर्दा जनता दशैं मनाउनबाट पनि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । करिब तीन वर्षअघि दशैं आउन महिना दिन बाँकी हुँदै बजार भीड हुन्थ्यो । व्यापार व्यवसाय उत्तिकै हुन्थ्यो । तर, यसपालि त दशैं आउन केही दिन बाँकी हुँदासमेत बजारमा चहलपहल छैन । व्यापार व्यवसाय ठप्प छ । सहकारीका कारण उठीबास त लाग्यो नै, चाडपर्वसमेत मनाउन नसक्ने अवस्थामा पुगेका छन् बचतकर्ता ।




