विचार

बीपीको प्रजातान्त्रिक समाजवादको लक्ष्य थियो – प्रत्येक नेपाली आफैमा सक्षम होउन्

सार्वकालिक राजनीतिज्ञका रुपमा नेपालमा राजनीतिक, सामाजिक र साहित्यिक पुनर्जागरणको नेतृत्व दिनु भएका भूतपूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला—बीपी—को जन्म आजभन्दा १०९ वर्ष पहिले भएको भएको थियो ।

केही महिना गृहमन्त्री र १७ महिना मात्र प्रधानमन्त्री हुनु भएका बीपी आजसम्म सबैभन्दा बढी चर्चामा आउने राजनीतिज्ञ र साहित्यिक व्यक्तित्व हुनु भएको छ । नेपालीलाई स्वाभिमानी बनाउन आफ्ना सम्पूर्ण सुख सुविधा तिलाञ्जलि दिएर मुलुक र मुलुकबासीको हितमा समर्पण हुने राजनेताहरुको पङ्क्तिमा बीपी अग्रभागमा नै पर्नुहुन्छ । नेपालको स्वाभिमानका लागि अडान लिँदा र प्रजातन्त्रको पक्षमा अचल विश्वासमा साथ सदैव लागिरहँदा कृतघ्न शासकहरुबाट जेल, नेलको जुन दण्ड दिएको थियो र मुलुकमा प्रजातान्त्रिक शासन प्रणाली पुनर्बहाली गराउन प्रबासमा समेत बस्नु परेको थियो ।

बीपी एउटा खुला किताब हुनुहुन्थ्यो राजनीतिमा । स्पष्ट नेपालवादी । भारतसँगको उहाँको सम्बन्ध भनेको नेपालसँगको समान स्तरमा रहनुपर्ने भन्ने थियो तर तत्कालीन अवस्थामा जहानियाँ राणा शासनको जरो अंग्रेज शासनसँग जोडिएकोले भारतमा भइरहेको अंग्रेज विरोधी आन्दोलनलाई सफल बनाउन क्रान्तिचेतनाको भावनाले नेपालीहरुको पनि सहयोग जरुरी ठानेर बीपीसहितका नेपालीहरु भारतीय स्वतन्त्रता संघर्षमा होमिएका थिए ।

शुद्ध क्रान्तिचेत र भावी प्रजातान्त्रिक स्वतन्त्र नेपालको कल्पनामा । भारत पराइको अधीनमा थियो र विदेशीको जन्जिर चुँडाउनु थियो भने नेपाल नेपालीको बन्धनमा जकडिएको थियो र त्यो बन्धन फुकाउनु आवश्यक थियो । राणा शासनको आधार भनेको भारतको अंग्रेज शासन थियो । भारतको शासन भनेको समुद्रपारिे बेलायतीे राजतन्त्रको पराधीन थियो । बीपीले आफ्नो समूह मार्फत् नै भारतलाई सहयोग गर्दैै नेपालमा प्रजातन्त्र स्थापनाको कल्पना गर्नुभयो । त्यसभन्दा पहिले पनि प्रजापरिषदमार्फत् मुलुकभित्रै क्रान्तिचेत फैलाउने काम भएकै थियो र त बीपीले प्रजापरिषदका नेता टङ्कप्रसाद आचार्यलाई नै आफ्नो राजनीतिक संगठन नेपाली राष्ट्रिय काँग्रेसको अध्यक्ष बनाएर संस्था सञ्चालन गर्नु भएको थियो ।

बीपीको राजनीतिक जीवनमा आएका उतार चढाव भनेको नै तत्कालीन राजनीतिमा देखिने नयाँ नयाँ आयामले निर्धारित गरेको पाइन्छ र त उहाँ एउटा दूरदर्शी नेताको रुपमा इतिहासमा अंकित हुनुहुन्छ । आजको राजनीति र बीपीको त्यसबेलाको राजनीतिमा समानता थिएन । त्यसैले आजको अवस्थासँग तुलना गरेर जम्मा १८ महिने शासनकालमा केके हुनसके भनेर लेखाजोखा गर्नुपर्दा पनि मुलुकको बृहत्तर हितमा कसरी आफूलाई र आफ्नो पार्टी नेपाली काँग्रेसलाई प्रस्तुत गर्ने भन्ने बीपीमा सधैँ लालसा भने देखिन्छ ।

उहाँ अरुलाई परिवर्तन गर्नका लागि सर्वप्रथम आफूमा नै रुपान्तरण गर्ने स्वभावमा इतिहासमा देखिनु हुन्छ र जति पनि प्रयास सुरु भएका थिए, तिनको आज पनि उत्तिकै महत्व देखिन्छ । यातायातको विकासका क्षेत्रीय संगठनको सहयोग, उद्योगको सूत्रपात, सहरीकरणको परिकल्पना, कृषि विकासका लागि भूमिसुधारको परिकल्पना , राजा रजौटा उन्मूलन, वन जंगलको सरकारीकरण जस्ता कुरा त्यसबेलामा ज्यादै महत्वपूर्ण योजना थिए जुन आज पनि कल्पनामा नै सीमित भएका छन् ।

समय प्रवाहमा विकास भएकै छ तर मुलुकको विकासका लागि परिकल्पना जुन उहाँको सरकारले गरेको थियो, र जनताको अवस्थाको जुन सपना स्पष्ट खाकामा आउन थालेको थियो, आजसम्म पनि त्यो कल्पनाको शिक्षा, सूचना, समानताका आधारमा समान जीवनस्तर र आवश्यक उत्पादनशीलता र आपूर्तिको सहज नमुनाले अझै बाटो समाउन सकेको पाइँदैन जबकि उहाँले कल्पना गरेको र त्यसलाई योजनाबद्धरुपमा लागू गरेको पनि ६४ वर्ष भइसकेको छ ।

छिमेकीहरुसँगको सम्बन्धले पनि राम्रोसँग सन्तुलन दिन नसकेको देखिन्छ । सायद बीपीको भारत , चीन , इजरायल, अमेरिका र रुसप्रतिको स्पष्ट अडान नै उहाँको सरकार विघटनको कारण हुनसक्छ भन्ने विश्लेषक पनि छन् किनभने त्यसबेलाको शीतयुद्धकालीन समयमा सायद उहाँको विदेशनीतिले कसैलाई चित्त बुझेको थिएन होला ।

सबैभन्दा त बीपीले प्रजातन्त्रका वारेमा जुन चट्टानी अडान लिनु भयो र विश्वमा एउटा धुरन्धर प्रजातन्त्रवादी, संसदीय व्यवस्थावादी राजनेताको पहिचान बनाउनु भयो, त्यो नै हामीजस्ता तेस्रो विश्वका जनताका लागि गौरबको विषय बनेको थियो । विश्वस्तरमा गन्न मिल्ने आधुनिक नेपाली नेताको पहिचान भनेको बीपीको मात्र बनेको छ ।

बीपी आफैँ रुपान्तरणवादी व्यक्ति हुुनुहुन्थ्यो र मानवलाई देवत्वकरण गर्ने कुरामा विश्वास गर्नुहुन्नथ्यो तर पनि आफ्नो राष्ट्रहितप्रति गरिएका स्वाभाविक र निष्कपट प्रयासमाथि लाञ्छना लाग्दा भने केही दिक्क मान्नु हुन्थ्यो होला तर जनताको सार्वभौमसत्ताप्रतिको अविचल आस्था, व्यक्तिको व्यक्तिगत अधिकार र सामूहिक अधिकारको रक्षा प्रजातान्त्रिक व्यवस्थाले मात्र जनताको कल्याण हुनसक्छ भन्ने कुरामा भने सदैव सजग र अडान राख्नुहुन्थ्यो । त्यसैले उहाँ प्रजातान्त्रिक समाजवादीको रुपमा आपूmलाई चिनाउनु हुन्थ्यो ।

आजभोलि एउटा फेसन देखिन्छ —बीपी एउटा असफल नेता हुनुहुन्थ्यो । बीपी कसरी असफल राजनीतिज्ञ हुनुभयो भन्दा भनिने गरिन्छ—वामशक्तिसँगको सहकार्य गरेर पन्चायतका विरुद्ध नलडेकाले पन्चायत उहाँका जीवन कालमा ढलेन,त्यसैले उहाँ असफल भन्नेहरु अहिले छ्यापछ्याप्ती देखिएका छन् । बीपीले एउटा भाष्य तयार गर्नु भएको थियो जसले आज पनि त्यो प्रमाणित भएको छ, नेपालका कम्युनिस्टहरुलाई दरबारले राष्ट्रवादको खोल ओडाएर वामपन्थी बनाएको छ जसको काम नेपालमा प्रजातन्त्रको विरोध गर्नु हो र प्रजातन्त्रको कहिल्यै पुनस्र्थापना नहोस् भन्ने अभीष्टताका साथ गरिएको योजनाको कार्यान्वयन थियो । कतिपय कथित वामपन्थीहरु आज पनि महेन्द्रीय शासनलाई प्रजातन्त्रभन्दा असल शासन थियो भन्न रुचाउँछन् खुलेआमरुपमा ।

कम्युनिस्टसँगको नेपाली काँग्रेसको सहकार्यका वारेमा जुन कोणबाट विश्लेषण गरे पनि हुने अवस्था छ । पन्चायत लागू हुनुभन्दा —२०१७साल पुस १— पहिलकोे कम्युनिस्टको साङ्गठनिक अवस्था र पन्चायत ढलेका दिनको कम्युनिस्टको जनसांख्यिक अवस्था दाँजेर हेर्दा आउने परिणाम, जनमत संग्रहमा बहुदलका विरुद्ध लाग्ने कम्युनिस्ट शक्ति र राजासँगको साँठगाँठलाई सायद बीपीले अथ्र्याउन खोज्नु भएको थियो । एकातिर बीपी मिल्दैनन् भन्ने तर पन्चायतलाई प्रयोग गरेर आफ्नो संगठन सुदृढ गर्ने अवस्थासम्मको प्रयोगलाई अब कसरी अथ्र्याउने हो ?

जुनकुरा अहिले पनि तत्कालीन माओबादीका वारेमा अनुसन्धानले दिएको परिणाम र बिस्तारै हुन थालेको खुलासाले कस्तो व्याख्या गर्ने हो भन्ने अन्यौल छँदैछ । माओबादीका बारेमा धेरै कुरा बाहिर आउन अझै बाँकी छ , अहिले त मात्र नाटकको सुरुवात मात्र भएको ठान्ने राजनीतिक विश्लेषकहरु पनि छन् । सत्तामा रहेको माओबादीमा र हिजो जनयुद्धमा होमिएको माओबादीको तुलनात्मक अनुसन्धान हुन बाँकी नै छ । तर बाध्यताको अवस्था कस्तो छ भने प्रजातन्त्र सिध्याउन, प्रजातन्त्रवादी सिध्याउन सुरु गरिएको वामपन्थीहरुको संगठन सुदृढीकरणको परिणामले प्रजातन्त्रको पक्षमा आउन बाध्य बनेको छ । यसलाई बीपीको सिद्धान्तको जित भन्दा पनि हुन्छ ।

त्यसैले होला, बीपीलाई अहिले पनि नेपाली तथा विश्वका प्रजातन्त्रवादीहरुले सम्झेका होलान् । हामी पनि उहाँका भावना र सिद्धान्तप्रति नतमस्तक हुँदै नयाँ नेपालको कल्पना गरिरहन्छौँ —एउटा स्वतन्त्र प्रजातान्त्रिक समाजवादी नेपाल जहाँ कुनै पनि नेपाली भोक ,रोग र शोकले पिल्सिनु नपरोस् । पराधीन भएर बाँच्नु नपरोस् ।

हो, एउटा अचम्भको संयोग भने देखिन्छ—बीपीले जुन संसदीय व्यवस्थाको पक्षधरता देखाउँदै प्रजातान्त्रिक समाजवादको व्याख्या गर्नु भएको थियो, अहिले एकप्रकारले त्यही व्यवस्था संविधान सभाले बनाएको संविधानले स्थापना गरेको छ । तर दुर्भाग्य, उहाँकै दल त्यो राजनीतिक खेलमा कमजोर खेलाडीको रुपमा, रिङ बाहिरको बक्सर जस्तो भएर तमासे हुने अवस्था सृजना भएको छ ।

यसमा बीपी सफल कि असफल ? जसले एउटा विद्यार्थी हुँदा नै परिकल्पना गरेको जनताको नियन्त्रणमा रहने व्यवस्था झन्डै सात दशकपछि स्थापना भएको छ, समाजवाद उन्मुख कल्याणकारी राज्यको परिकल्पना गरिएको छ र मौलिक हकसहितको पूर्ण प्रजातान्त्रिक व्यवस्था लागू भएको छ । यसमा एउटा अभियन्ताले परिकल्पना गरेको व्यवस्था लागू भएको छ र त्यसको अभ्यास सुरु भएको छ भने त्यो राजनेता सफल हो कि होइन ? जुन राजतन्त्र आफ्ना अनगिन्ती गल्तीले आफैँ विघटन भएको छ , त्यो राजतन्त्रका निरङ्कुश राजाचाहिँ कसरी दूरदर्शी भए ? राजा महेन्द्रका बेलामा भएका सन्धी सम्झौताहरुको विश्लेषण आवश्यक छ र बीपीलाई हेर्ने दृष्टिकोणलाई माझ्नु जरुरी छ । हुन त बीपीका जेल जर्नल, आत्मबृत्तान्त र आफ्नो कथाहरुले विश्वलाई अनि नेपालीहरुलाई उहाँको जे अवस्था थियो, त्यसको जानकारी दिएको छ ।

हिजो राजाको प्रचार अभियानलाई किन अर्को नकाब लगाएर सहयोग गरिएको थियो भनेर पनि अनुसन्धान जरुरी छ जसले गर्दा बीपीको कम्युनिस्टसँग नमिल्ने मनोविज्ञानको विश्लेषण हुनसक्छ । प्रजातन्त्र स्थापना, प्रजातान्त्रिक व्यवस्थाको सुदृढीकरण गरेपछि कसरी नेपाली काँग्रेस रुसको मिन्सेभिक र चीनको कोमिन्ताङ जस्तै हुनु परेको हो , त्यसको पनि सायद बीपीको विचारसँगै तादात्म्यता राखेर निष्पक्ष अनुसन्धान जरुरी छ ।

संविधान सभाको पहिलो निर्वाचनको अवस्था, पहिलो संविधान सभाबाट संविधान नबन्ने अवस्था, दोस्रो संविधान सभाको निर्वाचन , संविधान घोषणाको अवस्था, त्यसपछिका राजनीतिक घटनाक्रमबाट भएको विकासलाई नियालौँ । स्थानीय निर्वाचनभन्दा पहिलेको गठबन्धनको शैली, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनताका भएको पार्टीहरुको गठबन्धन र कृत्रिम एकता, मधेसवादी दलहरुको निर्वाचन पूर्वको अवस्था र निर्वाचनपश्चात् सरकारको समर्थनमा देखिएको सबै विकासक्रमलाई यदि जोडेर विश्लेषण ग¥यो भने पक्कै बीपी कति दूरदर्शी वा सफल वा असफल राजनेता हुनुहुन्थ्यो भन्ने बुझ्न सायद सहज हुन्छ ।

बीपी आफैँ मान्छेलाई देवता मान्ने नेता होइन र देवत्वकरणको कुनै लालसा भएको नेता पनि होइन । आजको अवस्थासम्म आउन बीपीको विरोध गर्नेहरुका लागि खुराक आवश्यकता थियो र उहाँका वारेमा पन्चायतले बनाएका सबै आरोपहरुको प्रचार गर्न को किन कसरी प्रयोग भयो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ । राजा र विदेशी शक्तिहरुले प्रजातन्त्र पुनस्र्थापना नहोस् नेपालमा कहिल्यै भनेर गरिएको षडयन्त्रले बीपी र उहाँको पार्टी नेपाली कांग्रेसविरुद्ध जुन भाष्यको निर्माण गरिएको थियो, आज त्यसले पनि अराजकता निम्त्याउन र कांग्रेसलाई सिध्याउन काम गरिरहेको देखिन्छ भन्ने पर्यवेक्षकहरुलाई बेठिक भन्न सकिँदैन ।

बीपीको आदर्श नमुना प्रजातन्त्रको जसले अभ्यास र कार्यान्वयन गर्नुपथ्र्यो, त्यो उहाँले स्थापना गरेको दल नेपाली काँग्रेसले जनतासँग कबुल गरेजस्तै गर्न नसकेको कुरालाई नकारात्मक प्रचारले आजको प्रजातन्त्रको अवस्था भएको हो । प्रजातन्त्र छ तर छैन । जनतन्त्र छ, तर छैन । समाजवाद उन्मुख राज्यको कुरा संविधानमा छ तर व्यवहार सम्भव देखिँदैन । जनतालाई सार्वभौम मानिएको छ सिद्धान्तमा तर अभ्यास कता जान थालेको छ भन्ने कुरा अहिलेका समसामयिक समयले उत्तर दिइरहेको छ ।

एउटा कल्पना गरौँ, यदि आजको मितिमा बीपी प्रधानमन्त्री हुनुभएको भए कुनै विश्वविद्यालयको उपकुलपतिलाई अपराधीझैँ प्लेन चढ्न लागेकै बेलामा विदेश जान नदिएर प्रधानमन्त्री निबासमा बोलाइन्थ्यो होला र भेट नै नदिएर फर्काइन्थ्यो होला ? विपक्षी विनाको सरकार सन्चालन गर्न नसकिने भनेर विरोध गर्नका लागि पत्रिका नै चलाउन आर्थिक सहायता सरकारले नै दिने आदर्श नीति अहिले अभ्यासमा आउन सक्ला ? तर बीपीले एउटा नमुना प्रजातन्त्रको कल्पना गर्नु भएको थियो, साना साना उद्योगधन्धा खोलेर सबै नेपालीहरुलाई रोजगारी दिने कुरा गर्नुहुन्थ्यो र विद्वानहरुप्रतिको आस्थालाई सदैव केन्द्रविन्दुमा राखेर सल्लाह लिनुहुन्थ्यो ।

सायद क्यान्सरले नगाँजेको भए पनि अहिले १०९वर्षको उमेरसम्म बाँच्नु हुन्थेन होला तर आज पनि नेपाली राजनीतिमा सबैभन्दा चर्चित राजनेताको रुपमा बहसमा उहाँ नै हुनुहुन्छ । साम्यवादको दोहोरो चरित्रको उद्घाटन गर्नसक्ने हिम्मती नेता र प्रजातान्त्रिक व्यवस्थाको मुख्य अभियन्ताको रुपमा , जनताको प्रतिनिधित्व सँसदले नै गर्छ भन्ने आस्थाको धरोहरको रुपमा र प्रजातन्त्रका पक्षमा जस्तोसुकै कष्ट , दुःख खप्ने प्रेरणाका श्रोतका रुपमा नेपाली जनमानसमा हजारौँ वर्षसम्म उहाँ रहनु हुनेछ ।

पक्कै नै उहाँको समयभन्दा सूचना प्रविधि र चेतनाको स्तर धेरै फरक भएको छ र उहाँको आस्थालाई सूत्रका रुपमा लिएर नेपाली राजनीति , अझ उहाँको दल अघि बढेमा नेपालमा प्रजातन्त्रको विकल्प प्रजातन्त्रमात्र हुने कुरामा ढुक्क हुन सकिन्छ । बीपीको समाजवाद नेपालीहरुलाई सधैँ मगन्ते बनाउने खालको थिएन, सक्षम नागरिक बनाएर समानताका आधारमा सामाजिक न्यायमुखी समाजको स्थापना गर्ने र सबैलाई आप्mनो क्षमता अनुसारको काम दिई आवश्यकता अनुसारको माम दिने ।

शिक्षा , स्वास्थ्य, आवास, सुरक्षा, खानपिनमा राज्यको संरक्षणसहितको मानव अधिकारको प्रत्याभूति । एउटा सक्षम समाजको परिकल्पनाको समाजवादको कामना राख्ने बीपीको सपना पूरा होला भन्ने आशा गरौँ र उहाँका श्रद्धासुमन अर्पण गरौँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *