काठमाडौं । नेपाली राजनीतिमा डा. सिके राउतले अलि अलि गफ लाए पनि सुहाउँछ । यिनी डक्टरेट विद्वान् हुन् । वैज्ञानिक हुन् । विदेशमा राम्रो अवसर छोडेर आएका व्यक्ति हुन् । स्वदेश र विदेशमा यिनको कुनै मुद्दा मामिला छैन । बेदाग छविको दावी यिनको पुग्छ ।
राजनीतिमा लाग्दाका राजनीतिक मुद्दा र झमेलाबाहेक यिनी स्वच्छ देखिन्छन्, तर यी गफ लडाउने गफाडी वर्गका पर्दैनन् । स्वभाव पनि आध्यात्मिक र केही लजालु पनि छन् । आफ्नो विषय र मुद्दामा गम्भीर र कठोर पनि, सिकेले राजनीतिमा किसानको मुद्दा लिएर उठेका छन् । संसारभरकै पेसामा कृषि यस्तो पेसा हो, जसको उत्पादनले हाम्रो जैविक अस्तित्व सम्भव र सहज हुन्छ । नेपालमा कृषिको अवस्था नाजुक छ ।
कृषक दिनप्रतिदिन चपेटामा परिरहेका छन् । समयमा मल, बीउ, बिजन, सिंचाइ, कृषि प्रविधि उपलब्ध हुनसकेको छैन । कृषियोग्य जमिन क्रमशः बाँझिने क्रम बढ्दो छ । कृषिमा लगानी छैन र लगानी सुरक्षित पनि छैन, तसर्थ कृषिबाट कृषकहरू पलायन भइरहेका छन् ।
कृषिको वैज्ञानिकीकरण,प्राविधिकरण, औधोगीकरण र बजारीकरणको असुविधा छ । यी सब भएको कारण हो राज्यको कृषि नीति सवल व्यावहारिक र सापेक्षित समानतामूलक नहुनु । यसर्थ नेपालको कृषि अधोगतिमा छ । यस्तैबेला कृषिमा स्वाधीनता, स्वाभिमान र परनिर्भरताको दुश्चकर तोड्ने तागत छ भन्दै किसानको हक हित र सुरक्षाको नारा दिएर मधेसबाट डाक्टर राउत राजनीतिमा छन् ।
आफ्नो जनमत पार्टीको उद्देश्यमा शिक्षा र स्वास्थ्यलाई राज्यको मूल दायित्वमा ल्याउने नीति पनि यिनको रहेको छ । यसर्थ नेपालको राजनीतिमा मधेसको तर्फबाट राइजिंग स्टारको रूपमा सिकेको चर्चा गर्दा अतिशयोक्ति नहोला ।
स्मरणीय छ, राजनीतिमा प्रवेश गर्दा नेपालको विखण्डन गर्ने र छुटै देश बनाउने राउतको मुद्दाप्रति मेरो गम्भीर असहमति थियो । यद्यपि शान्तिपूर्ण तवरमा विद्रोह बोल्ने आवाजलाई सरकारले पटकपटक र निर्ममतापूर्वक बल प्रयोग गरेर दुःख दिएकोप्रति भने सरकारसँग तीव्र असहमति प्रकट गरिरहन्थे ।
विखण्डनको मुद्दालाई भूल स्वीकार गरेर राजनीतिको मूल प्रवाहमा आउँदै गर्दा सिके राउतले नेपाली राष्ट्रिय गान बजाएर आफ्नो पार्टीको कार्यक्रम गरेदेखि भने उनीप्रति एउटा आकर्षण थियो । त्यसयता उनले राजनीतिक रूपमा कुनै गल्ती गरेको देखिन्न । संसदमा पनि कुनै आवेग, उत्तेजना प्रकट नगरी आफ्ना विषयमा दृढतापूर्वक कुरा राख्छन् । सरकारमा जाने मामिलामा पनि आफू नगएर पार्टीका अन्य नेतालाई पठाएर परिपक्वता देखाएका छन् ।
राजनीति छोटो दौड नभएर म्याराथन भएको कारण राजनीतिलाई चुनावमुखी मिसन चुनाव अर्थात् मिसन ८४ नबनाए राजनीतिमा सिकेको स्थान र भविष्य उज्वल देखिन्छ ।
राजनीति चुनावदेखि चुनावसम्म मात्र होइन । मधेसको मात्र होइन, देशको नेता बन्न यिनलाई सुझाव छ । चुनाव हार्नु जित्नु एउटा प्रक्रिया हो, तर राजनीति जित्ने तागत र नैतिक बल सदैव रह्यो भने चुनाव हारेर पनि पटकपटक जित्न सकिन्छ । मधेसीमूलको पहिलो प्रधानमन्त्रीको रूपमा डाक्टर सिके राउतलाई देख्न पाइयोस् । आलोचनात्मक चेतसहित म वाच गरिरहन्छु ।




