विचार

जनतालाई रोजगारी दिने कि बेरोजगारी भत्ता दिने सरकार ?

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा दिनदहाडै चोरी, लुटपाटका घटना बाहिर आइरहेका छन् । दिउँसै चोरी हुन थाल्दासमेत गृह प्रशासनको ध्यान यतातिर जान सकेको छैन । पछिल्लो समय बेरोजगारी ह्वात्तै बढेको छ । महँगी बढेको बढ्यै छ, आम्दानीको स्रोत छैन् ।

खानका लागि पनि कतिपयले चोरी गर्दै आएका छन् । कसैकसैलाई भने सानैदेखि चोरी गर्ने बानी परेको हुन्छ, ठूलो भएर पनि त्यही नै गर्छन् । यसमा नागरिक आफैं पनि सतर्क हुनुपर्ने बेला भएको छ । गलाभरि, हातभरि सुन लगाएर हिँडेका हुन्छन् महिला । सुन लगाउनु कुनै अप्रिय घटनालाई निम्तो दिनुजतिकै भइसकेको छ ।

नेपालीमा देखासिकी गर्ने बानी छ । यसले आफ्नै ज्यान लिन सक्छ भनेर उनीहरू सोच्दैनन् । अहिले सबैको हातमा मोबाइल फोन छ । लाखौं पर्ने मोबाइल देखाउँदै हिँड्छन् । पाकेटमारले नउडाएसम्म कसैको चेत नै खुल्दैन । महँगो फोन छ भन्दैमा देखाउनु पर्छ भन्ने छैन ।

घरबाट निस्किँदासमेत लापरवाही छ । झ्यालढोका राम्ररी नलगाईकन निस्किएका हुन्छन् । सरकारले घरघरमा सुरक्षा दिन सक्दैन । आफ्नो घरको सुरक्षामा आफू पनि जिम्मेवार हुनुपर्यो । झ्यालढोका राम्ररी बन्द गर्ने, छिमेकी वा घरधनीलाई यसो हेर्दिनु भन्नेलगायतका काम गरेमा चोरी हुनबाट जोगिन सकिन्छ । एउटा सामान्य भोजमा जानुपरेमा सुनले बेरिएर हिँड्छन् ।

केही महिनाअघि चाबहिलको सरस्वतीनगरमा सुनकै कारणले एकजना महिलाको ज्यान गयो । गलामा लगाएको सुनले ती महिलाको ज्यान लियो । तर, यसबाट जनताले अझै पाठ सिकेका छैनन् । सुन लगाउनुहुँदैन भनेर सर्वसाधारणको अझै पनि चेत खुल्न सकेको छैन । सुन देखाउनै डरमर्दो स्थिति बनिसकेको छ ।

अहिले सार्वजनिक सवारीसाधनमा पाकेटमारी ह्वात्तै बढेको छ । सार्वजनिक सवारीसाधन चढ्नसमेत असुरक्षित भएको छ । चालक–सहचालकले दाउरा मिलाएझैं यात्रु मिलाएका हुन्छन् । सबैलाई आफ्नो गन्तव्यसम्म पुग्नुपरेको हुन्छ, त्यसैले भीड भए पनि चढ्नैपर्छ । त्यही मौका छोपेर पाकेटमारले पाकेट सफा गर्दिहाल्छ । कहिले यात्रुको मोबाइल हराउँछ, कहिले पर्स । चोरी, लुटपाथ, पाकेटमारीका घटना ह्वात्तै बढ्दासमेत प्रहरी प्रशासनले अनुगमनमा चासो देखाएको छैन ।

ट्राफिक प्रहरी कहिल्यै सार्वजनिक सवारीसाधनमा चढेर अनुगमन गर्दैन । सरकारले यसलाई नियन्त्रण गर्न कुनै योजना नै बनाएको छैन । आफ्ना जनतालाई चोरी गर्नुपर्ने बाध्यता किन आइपरेको होला ? सरकारले यसमा ध्यान दिएको छैन । सरकारले नै आफ्ना जनतालाई चोर बनाइरहेको छ ।

सरकारले जनतालाई सन्तान जन्माउन दियो । उसलाई नागरिकता दियो । तर, उसले पाउनुपर्ने हकअधिकार खोइ त ? देशमा गरिबी छ । वर्षभरि दुःख गर्दा ६ महिना खान पुग्दैन । त्यस्ता बाबुआमाले आफ्ना छोराछोरीलाई कसरी पढाउने ? निःशुल्क भनिएको शिक्षा कागजमा मात्र सीमित छ । न पढाइलेखाइ हुन्छ, न सीप । काम खोज्यो, पाइँदैन । काम पाइएन, आज नखाऊँभन्दा भोको पेट मान्दैन ।

भोक खप्नै नसक्ने भएपछि उसले पहिले अरुको सामु हात फैलाउँछ । खानका लागि माग्दा कसैले दिँदैनन् । कसैले माग्यो भने नेपालीहरू भन्छन्, ‘हातखुट्टा सध्ये छ त काम गरेर खानुपर्छ नि ।’ काम पाएको भए कसले माग्थ्यो र ? कतैबाट खाना नपाएपछि उसले चोरी गर्छ । विस्तारै उसलाई त्यसकै बानी लाग्छ । हामीहरू खाना बढी भएर टोकरीमा लगेर फ्याँक्छौं । तर, भोकाहरूलाई खान दिँदैनौं भोकालाई खान दिऊँ भन्ने भावना हामीमा छैन् ।

यहाँ धनी र गरिबबीचको खाडल ठूलो भयो । धनीहरू आफ्नो सम्पत्ति देखाउँदै हिँड्छन् । गरिब खान पाएर तिनीहरूको सम्पत्ति चोर्छन् । धनी लुटिने र गरिब लुटेरा बनेका छन् । लुटिने पनि नेपाली, लुट्ने पनि नेपाली कतातर्फ जाँदैछ हाम्रो समाज ? लुट्दाखेरि प्रतिकार गर्दा ज्यानसमेत गएको छ । एकजनाको ज्यान जान्छ, अर्को जेल । सरकारलाई त ठूलो क्षति भइरहेको छ ।

सरकारले यसबारे जनचेतना फैलाउन ढिलो भइसकेको छ । भोकालाई खान देऊ भनेर चेतना फैलाउनुपर्यो । अहिले छोरा खाने, बुवा हेर्ने अवस्था सिर्जना भएको छ । बुवा भोकै हुन्छन् त छोराले सोध्दैनन् । पहिलो कुरा त, हाम्रो शिक्षा प्रणाली नै ठीक छैन । मानवताको विषयमा हाम्रो पाठ्यक्रममा उल्लेख नै छैन् । खान नपाएकालाई खान दिनुपर्छ, ठूलालाई सम्मान गर्नुपर्छ, बाँडीचुँडीको भावना राख्नुपर्छ यस्ता विषय पढाउनुपर्यो । घोकन्ते शिक्षाले कहिलेसम्म चल्छ ? बालबच्चालाई त सिकाउनुपर्यो ।

सानैदेखि सिकायो भने उनीहरूले सिक्छन् । जन्मिनेबित्तिकै मन्टेश्वरीमा लगेर राखिदिने अनि बालबालिकाले के सिक्छन् ? मानवीय भावना नै नसिकेको बच्चाले आफ्नो बाबुआमालाई त हेर्दैन भने अरुलाई के हेर्छ ? अर्कोतिर राज्य गरिबसम्म पुग्दै पुगेन । कि त उनीहरूलाई काम दिनुपर्छ कि बेरोजगार भत्ता दिनुपर्छ ।

सरकारी कर्मचारीको पेन्सन काटेर बेरोजगारी भत्ता दिए भइहाल्यो । सरकारी कर्मचारीलाई किन पेन्सन दिनुपर्यो ? जागिर खाउञ्जेल त भ्रष्टाचार गर्छन् । तलबभत्ता र सेवासुविधा पनि प्रशस्तै दिएको हुन्छ, सरकारी कर्मचारीलाई । नेताहरूलाई नानाथरीको सुविधा किन दिनुपर्यो ? तिनको सुविधा काटेर गरिबलाई दिए, सबैले खान पाउँथें ।

काठमाडौंमा पाँचवटा घर हुनेले ज्येष्ठ नागरिक भत्ता लिइरहेका छन् । ज्येष्ठ नागरिक भत्ता दिने नीति नै खारेज गर्नुपर्यो । आर्थिक अवस्था कमजोर भएकालाई राशन कार्ड दिऊँ । सरकारले दिने सेवासुविधा सबै धनीले हडपिरहेका छन्, गरिब हेरेको हेर्यै । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, सरकारी कर्मचारीलगायतको सेवासुविधा काटेर गरिबलाई पनि दिनुपर्छ ।

हामीलाई घरपरिवारबाट दिने शिक्षा पनि त्यस्तै छ । जहाँबाट भए पनि कमाएर ल्याउनुपर्यो । भ्रष्टाचार गर कि ठग, पैसा चाहिँ कमाउनैपर्यो । कमाउन नसक्ने छोराछोरीलाई अभिभावकले नै हेप्छन् । बरु पानी तताएर खाऊ, चोरेर र ठगेर नखाऊ भनेर अभिभावकले नै सिकाउन सकेनन् । चोर्नु, ठग्नु र भ्रष्टाचार गर्नु गलत हो भनेर अभिभावकले नै सिकाएनन् । भ्रष्टाचार र ठगी बढ्नुको कारण पनि यही हो ।

छोराछोरीले कसरी कमाएर ल्याएका छन् ? यो घरका परिवारलाई थाहा हुन्छ । तर, परिवारका सदस्य चुइँक्क बोल्दैनन् । यसको अर्थ त्यस्तो कामलाई प्रोत्साहन गर्नु हो । मान्छेले जन्मिँदा पनि केही ल्याउँदैन, मरेपछि पनि केही लाँदैन । तर पनि सम्पत्ति कमाउनकै होडबाजी चलेको छ । नेपालीलाई सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने बानी लाग्यो । बाबुले कमाएको सम्पत्तिमा सात पुस्ताले मोजमस्ती गर्छन् ।

जनतामा चेतना फैलाउन राज्य चुकेको छ । जसले गर्दा समाजमा आपराधिक क्रियाकलाप बढ्यो । बुढापाकाले भन्छन्, ‘बाँचुञ्जेल बाबुआमालाई भोकभोकै राख्ने, मरेपछि काजकिरिया गरेर आफन्तलाई भोज खुवाउने ।’ मरेको व्यक्तिको काजकिरिया गरेर के काम, बाँचुञ्जेल नहेरेपछि । घटना घटेपछि दोषीलाई पक्रेर पनि केही काम छैन । उल्टै राज्यकै ढुकुटी सकिने हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *