राजनीति

गृहमन्त्री फेरिँदै छ भनेर हल्ला फैलाउने को ? माओवादी मन्त्रीमाथि शंकाको सुई

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले आफ्नै पार्टीभित्र मात्र होइन, बाहिर पनि आलोचित छन् । सत्तारुढ कांग्रेस, एकीकृत समाजवादी, प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दल श्रेष्ठको कार्यशैलीप्रति खुसी छैनन् ।

भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा केही भिभिआईपी समातिँदा नारायणकाजी गृहमन्त्री भएकैले हो भनेर एउटा समूह उनको स्तुतिगान गाउन लागिपरेको छ । तर नेपाल प्रहरीका अधिकृतको इगोका कारण शरणार्थी प्रकरणलाई ठूलो बनाइएको छ । पहिले नै आरोप लगाएर आशंकाका आधारमा नेताहरूलाई पक्राउ गर्ने र थुन्ने काम गरिएको छ । यसबाट आफू हिरो भएको महसुस श्रेष्ठले गरेका छन् ।

तर वास्तविकता भने अर्कै छ । मंगलबार मात्र पनि श्रेष्ठले आफ्नै पार्टी माओवादीमा भ्रष्टाचारीको संख्या धेरै भएको कुरा ओकलेका छन् । अहिले बरामद गरिएको एक क्विन्टल सुनकाण्डले त गृहमन्त्री श्रेष्ठको सक्कली अनुहार बाहिर सतहमा आएको छ । एयरपोर्टबाट सुन निकालेर सिनामंगलसम्म लगिसकेको र पछि बरामद गरिएको विषयलाई लिएर एमालेले उनीमाथि नै प्रश्नचिन्ह उठाएको छ ।

एमाले अध्यक्ष केपी ओलीले उनीमाथि नैतिक प्रश्न मात्र उठाएका छैनन्, सुुन बोक्न कसले लगाएको हो, गृहमन्त्रीले प्रस्ट पार्नुपर्ने उनको माग छ । एमालेकै कतिपय नेताले गृहमन्त्रीको राजीनामा माग गरिरहेको र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उनको भूमिकाप्रति असन्तुष्ट रहेकाले श्रेष्ठले आफ्नो पद धरापमा पर्न थालेको महसुस गरेका छन् ।

त्यही भएर अहिलेदेखि नै उनी गृहमन्त्री फेर्ने तयारी भइरहेको भन्दै हल्ला फैलाउन लागिपरेका छन् । श्रेष्ठको केही पुराना र नयाँ पत्रकारसँग निकै राम्रो सम्बन्ध छ । उनी पार्टी र सरकारका महत्वपूर्ण सूचना आफूनिकट पत्रकारलाई चुहान माहिर मानिन्छन् । माओवादीकै केही पत्रकारले यो कुरा सुइँको पाइसकेका छन् । मंगलबार प्रकाशित हुने दृष्टि साप्ताहिकमा गृहमन्त्री फेर्न प्रचण्डलाई देउवाको दबाब भनेर समाचार आइसकेको छ । प्रधानमन्त्री प्रचण्ड र देउवाबीचको कुराकानीको सूचना गृहमन्त्री श्रेष्ठले नै मिडियासम्म चुहाएको आशंका गरिएको छ । यसलाई लिएर माओवादी र कांग्रेसका नेताहरूले उनको आलोचना गर्न थालेका छन् ।

प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणबाट फर्केलगत्तै मन्त्रिपरिषद् पुनर्गठनमा लाग्ने भएका छन् । असारमै सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउने प्रचण्डको तयारी थियो । तर अकस्मात श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड रोकिएका थिए । जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले केही मन्त्रालयको नेतृत्व फेरबदल गर्न लागेका हुन् ।

अहिले कांग्रेसले पाएको सहरी विकास मन्त्रालय जनमत पार्टीलाई दिने प्रचण्डको तयारी छ । त्यसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरिसकेको बताइन्छ । सहरी विकासको सट्टा कांग्रेसले संघीय मामिला तथा सामान्य प्रशासन वा पर्यटन मन्त्रालयमध्ये एउटा लिन प्रचण्डले प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच परराष्ट्र र गृह मन्त्रालय साटफेर गर्ने भित्री सहमति भएको चर्चा चलेको छ । कांग्रेसले गृह र परराष्ट्र माओवादीले लिने गरी सहमति भएको चर्चा बाहिरिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली चित्त नबुझेको भन्दै देउवाले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

देउवाले प्रधानमन्त्री प्रचण्डलाई सत्ता सहयात्री भएर पनि एकलौटी ढंगमा अगाडि बढेको, आफूहरूसँग सुझाव नलिएको र दिएको सुझाव पनि कार्यान्वयन नगरेको, गृहमन्त्री श्रेष्ठले छानीछानी कांग्रेस नेताहरूलाई अप्ठेरो पार्ने काम गरेको भन्दै आपत्ति जनाएको बताइन्छ ।

खासगरी कांग्रेस नेता बालकृष्ण खाँणलाई अदालतले पक्राउ गर्न आदेश नदिई गृहमन्त्री श्रेष्ठले आरोप लागेकै भरमा समातेर थुनेकोमा देउवा असन्तुष्ट बनेका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा खाँणमाथि अन्याय भएको भन्दै देउवा निकट नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यसको प्रभाव मन्त्रिपरिषद् पुनर्गठनमा देखिने विश्लेषण गर्न थालिएको छ ।

अहिले व्यापारीहरूले हप्तैपिच्छे खाद्यान्नको मूल्य बढाएका छन् । महंगीका कारण आम सर्वसाधारणको घरमा चुलो बल्न छोडेको छ । तर, खाद्यान्न उत्पादन गर्ने जमिन सबै घर र बाटो बनाएर मासिसकेको छ । यस्तो अवस्था सिर्जना हुँदा पनि भूमिमन्त्री श्रेष्ठले खेतीयोग्य जमिनमा घर र बाटो बनाउन नदिने भनेर निर्णय गरेकी छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *