काठमाडौं । २०७४ सालमा जनताले एमालेलाई बहुमतका साथ प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित गराए । सातै प्रदेशमा एमालेको सरकार बन्यो । संघीय सरकारमा केपी ओली प्रधानमन्त्री बने ।
वाम एकताको नाराले बहुमत ल्याएर सरकार बनाए पनि ओली देश चलाउन सकेनन् । उनले दुई–दुईपटक संसद् विघटन गरे । तत्कालीन नेकपामा देखिएको किचलोका कारण सर्वोच्च अदालतले एमालेको सरकार फालिदियो । ओली प्रधानमन्त्रीबाट पदच्यूत भए । ओली हट्नेबित्तिकै सातै प्रदेशमा एमालेको सरकार हट्यो ।
सर्वोच्च अदालतको आदेशपछि २०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवा नेतृत्वमा गठबन्धन सरकार बन्नेबित्तिकै एमालेले सदन अवरोध ग¥यो । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो ।
आफ्नो पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले कारबाही नगरेको भन्दै एमालेले सभामुखको राजीनामा माग गरेर दुइटा अधिवेशन (१४४ दिन) संसद् अवरोध गरेको थियो । तर सभामुख सापकोटाले राजीनामा दिएनन् । उनले आफ्नो कार्यकाल पूरा गरे ।
एमाले सांसदहरूले सरकारलाई काम गर्न नै दिएनन् । तर, त्यतिबेला पनि एमालेका सांसदहरूले तलबभत्ता लिए, सरकारी गाडी चढे । सदनमा जाने, तर ऐनकानुन पारित गर्न नदिने गरे । एमालेको पारा देखेका जनताहरूले २०७९ को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाइदिए । फेरि पाँच वर्ष सडकमा बस्नुपर्ने भएको भन्दै एमाले विक्षिप्त बनेको छ ।
एमाले रमाइलो खालको पार्टी हो । मजाक गर्न सिपालु छ । संसद् अवरोध गर्नेमा उसले महारथ नै हासिल गरेको छ । एमालेले जुन माग राखेर संसद् अवरोध गर्दै आएको छ, ती कुनै पनि माग पूरा भएका छैनन् । २०५७ मा प्रधानमन्त्रीको राजीनामा माग गरेर एमालेले एउटा अधिवेशन (५७ दिन) संसद् अवरोध गरेको थियो । तर प्रधानमन्त्रीको राजीनामा आएन । एमालेलाई हात लाग्यो शून्य भयो ।
२०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेर संसद् अवरोध जारी छ । फेरि पनि प्रधानमन्त्रीको राजीनामा आउनेवाला छैन र एमाले चिसै पानीले नुहाउँछ । आइतबार कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच सदन अवरोध हटाउने विषयमा एक किसिमको सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डलाई संसदमा स्पष्टीकरणको मौका दिने, एमालेले संसद् खुलाउने सहमति भएको भनिएको थियो । तर दिउँसो ३ बजेलाई निर्धारित संसद् बैठक एमालेकै असहमतिका कारण भोलिसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समझदारी भए पनि एमाले सहमतिबाट पछि हटेका कारण संसद् बैठक स्थगित गरिएको बताइएको छ । गत सोमबार एक किताब विमोचनमा प्रधानमन्त्री प्रचण्डले किताबका पात्र भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । त्यसयता एमालेले राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन । राष्ट्रिय सभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।




