विचार

शासकले सबैलाई सन्देहको दृष्टिले हेरोस्: ऋषि कणिक

महाभारत कालका विद्वान राजनीतिज्ञ तथा कूटनीतिज्ञ ऋषि कणिकसँग सौवीर देश (महाभारत कालमा सिन्धु नदीको आसपास क्षेत्रको एक देश) का प्रसिद्ध महारथी राजा शत्रुञ्जयले राजाका गुणका बारेमा सोधेका थिए। ऋषि कणिकले पनि त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन्।  तीमध्य केही निम्नानुसार छः

बुद्धिमान राजा फूलले ढकमक्क फुलेको तर फल नलाग्ने रुखजस्तो,  फल लागेको भए पनि फल नपाक्ने खालको,  पाकेमा टिप्नै नसकिने खालको र खानै नहुने नमिठो खालको जस्तो हुनुपर्छ। राजाले शत्रुको अपेक्षा कहिल्यै पूरा नगरोस्। उसले काम गरेमा पनि ढिलो गरोस्। तर सधैँ म त त्यही काममा व्यस्त छु भनेर झुलाओस्।

शत्रुसँग सधैँ डराओस् तर डर नलागेको जस्तो भान पारोस् र यदि आक्रमण गरी हाल्यो भने नडराई  लडोस्,  पराक्रम देखाओस्। राजा भविष्यद्रष्टा हुनुपर्छ ,  निकट तथा दूर भविष्यको आँकलन गर्न सक्ने हुनुपर्छ। सङ्कट आयो भने सम्पूर्ण बल लगाएर त्यसलाई दबाउनु पर्छ। यदि कुनै इच्छित सुख प्राप्त भएको छ भने त्यसको उपयोग गरोस्,  भविष्यमा प्राप्त हुने सुखको आशामा अहिले पाएको सुख नछोडोस् किनभने भविष्यको कुनै ठेगान हुँदैन ,  भविष्य आफ्नो हातमा हुँदैन।

जुन राजा शत्रुसँग या मित्रसँग सम्झौता गरेर बसेको छ,  ऊ निश्चिन्त भएर नबसोस् र सन्धि या  सम्झौतामा गरेका बाचा पूरा गरेको छ कि छैन भनेर चियोचर्चा गरिरहोस्। जो विश्वासपात्र होइन,  उसको त विश्वास नगरोस्। जो विश्वासपात्र मानिएको छ,  उसको पनि अति विश्वास नगरोस् र बेला मौकामा विश्वासपात्रको पनि परख गरिरहोस्।

जो व्यक्ति शत्रुको पनि शत्रु हो,  ऊ मित्र हुनसक्छ,  ऊसँग मित्रता गरियोस् तर सावधानीका साथ ,  उसको उपयोग ध्यान दिएर र विश्वासमा लिएर गरियोस्। शत्रुको गुप्तचरको पहिचान गुप्तरूपमा नै गरियोस् ,  उसलाई थाहा नहोस् कि मलाई चिनेका छन्। उसको छद्मरूपमा नै उसको गुप्तचरी गरियोस्।

आफ्नो राज्यमा भएका राम्रा नराम्रा कामको जानकारीका लागि गुप्तचरको व्यवस्था गर्नुपर्छ तर त्यस्ता गुप्तचरहरू भने सार्वजनिकरूपमा पहिचान दिएर राख्नु हुँदैन। शत्रुपक्षीय देशहरूमा राखिने गुप्तचर अत्यन्त विश्वासिलो,  आफ्नो राज्यप्रति र राजाप्रति बफादार,  चलाख तथा इमानदार व्यक्तिलाई खटाउनु पर्छ तर उनीहरू जोगीको रुपमा,  माग्नेको रुपमा,  पागलजस्तो भेषमा,  तपस्वीको रुपमा,  तीर्थस्थलहरूमा,  सभागृहमा,  नगरको प्रवेशद्वारमा,  बगैँचामा,  मानिसहरूको भिडभाड हुने सभा समारोह र हाटबजारमा घुमुन र आफ्नो देशका बारेमा त्यहाँ के भन्छन् अनि त्यहाँका राजाका बारेमा कस्तो धारणा छ,  सबै सूचना संग्रह गरुन् र उपयुक्त माध्यमबाट या आफैँ आई राजालाई जानकारी गराउन्। गुप्तचर यस्तो व्यक्तिलाई नियुक्त गरियोस् जसलाई त्यहाँका मानिसहरूले नचिनून्।

धर्मको नाममा कपटपूर्ण आचरण गर्ने,  पापात्मा,  चोर,  तथा जगतमा काँडाजस्तै गरी बिझाएका ,  जनतालाई दुःख दिनेहरूको पहिचान गर्ने भनेको नै गुप्तचरले हो। तिनीहरूलाई दण्ड दिएपछि मात्र जनताका शान्ति बहाली हुन्छ र राजाप्रति अभिभावकको रुपमा र दण्डाधिकारी  भएको विश्वास बढ्छ।

राजाले सबैलाई सन्देहको दृष्टिले हेरोस्। जसलाई सन्देह गर्नु पर्दैनथ्यो उसलाई पनि सन्देहको दृष्टिले हेरोस् किनभने सबैभन्दा विश्वासिलो व्यक्तिले धोका दियो भने धेरै अनिष्ट गराउन सक्छ। त्यसैले सावधानीपूर्वक चियो गरोस् र उसका व्यवहारहरूको परख गरिरहोस्। शत्रुप्रति पनि विश्वास दिलाउन अनेक विश्वासको वातावरण तयार गरोस् र शत्रुलाई भ्रममा पारोस् ,  अनि आफ्नो अवसर आउने बित्तिकै उसमाथि आक्रमण गरोस् र समाप्त पारोस्।

राजाले राज्य र राजाको हितका लागि पुत्र,  पिता,  बन्धु,  मित्र जो भए पनि राजाको मार्गमा अवरोध गरेको बेलामा बाँकी नराखोस् र मारोस् र आफ्नो बाटाको काँडा समाप्त पारोस्। यदि  गुरुबाट पनि धर्म अधर्म विचार नगरी राज्य र राजाका विरुद्धमा अनिष्ट हुन लागेमा दण्ड दिएर तह लगाओस्  ,  दण्डले ठिक बाटोमा ल्याउने छ। राजाले के बुझ्नु पर्छ भने कोही पनि जन्मँदै शत्रु र मित्र हुँदैन,  राजाको सामर्थ्यका कारणले र व्यवहारले शत्रु र मित्र हुने हुन्।

शत्रु राजभवनमा आउँदा उठेर स्वागत गर्नुपर्छ,  प्रिय वचन बोल्नुपर्छ,  अभिवादन गर्नुपर्छ ,  उसलाई अपूर्व उपहार दिएर खुसी पार्नुपर्छ ,  विश्वास दिलाउनु पर्छ। यसरी उसलाई यस्तो विश्वास दिलाउन सक्नुपर्छ कि उसले सम्झियोस् मेरो शत्रुता उसले बिर्सिएको रहेछ। उसलाई खुसी पारेर उसको श्रीसम्पत्ति प्राप्त गर्नुपर्छ। उसलाई अविश्वासको कुनै शंका रहन दिनु हुँदैन तर जब समय आउँछ,  शत्रुको कमजोरी पत्ता लाग्छ,  उसको कमजोरीमा आक्रमण गरेर उसको नास गर्नुपर्छ। राजाले शत्रुलाई प्रहार गर्ने बेलामा पनि प्रिय बोलोस्,  प्रहार गरेपछि पनि प्रिय बोलोस् र उसलाई मारेपछि पनि अरुलाई शंका नै नहोस् कि उसैले प्रहार गरेर मारेको हो। आफूलाई अपकार गरेको शत्रुलाई जसरी पनि बदला लिएर मारेरै छोडोस्,  यदि उसले प्रहार गर्ने बेलामा विलाप गरे पनि माया दया नदेखाओस् र प्रहार गरोस्। त्यसपछि उसको मृत्युमा शोक व्यक्त गरोस्।

राजाले ऋण,  शत्रु र आगोको शेष बाँकी राखेपछि त्यो बढ्दै जाने कुरामा ध्यान दिनुपर्छ। रोगजस्तै हो बढेमा पछि बिसेक हुन गाह्रो हुन्छ। आगोको झिल्कोले वन डढाउँछ,  ऋण बढ्दै जान्छ र शत्रुले मौका पाउने बित्तिकै आक्रमण गरेर समाप्त पार्छन्।

राजाले गिद्धबाट दूरदृष्टिको गुण सिकोस्,  बकुल्लोबाट एकाग्र भएर काम गर्ने बानी सिकोस्,  कुकुरबाट सदैव सजग र सतर्क हुने गुण सिकोस्। सिंहको समान जुनसुकै बेलामा पनि तयारी साथ  पराक्रम प्रकट गरोस्। मनमा उद्वेगलाई स्थान नदिओस्,  दुई मनले कुनै पनि काम नगरोस्। कागबाट सदैव सचेष्ट हुने र अरुको मनोविज्ञान बुझेर काम गर्ने बानी सिकोस् र अर्काको प्वालभित्रै निःसङ्कोच पसेर आक्रमण गर्ने क्षमता सर्पबाट सिकोस्।

जो आफूभन्दा सुरवीर छ,  त्यसलाई हात जोडेर खुसी पारोस् र आफ्नो वशमा राखोस्। जो डरपोक छ ,  त्यसलाई डर देखाएर तह लगाओस् ,  लोभीलाई धन दिएर आफ्नो पक्षमा पारोस्,  आफ्नो कब्जामा राखोस् ,  जो आफूसँग बराबरीको छ , उससँग युद्ध गरोस् र जितोस्,  आफ्नो वशमा पारेर उसको राज्य कब्जा गरोस् अनि उसलाई मारेर मात्र बदला लिओस्।

विभिन्न जातजाति र श्रेणीका मानिसहरू राज्यमा हुन्छन्,  राज्य र राजाका विरुद्ध सङ्गठित हुन सक्छन् विभिन्न समूह बनाएर ,   तिनले राज्यमा अराजकता ल्याउने कोसिस गर्नेछन्,  तिनमा भेद पारेर फुटाओस् र आफ्ना मन्त्री तथा सहयोगीहरूको रक्षा गरोस्। सावधान हुनु पर्ने कुरा के पनि हो भने आफ्ना मन्त्रीहरूमा पनि गुटबन्दी सुरु नहोओस् र ती अन्य अराजकता फिँजाउनेहरूले राज्यमा फुट ल्याएर राजा र राज्यका विरुद्ध मन्त्रीहरूलाई र कर्मचारीहरूलाई प्रयोग नगरून् भन्ने कुरामा राजा सजग र सतर्क रहोस्।

आवश्यकता अनुसार राजा कोमल र कठोर दुवै हुन सक्नुपर्छ। विद्वान व्यक्तिहरूसँग शत्रुता नगरोस् किनभने विद्वान दूरद्रष्टा हुन्छन्,  उनीहरूको ज्ञानको पहुँच अतीतको विश्लेषण,  वर्तमानको अवस्था र  भविष्यमा हुनसक्ने कुराहरूको बारेमा चिन्तनमा केन्द्रित हुन्छ। त्यसैले विद्वान्‌हरूसँग मित्रता गरोस् र आदर सम्मानका साथ राज्यमा राखोस्। यदि विद्वान्‌हरूको विशाल क्षेत्रमा राजा र राज्यको बदनाम भयो भने राज्यको अस्तित्वमाथि नै सङ्कट आउन सक्छ। भविष्यद्रष्टा र निष्कामकर्मी विद्वानहरू शत्रुपक्षसँग मिलेमा राजाको हार हुन्छ ,  त्यसैले विद्वान्‌लाई अपमान नगरियोस्।

जुन नदी पौडी खेलेर पार हुन नसक्ने जस्तो लाग्छ,  त्यहाँ हाम्फाल्नु हुँदैन। त्यस्तै हो बलवान शत्रुसँग युद्ध गर्नु भनेको पनि हार हुनु हो। यदि आक्रमण गरेर हार्न परेमा र र उसका सम्पत्ति फिर्ता गर्नु परेमा राज्यको विनाश हुन्छ। त्यस्तो शत्रुमाथि आक्रमण नगरियोस् जसको टाउको काट्न पनि सकिँदैन र युद्धमा जित्न पनि सकिँदैन।

आफ्ना आपतकालीन राजनीतिक युक्ति र  कूटनीतिक वचनहरू व्यक्त गरिसकेपछि राजा शत्रुञ्जयलाई ऋषि भारद्वाज कणिकले राजालाई सावधान गराउँदै भने — मैले दिएका सल्लाह आपतकालका लागि हो,  आपत्‌कालको कर्तव्याकर्तव्यका लागि हो। राजा निष्काम कर्मी हुनुपर्छ। आफूसँग निहुँ खोज्ने शत्रुसँग मात्र शत्रुतापूर्ण र पापपूर्ण व्यवहार गर्नुपर्छ ,  सधैँभरि शत्रुसँग युद्ध गरेर या जसलाई पनि शत्रु देखेर राज्य सञ्चालन गर्न सकिँदैन। शत्रुलाई आक्रमण गरेर र मारेर मात्र राज्य सप्रँदैन। त्यसैले आपत्धर्मको रुपमा मैले यी राजनीतिक तथा कूटनीतिक राजधर्म बताएको हुँ। जहिले पनि पापकर्म गर्नु हुँदैन।

त्यसपछि सौवीर नरेश शत्रुञ्जयले कणिक नीतिको पालना गरी राज्यको सेवा गरे,  राज्यलक्ष्मीको उपयोग गरे। भीष्म पितामहको यो भनाइले युधिष्ठिरलाई प्राप्त भएको शिक्षा के थियो भने राजाले कोमलता र कठोरताको सँग पालना गर्नुपर्छ यथोचित मनन गरेर।

टिप्पणी के गर्न सकिन्छ भने कणिक ऋषि उनै पनि हुनसक्छन् र फरक पनि हुनसक्छन्। धेरैथोरै सिद्धान्त मिल्न गएको पाइन्छ। भीष्म पितामहले दिएको उदाहरण अलि पहिलेकै जस्तो लाग्छ र महाराज धृतराष्ट्रका दरबारमा रहेका मन्त्री कणिक अलि निर्मम र पापाचारका लागि उद्यत् गराउने जस्ता देखिन्छन्। कणिकको सिद्धान्तले राज्यका मुख्य सिद्धान्तमध्ये साम ,  दान ,  दण्ड र भेदमा दण्डले नै राजाको सम्मान बढ्छ र मुलुकमा अराजकता फैलिन पाउँदैन भन्ने देखिन्छ।

( महाभारत,  शान्ति पर्वको अध्याय १४० मा आधारित )

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *