विचार

मासिक पाँच हजार डलर पाउने आशमा के नेपाली युवा रुसी सेनामा भर्ती भएका हुन् ?

सामाजिक सञ्जाल र अनलाइन मिडियामा समेत केही नेपाली युवा रुसी सेनामा भर्ती भएको कुरा आए । खासमा २०१५ बाटै रुसले विदेशीलाई सेनामा लिन थालेको हो । चार वर्ष सेवा गर्नेलाई नागरिकता पनि दिने भनिएको थियो । गत अक्टोबरबाट चाहिँ एकै वर्षमा नागरिकता पाइने नियम बनाइएको हो ।

रुसी सेना र त्यहाँको नागरिकता कसका लागि सबैभन्दा बढी आकर्षित ? वरपरका पूर्वशोभियत संघ सदस्यहरुका नागरिकलाई । जो लाखौको संख्यामा रुसमा बस्छन्, मुख्यगरी रोजगारीका लागि ।तर के नेपाली वा अन्य विदेशीका लागि रुसी सेना वा रुसी नागरिकता आकर्षक छन् त ? रुस सबै हिसाबले नेपालभन्दा त राम्रै होला, तर रुसी सेनाको तलब खासै गतिलो छैन भन्छन् । कुरा फेरि तिनै युवाको । के उनीहरु साँच्चै रुसी सेनामा भर्ती भएका हुन् त ? हुनसक्छ । तर मलाई चाहिँ शंका लाग्यो, किन ?

भिडियो हेरेको, उनीहरुको युनिफर्म लगाउने शैली, फरक फरक हतियारलगायतलाई केलाउँदा सेना नै बनेका होइनन् कि जस्तो लाग्यो । त्यसोभए केटाहरू कता छिरे त ? सायद वाग्नर सैन्य समूहमा छिरे कि ? वाग्नर रुसको ‘मर्सिनरी’ समूह हो, मतलब भाडाको सैनिक खटाउने समूह वा प्राइभेट कम्पनी ।

वाग्नरले खाडी र अफ्रिकाका द्वन्द्वग्रस्त देशमा भाडाका सैनिक खटाउने, त्यही भएकालाई तालिम दिने काम गर्छ । युक्रेनमा पनि वाग्नर खटिएको छ, रुसको पक्षमा । संख्या कति ? यकिन छैन । तर अमेरिकीको दाबी हो पचास हजार । तीमध्ये चालीस हजार घाइते भइसके भनिन्छ ।

गत मार्चमा वाग्नरको संस्थापक याभगेनी परिगोझिनको भनिएको एउटा टेप टेलिग्राममा लिक भएको थियो । जसमा भनिएको थियो, अब वाग्नर मे महिनाभित्र ३० हजार नयाँ सैनिक भर्ती गर्ने योजनामा छ । हाम्रा नेपालीहरू त्यही योजनाको हिस्सा बने कि ? वाग्नरले ठ्याक्कै कति तलब दिन्छ थाहा छैन ।

तर पश्चिमाहरुले भनेअनुसार महिनाको झन्डै पाँच हजार डलर । नेपालीका लागि मात्र होइन, धेरै देशका नागरिकका लागि यो तलब लोभलाग्दो हो । के रुससँग पर्याप्त सैनिक छैनन् ? पर्याप्त कतिलाई भन्ने, गाह्रो छ ।

तर सत्य के हो भने विश्वका धेरै देशले जस्तो रुसले पनि केही वर्षयता सेना संख्या घटाउँदै आएको हो । भारतमै अग्निपथ सेना संख्या घटाउने योजनाको हिस्सा हो। जे होस् यो पनि एउटा कारण हो रुसले वाग्नरको सहयोग लिनु । फेरि लामो लडाइँमा किन आफ्ना धेरैभन्दा सेनालाई सहभागी गराउनु ?

वाग्नर छँदैछ। यदि ती नेपाली युवा साच्चै वाग्नरमा भर्ती भएका हुन् । हल्ला गरिएअनुसार तलब झन्डै पाँच हजार डलर हो भने, त्यता जाने नेपाली युवाको संख्या भित्रभित्रै बढ्छ नै, यति अनुमान गर्न गाह्रो छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *