विचार

शासक सधैँ दण्ड दिन उद्यत रहनु पर्छः ऋषि कणिक

भूमिकाः महाभारत कालका प्रख्यात ऋषि कणिकले  त्यतिबेला राजा वा अहिलेका सन्दर्भमा शासक र शासनका अनेकन गुणका बारेमा चर्चा गरेका छन्।  ऋषि कणिकको भनाईमा “ऐश्वर्य चाहने राजाले ऐश्वर्य प्राप्त गर्नका लागि अवसर पर्दा शत्रुलाई पनि हात जोडोस्,  कसम खाओस्,  आश्वासन देओस्,  आवश्यक परे विश्वास दिलाउन खुट्टैमा ढोगोस्। उस्तै परेमा शत्रुको हितका लागि भनेर रोओस् ,  आँसु खसालोस् र शत्रु रोएको देखेमा उसको आँसु पनि पुछोस्। जबसम्म शत्रु आफ्नो अनुकूल हुँदैन,  उसलाई काँधमा बोकेर भने पनि खुसी पारोस् तर ऐश्वर्य प्राप्त हुन्छ, आफ्नो स्वार्थ पूरा हुन्छ,  काँधमा बोकेको घैँटो ढुङ्गामा बजारेर फुटाएझैँ शत्रुलाई समाप्त पारोस्।”  यी सबै चरित्र आधुनिक नेपालका कुनचाहिँ नेतामा छ ? कल्पना गर्नुहोस् र महाभारत कालको ज्ञान लिनुहोस्। 

महाभारत जस्तो ठुलो महाकाव्य ज्ञानको खानी हो। भनाइ नै छ,  जुन कुरा महाभारत ग्रन्थमा छैन,  त्यो अन्यत्र कतै पाइँदैन। त्यसैले महाभारतलाई राजनीति,  धर्मनीति, कूटनीति,  इतिहास,  भूगोल, ज्योतिषी,  खगोलशास्त्र,  हतियारशास्त्र तथा मानवशास्त्रको विश्वकोश अर्थात् आधार ग्रन्थको रुपमा मानिन्छ। द्वापर युग र कली युगको सन्धि समयको इतिहास र सभ्यताको रुपमा यसलाई लिइन्छ। विश्वप्रसिद्ध श्रीमद्‍भागवत्‌ गीताको प्रसङ्ग पनि महाभारत भित्रको भीष्म पर्वको एक त्यस्तो अंश हो जुनबेला अन्यौलग्रस्त विचलित र मोहवशीभूत अर्जुनलाई कर्तव्य पथमा फर्काउन महाभारत युद्धमा अर्जुनको सारथिको रुपमा रहनु भएका श्रीकृष्णले दिएको उपदेशका रुपमा मानिन्छ। गीतालाई पौरस्त्य दर्शनको आधारस्तम्भ मानिएको छ जसमा वेद,  उपनिषद् र पुराणका सबै तत्त्वहरू समावेश गरिएको छ भनिन्छ।

महाभारतभित्र राज्यका प्रमुख व्यक्ति राजाका गुणहरूको व्याख्या गरिएको छ र राजाले गर्नुपर्ने कामको विवरण समेत स्पष्ट पारिएको छ। राजा या राज्यको प्रमुख व्यक्ति जसले पनि आफ्ना कामहरू कसरी गर्नुपर्छ भन्ने विषयमा कर्तव्याकर्तव्यको ज्ञान दिइएको पाइन्छ। यस प्रसङ्गमा हस्तिनापुरका महाराज,  भारतवर्षका चक्रवर्ती महाराज धृतराष्ट्रले आफ्ना मन्त्री कणिकको कूटनीतिलाई सुनेर,  मनन गरेर कार्यान्वयन गर्दा हस्तिनापुरको राजनीतिले नयाँ कोल्टे फेरेको थियो र युगान्तकारी परिवर्तन भएको थियो। अर्थात् कणिकको राजनीतिक उपदेशका कारणले सिर्जित परिस्थितिले कौरव र पाण्डवमा आपसमा समझदारी बढ्नु भन्दा झन भयङ्कर युद्ध चर्कियो।

तर महाभारतमा अर्का कणिक ऋषिको पनि प्रसङ्ग रहेछ शान्तिपर्वको अध्याय १४० मा जहाँ नयाँ महाराजको रुपमा स्थापित भएका युधिष्ठिरले शरशय्यामा इच्छित मृत्यु पर्खेर बसेका पितामह भीष्मसँग राजनीतिक उपदेश लिन जाँदा सौवरी नरेश शत्रुञ्जय र भारद्वाज कणिक ऋषिको वार्तालाप सुनाएको पाइन्छ। स्मरणीय छ,  आफ्नो इच्छामरणका लागि मृत्यु पर्खेर बसेका भीष्म पितामहलाई स्मरण शक्ति र बोल्ने क्षमताको आशीर्वाद श्रीकृष्णले दिएका थिए र पितामह आफ्ना राज्यका पछिल्ला चक्रवर्ती युधिष्ठिरलाई राजाले गर्नुपर्ने कर्तव्यका बारेमा अनेक ऐतिहासिक उदाहरण दिँदै अर्का कणिक ऋषिको सिद्धान्तका आधारमा राजधर्मको ज्ञान दिएका थिए। प्रसङ्ग धेरै छन् तर अहिले यहाँ भारद्वाज कणिकको राज्यनीति र कूटनीतिको बारेमा जानकारी गराइएको छ।

विभिन्न प्रसङ्गमा आफ्ना जिज्ञासा राख्ने क्रममा महाराज युधिष्ठिर प्रश्न गर्छन्, “भरतनन्दन पितामह,  सत्य,  त्रेतापछि सुरु भएको द्वापर युगको पनि अन्त्य हुन लागेको छ र अब कली युगको सुरुवात हुँदैन। बिस्तारै धर्म क्षय हुने क्रममा छ। डाकूँ,  लुटेराहरू धर्मको क्षयिकरण  गर्न झन् लागी परेका छन्। यस्तो अवस्थामा कसरी राज्य सञ्चालन गर्ने होला ? “

युधिष्ठिरको प्रश्नको उत्तर दिँदै शरशय्यामा सुतेका भीष्म पितामहले भने, “भरतनन्दन,  यस्तो बेलामा आपतकालीन नियम बताउँछु ,  आपत्‌धर्मका रुपमा अपनाउनु पर्ने कामहरू हुन्छन् राजाले। आपतकालको समयमा भूमिपालले दया,  माया परित्याग गरेर समयोचित व्यवहार गर्नु जरुरी हुन्छ। यस विषयमा भारद्वाज कणिक ऋषि र सौवरी नरेश शत्रुञ्जयका बिचमा भएको वार्तालाप यहाँ प्रासङ्गिक हुनेछ। भीष्म पितामहले भन्दै गए…… महाराजा युधिष्ठिर हात जोडेर सुन्दै गए……

सौवीर देश ( महाभारत कालमा सिन्धु नदीको आसपास क्षेत्रको एक देश) मा एकजना प्रसिद्ध महारथी राजा थिए शत्रुञ्जय। ती राजाले आफ्नो कर्तव्याकर्तव्य निश्चित गर्नका लागि भारद्वाज कणिक ऋषिसमक्ष गएर सोध्न थाले, “अप्राप्य वस्तु कसरी प्राप्त गर्न सकिन्छ ? प्राप्त भएपछि कसरी त्यो द्रव्यको वृद्धि गर्न सकिन्छ ? यसरी वृद्धि भएको सम्पत्तिलाई कसरी जोगाउन सकिन्छ ? त्यसरी सुरक्षित गरिएको द्रव्यको सदुपयोग कसरी गर्नुपर्छ ? ”

राजा शत्रुञ्जय स्वयं ज्ञानी थिए र पनि आफ्नो कर्तव्य जान्नका लागि विद्वान राजनीतिज्ञ तथा कूटनीतिज्ञ ऋषि कणिकसँग सोधेका थिए। त्यसपछि ब्राह्मण कणिकले भने, “राजा (अहिलेको सन्दर्भमा शासक) सधैँ दण्ड दिन उद्यत रहनु पर्छ। सधैँ पुरुषार्थ प्रकट गर्नका लागि तयार रहनु पर्छ। पुरुषार्थ देखाउने क्षमता हुनुपर्छ। राजा आफ्ना दुर्बलता वा छिद्र कहिल्यै प्रकट नगरोस्। तर शत्रुपक्षको छिद्र वा दुर्बलताप्रति सधैँ ध्यान राखोस्। जत्तिखेर शत्रुको दुर्बलता देखिन्छ,  त्यतिखेरै शत्रुमाथि आक्रमण गरोस्। पुरुषार्थले द्रव्य कमाओस्,  जनताको हितमा द्रव्यको सदुपयोग गरोस् जसले राज्यको वृद्धि र  जनताको हित होस्। जुन राजा दण्ड दिन सधैँ उद्धत रहन्छ,  ऊसँग प्रजाहरू अत्यन्त डराउँछन् ,  त्यसैले समस्त प्राणीहरूलाई दण्डद्वारा नै काबुमा राख्न सकिन्छ। साम,  दान,  दण्ड र भेद मध्ये राज्य सञ्चालनमा दण्ड नै उत्तम उपाय हो भन्ने मानिन्छ।”

विद्वान राजाले पहिले शत्रुपक्षको समूल उखेलोस्,  त्यसपछि उसका सहायक र पक्षपातीहरूलाई पनि त्यसै गरी नष्ट गरोस्। सङ्कटकाल आउने बित्तिकै राजाले सबैसँग मन्त्रणा गरोस् ,  पराक्रम देखाएर लडोस्,  उत्साहपूर्वक यसरी युद्ध गरोस् कि शत्रुलाई भ्रम परोस्,  यो राजा त मसँग लड्नका लागि पहिले देखि नै तयार रहेछ। आवश्यक परेमा सुन्दर तरिकाले पलायन पनि गरोस्,  भागोस् जसले गर्दा राज्य र राजाको सुरक्षा हुन सकोस्। आपत्‌कालमा आवश्यक कामहरू मात्र गर्नुपर्छ,  त्यहाँ सोच विचार गर्नतिर लाग्नु हुँदैन।

राजा छलफल,  वार्तालाप ,  औपचारिक या अनौपचारिक बहसमा अत्यन्त विनयशील देखियोस् तर ध्यान यसरी सबैतिर पुर्‍याओस् कि दुईधारे छुराजस्तै भित्री तयारीमा रहोस्। वार्ताको सुरुमा हाँसेर बोलोस्,  क्रोध कतै नदेखियोस्। रिस उठेको मानिससँग पनि हाँसेर बोलोस् किनभने मनमा भएको रिस देखाएमा ऊ सतर्क हुन्छ।

राजाले आवश्यक परेमा शत्रुपक्ष या मित्रसँग पनि  सन्धि,  सम्झौता र सहमति गरोस् तर त्यसमाथि विश्वास नराखोस् किनभने आफ्नो स्वार्थ पूरा गराउने र त्यसबाट पछि हट्ने काम गरोस्। शत्रुसँग मित्र बनेर मिठा कुराहरू गरेर सान्त्वना दिई रहोस् तर जसरी सर्पको बास भएको घरमा त्यहाँ बस्ने मानिसहरू सुरक्षित अनुभव गर्दैनन्,  डरैडरमा बाँच्छन्,  त्यस्तै सन्धि गरिएका विषयमा कुनै पनि बेला धोका हुने कुरामा सतर्क हुने र आफ्नो स्वार्थ पूरा भएपछि सन्धिलाई समाप्त पारोस्। सन्धि गरे पनि शत्रुसँग डर रहन्छ,  सतर्क भएर बस्नैपर्छ।

जो राजासँग दुःख परेर रुन कराउन आएको छ,  उसलाई सान्त्वना दिने र उसको भन्दा बढी दुःख पाएकाहरूको उदाहरण दिने गर्नुपर्छ र सान्त्वना पाउँछ। जसको आफ्नो काम गराइमा बुद्धि पुगेको देखिँदैन,  त्यसलाई आशा देखाओस्,  यस्तो दिउँला ,  उस्तो दिउँला भनेर। विद्वान व्यक्तिलाई धन दिएर शान्त पारोस् अर्थात् राजासामु आएका उद्विग्न र व्यथित व्यक्तिलाई जसरी हुन्छ शान्त पारोस्।

ऐश्वर्य चाहने राजाले ऐश्वर्य प्राप्त गर्नका लागि अवसर पर्दा शत्रुलाई पनि हात जोडोस्,  कसम खाओस्,  आश्वासन देओस् ,  आवश्यक परे विश्वास दिलाउन खुट्टैमा ढोगोस्। उस्तै परेमा शत्रुको हितका लागि भनेर रोओस् ,  आँसु खसालोस् र शत्रु रोएको देखेमा उसको आँसु पनि पुछोस्। जबसम्म शत्रु आफ्नो अनुकूल हुँदैन,  उसलाई काँधमा बोकेर भने पनि खुसी पारोस् तर ऐश्वर्य प्राप्त हुन्छ, आफ्नो स्वार्थ पूरा हुन्छ,  काँधमा बोकेको घैँटो ढुङ्गामा बजारेर फुटाएझैँ शत्रुलाई समाप्त पारोस्।

राजाले जहिले पनि पराक्रम गर्न सक्नुपर्छ। साना साना झिक्राहरूले पनि आगोको साथ पाएमा दनदन बलेर आफ्नो क्षमता देखाउँछन् एकछिनलाई भने पनि। त्यसैगरी राजाले पराक्रम निडर भएर देखाओस्। शत्रुसँगको रिस,  इख भनेको भुसको आगोजस्तै होस्,  बाहिर नदेखाइयोस् तर भित्रभित्रै आगो बलिरहेको होस्,  बाहिर धुवाँ पनि नदेखियोस् किनभने अलिकति मात्र पनि शत्रुले इख र रिसको आवेग थाहा पाए सतर्क हुन्छ र अरु नै रणनीति तयार गर्नेछ। मनमा भने सधैँ शत्रुसँगको इबी साँचेर राखोस्।

राजाले केही गुणहरू अरुसँग लिनुपर्छ। कोइलीको मधुर स्वरमार्फत् अरुलाई आकर्षण गर्ने,  बँदेलको जस्तो अचानक आक्रमण गर्ने,  मेरु पर्वतझै स्थिर र आफ्नो कुरा स्वाभिमानका साथ प्रस्तुत गर्ने अर्थात् कसैसँग नझुक्ने,  खाली घरको गुण हो जो आए पनि त्यो घरमा बस्न पाउने सुविधा हुने अर्थात् राजाले सबैलाई समान मान्ने, नटुवाको गुण हो आफ्ना मनमा जे भए पनि अरुलाई गाएर,  नाचेर ,  हँसाएर खुसी राख्ने। जसरी असल मित्रले सधैँ हित सोचेको हुन्छ,  राजाले पनि जनताको हित सोचेर मित्रवत् व्यवहार गर्नुपर्छ जनतासँग।

राजा सधैँ उठ्ने बित्तिकै शत्रुको कुशल क्षेम सोधोस् ,  शत्रुको भलाइको कामना गरोस्,  यसो किन गरेको हो भने शत्रुलाई लागोस् कि उसले मसँगको शत्रुता बिर्सेको छ र मेरो हित चिताउन थालेको छ। तर शत्रु  असावधानी हुने बित्तिकै र आफ्नो अवसर पर्ने बित्तिकै ,  उसको कमजोरी पत्ता लगाउँदै उसलाई समाप्त पारोस्। 

जो अल्छी छ,  कायर छ,  अभिमानी छ र लोकोपवाद र लोकचर्चासँग डराउँछ,  सधै भाग्यको भर परेर एक दिन मेरो समय आउने छ भनेर पर्खेर बसेको छ ,  कर्मविहीन रुपमा समयको प्रतीक्षा गरेर बसेको छ ,  त्यस्ता मानिसले आफ्नो इच्छित कामना पूरा गर्न सक्दैन।

एकै समयमा अनेक काममा हात हाल्ने ,  कृतघ्नसँग आर्थिक व्यवहार नगरियोस्। यदि कारोबार या व्यवहार गर्नु परेमा अधुरो काममा हात झिक्नुपर्छ किनभने प्रयोजन समाप्त भएपछि उसले उपकारी व्यक्तिको उपेक्षा गर्नेछ।

राजा बकुल्लोझैँ एकाग्र चित्त भएर काम गरोस्,  आफ्ना कामहरूका बारेमा चिन्तन गरोस्,  सिंहको जस्तै एकैपटक झम्टेर शत्रुलाई समाप्त पार्ने गरी आक्रमण गरोस्,  शत्रुको सम्पत्ति लुटोस् र वाणले लक्ष्य भेदन गरेजस्तै गरी निशानामा आफ्नो दृष्टि केन्द्रित गरोस्।

पान ( अम्मलको प्रतीक),  जुवा,  स्त्री,  शिकार तथा गानाबजाना यी सबैको अनासक्त भावले प्रयोग गरियोस्,  उपर्युक्त कुराहरूमा आसक्त हुँदा अनिष्ट हुन्छ। यी राजाका कमजोरी भए पनि ती कमजोरी शत्रुलाई थाहा हुन्छ र शत्रुले त्यहीँबाट षड्यन्त्र गर्नेछ।

राजा सधैँ सतर्क रहोस्। साथमा नक्कली धनुष भने पनि राखोस्, आवश्यक पर्दा आँखा नदेख्ने ,  केही पनि नसुन्ने नाटकसमेत गर्न पछि नपरोस् किनभने त्यो नाटकले शत्रुको कमजोरी थाहा पाउन सजिलो हुनेछ।

देशकाल अनुसारको पराक्रम गर्न सकिएन,  समय अनुकूल काम गर्न सकिएन भने राजाले गर्ने सम्पूर्ण प्रयासहरू असफल हुनेछन्। राजा सधैँ सतर्क रहोस् र समयको अनुकूलतालाई सधैँ ध्यानमा राखोस्। आफ्नो समय अनुकूल छ कि छैन ? त्यो बुझेरमात्र,  शत्रुको बल बुद्धि,  पराक्रम आँकलन गरेरमात्र युद्ध,  सन्धि ,  सम्झौता जे गर्दा राजा र राज्यलाई राम्रो हुन्छ ,  त्यसै गरोस्। जुन राजाले जितेको शत्रुलाई मार्दैन,  त्यसले आफ्नो काल निकट भविष्यमा नै निम्त्याएको मानिन्छ।

(महाभारत,  शान्तिपर्वको अध्याय १४० मा आधारित)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *