समाचार

कांग्रेस र एमालेभित्र एकै खालको समस्या छ

जतिवेला एमाले बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ, त्यतिबेला एमालेभित्र अन्तरसंघर्ष बढेको/बढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ ।

राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नुपर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वाभाविक नै हो । तर काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ । यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेसभित्र पनि उस्तै छ । यद्यपि कांग्रेसमा उदारवादी यथास्थितिवादतर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने एमाले पंक्तिको जस्तो पीडाको अनुभूति कम देखिन्छ ।

ठूलाठूला संघर्ष र बलिदानको संघर्षबाट हुर्केका नेता र पार्टीभित्रको त्यो पीडा उनीहरूको मात्र कमजोरी ठान्नु ठूलो भूल हुनेछ । त्यसमा भूराजनीतिक स्वार्थहरूको प्रभाव बढी छ । नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने बाह्य शक्तिहरूको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ । नियोजित रूपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समाप्त सकेको देखिँदैन ।

तर नेपाली राजनीतिको विकल्पका रूपमा अघि सार्न खोजिएको पपुलिस्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन । बरु त्यो भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहन्छ । पछिल्लो चुनावपछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ ।
राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि वढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने एजेन्डाभित्र नै खोज्नुपर्ने हुन्छ । राजनीतिलाई त्यसकै वरिपरि ध्रुवीकृत गर्नुपर्ने हुन्छ ।

नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेकाहरूले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगत रूपमा स्पष्टता दिन सक्नुपर्दछ । सधैभरि पपुलिस्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्याउन सकिँदैन ।

नेपाल जस्तो मुलुकमा उदारवादले व्यापारिक पुँजीवादलाइ प्रश्रय दिने काम गर्दछ । त्यसको लाभ आमजनताले पाउन सक्दैन । त्यसवाट दलाल नोकरशाही पुँजीवाद नै लाभान्वित वन्न पुग्दछ । एमालेलाई परमादेशबाट हटाएपछिको पाँच दलीय सरकारले अवलम्वन गरेको नीति उदारवाद नै हो । त्यसको परिणाम के हँुदो रहेछ, हामीले चरम आर्थिक संकटका रूपमा भोगिरहेका छौं ।

समाजवाद हाम्रो जस्तो मुलकमा स्वाधीन अर्थतन्त्र निर्माणको वाटो हो । तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागू गरिहाल्न सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको बाटो नै उपयुक्त बाटो हो । तर त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रूपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनुपर्दछ ।

अहिले जस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुवीकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास हुन सक्दैन । आजको संकटको समाधान पनि हुन सक्दैन । त्यसैले जनमतलाई विभाजित हुनबाट जोगाउँ । विचारधाराको जगमा जनमतलाई सुदृढ गरी बलियो राष्ट्रिय शक्तिका रूपमा राजनीतिक दलहरूलाई सुदृढ गरौ ।
९लेखक एमाले महासचिव हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *