काठमाडौं । बिहान सबेरै उठी ग्यास्ट्रिकको औषधि खाएर सुरु हुने दैनिकीमा थाइराइडको औषधी खान बाँकी नै छ । चिनी राखेको दूध चिया र बिस्कुट वा तेलमा तयार भएको मैदाजन्य पाउरोटीको परिकार नास्ताको रुपमा खायो । लन्च टाइममा फेरि खानभन्दा १५ मिनेट अगाडि सुगरको औषधि खायो । खानाको पहिलो गाँस अगाडि सुगरकै अर्को औषधिको लागि इन्सुलिनको सुई।
खाना खाएर सक्नासाथ फेरि सुगरको औषधि खायो । बेलुकाको छाकमा सुगर रोग लागेको छ भात खान्न, रोटी खान्छु भनेर ६–७ वटा रोटी खायो । त्यसपछि फेरि सुगरको, कोलेस्ट्रोलको, प्रेसरको औषधि खायो । आजकाल त धेरैजनामा थप औषधिहरुको आवश्यक पर्न थालेको छ । डिप्रेसनको र निन्द्रा लाग्ने औषधि । यो त भयो दैनिकी ।
त्यसैगरी कहिले बर्थ डे पार्टी, कहिले बिहे भोज, कहिले पिकनिक जस्ता कार्यक्रममा जाँदा कोकफेन्टा जस्ता अत्यधिक चिनिजन्य र प्रशोधित खाद्यपदार्थबाट दिनको शुरुवात गर्दै तेलै तेलमा डुबेका मैदाजन्य परिकार खायो । अल्कोहल खायो । फेरि मासुभात खायो । डिजर्टको नाममा चिनीको चास्नीमा डुबाएको जेरी, लालमोहन र रसवरी खायो ।
छोराछोरीको रिजल्ट राम्रो आएको बहानामा, कामको शिलशिलामा कुनै खुसियाली क्षण आएको बहानामा होस् वा कुनै टेन्सनको बहानामा होस्, साथीभाइसँग रेष्टुराँमा बसी प्रशोधित तेलमा पकाएको चिकेन चिल्ली र रोष्ट मजाले केचपमा डुबाएर बोतलका बोतल भोड्का सँगै खायो । छोराको भिसा लागेको उपलक्ष्यमा फेरि मिठाई तथा लड्डु खाने खुवाउने काम त बाँकी नै छ । चुरोटको धुवाँ उडाउने बानी त छँदै छ ।
अझ धेरै जनमानसमा यस्तो भाष्य स्थापित भएको छ कि चिनीरोग लागेको मान्छेले सेतो चामलको भात खान हुँदैन, त्यसको सट्टा उसिनाको चामल खानुपर्छ, कालो चामल खानुपर्छ, मार्सी चामल खानु पर्छ, मकै चाहिँ नखाने, कर्नफ्लेक्स र दूध खाने, ओटमिल खाने, सुगर फ्री बिस्कुट र सुगर फ्री कोकाकोला खाने। यी भाष्यहरु सरासर गलत छन् ।
यो त सबै सुगर फ्रीको नाममा बनाइएका ब्यापारिक पेलिसी मात्र हुन् । सुगर फ्री बिस्कुट रे, बिस्कुट कसरी सुगर फ्री हुन सक्छ र ? गहुँको मैदाबाट बनेको बिस्कुट कसरी सुगर फ्री भयो ? जबकि गहुँ नै सुगरको एउटा बलियो स्रोत हो, त्यसमाथि पनि मैदा साथैमा छ। थप चिनी नहाल्दैमा सुगर फ्री भन्न मिल्छ र ?
यस्तै जीवनशैलीले गर्दा रोगै रोगको गोल्चक्करमा फसेर बिहान उठेदेखि राति सुत्ने बेलासम्म औषधिको घेराबन्दीमा पर्नुभएको अरु कसैले होइन, तपाईं आफ्नै कारणले हो । अस्वस्थकर खानपिन, अस्वस्थ जीवनशैली, अनावश्यक खाने बानी आदी कारणले तपाईं यो अवस्थामा पुग्नुभएको हो । हरेक दिन बिहान उठेदेखि राति सुत्नुअघिसम्म खानुपर्ने विबिध औषधिहरु (कुनै तीता, कुनै टर्रा, कुनै खल्ला, कुनै अर्कै गन्ध आउने) पानीसँग घुटुक्क निल्दा मुख नमिठो पार्नुभन्दा दैनिक खानेकुरा खाँदा मिठिने मुखलाई नियन्त्रण गर्ने कोसिस गर्नुहोस् । जीवन सुन्दर र अमुल्य छ ।
अस्पताल धाउनुभन्दा पहिले आफ्नै अन्तरमनको यात्रा गर्नुहोस । अनि सोच्नुहोस् । तपाईंले खाइरहेका औषधिहरुले तपाईका दीर्घरोगहरु निको पूर्ण रुपमा पारिरहेका छैनन् । जेन केन जीवन धान्ने उपाय मात्र गरिरहेका हुन् । जीवन अमूल्य छ । कसरी जीवनयापन गर्ने तपाईंको हातको कुरा हो । भान्छालाई अस्पातल र खानेकुरालाई औषधि ठानेर स्वस्थकर जीवनशैली अपनाउनुहोस् । यस्ता तमाम रोग र औषधिबाट मुक्त हुनुहुनेछ । तपाईं आफ्नो डक्टर आफै हो ।




