विचार

महँगो स्वास्थ्य सेवा : नेताले आफ्नो मात्र रोग देखे, जनताको देखेनन्

काठमाडौं । ठूला नेताहरू ग्यास्ट्रिकले च्यापे पनि उपचार गर्न विदेश पुग्छन् । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ सहयोग लिन्छन् । जनताले तिरेको करबाट विदेशी अस्पतालमा गएर उपचार गराउँछन् । तर, साधारण जनता भने उपचार नपाएर छट्पटाइरहेका छन् । नेताहरूले यो देख्दैनन् ।

सरकारी अस्पतालको अवस्था हेरिसाध्य छैन । न डाक्टर छन्, न उपचार गर्ने उपकरण । सरकारी अस्पतालकै शुल्क महँगो छ । गरिब जनता ‘अफोर्ड’ गर्न सक्दैनन् । स्वास्थ्य व्यक्तिको आधारभूत हकअधिकारमा पर्छ । यद्यपि, नेपाली नागरिकहरू चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन् । पैसा नहुनेहरू रोग च्यापेर बस्न बाध्य छन् ।

पछिल्लो समय मुलुकमा दीर्घ रोगीको संख्या निरन्तर बढिरहेको छ । कलेजो, मृगौला, फोक्सो, मेरुदण्ड, क्यान्सरलगायतका रोग थुप्रैमा देखिन थालेका छन् । अधिकांश महिलाहरू स्तन र पाठेघर क्यान्सरबाट पीडित छन् । यी रोगको उपचार एकदमै महँगो भएकाले कतिपय रोग पालेर बसेका छन् ।

सरकारले यस्ता रोगीलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने हो । विडम्बना नेताहरूले आफ्नो रोग देखे, तर जनता रोगले तड्पिएको देखेनन् । दीर्घ रोग लागेकाको अन्तिम विकल्प नै मृत्यु बनेको छ । पैसा नभएपछि के गर्ने ? उपचार नपाएपछि मर्नुबाहेक अन्य कुनै विकल्प नै रहँदैन । आर्थिकस्तर अलि राम्रै भएकाले पनि आफ्नो घरखेत सकाउँछन्, तर पनि पुगे त हुन्थ्यो । नेता मात्र होइन, सरकारी कर्मचारीले पनि नेपालमै सहुलियतमा उपचार गर्न पाउँछन् ।

सरकारी कर्मचारीका निम्ति सरकारले थुप्रै अस्पताल खोलेको छ । यहाँ उपचार सम्भव भएन भने विदेशमा गएर उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ । तर, जनताले यहाँ के पाउँछन् ? कर तिर्ने जनता हुन् । त्यही करमा नेतादेखि सरकारी कर्मचारीले मोजमस्ती गरेका छन्, अनि मर्नुपर्ने चाहिँ सधंै जनता । सरकारी अस्पताल भनिएको छ, तर निजीसरह नै शुल्क लिइन्छ ।
नेता र कर्मचारी जनताको सेवक हुन्छन् । तर, हाम्रो मुलुकमा नेता र सरकारी कर्मचारीलाई जनता उपचार नपाएर मरे पनि कुनै मतलब छैन । गरिब जनताहरूको अवस्था न सरकारले देख्यो, न सरकारी कर्मचारीले । विश्व एक्काइसौं शताब्दीमा दौडिरहेको छ, तर नेपालमा उपचार नपाएर पेट्रोल खन्याएर मर्नुपर्ने बाध्यताको अन्त्य अझै पनि हुन सकेको छैन । अस्पताल लैजान सक्ने क्षमता नभएपछि बाबुआमाले आफ्नै छोराछोरीलाई साङ्लोले बाँधेर राखेका छन् ।

कसैलाई वर्षौंदेखि थुनेर राखिएको छ । कोही उपचार नपाएर मर्ने दिन कुरेर बसेका छन् । पीडा सहन नसकेर कतिपयले विष सेवन गरेर प्राण त्यागेका छन् । सरकारले स्वास्थ्य बीमाको योजना ल्याएको छ । त्यो स्वास्थ्य बीमा कस्ता व्यक्तिका लागि हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिला यो स्पष्ट पारिदिनुपर्छ । किनकि टाठाबाठाले बीमा गरेका छन् । गरिब जनतालाई स्वास्थ्य बीमा भनेकै थाहा छैन । फेरि बीमा गर्नलाई पनि पैसा चाहियो ।

सरकारी जागिरेहरूले बीमा गराउँदै आएका छन् । जसलाई सरकारले अस्पतालमा समेत सहुलियत प्रदान गरेको छ । काठमाडौंमा करोडौंको सम्पत्ति भएकाहरूले पनि स्वास्थ्य बीमाबाट फाइदा उठाइरहेका छन् । स्वास्थ्य बीमाको नाममा पनि हुनेखानेलाई पोस्ने काम भइरहेको छ । गरिब जनता यहाँ पनि हेरेको हेर्यै भए । सरकारले स्वास्थ्य बीमा गर्दा आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकतामा राख्नुपथ्र्याे । किनकि हुनेखानेले आफ्नै खर्चले उपचार गराउन सक्छन् ।

स्वास्थ्य बीमाको योजना कार्यान्वयनमा ल्याएपछि स्वास्थ्य क्षेत्रमा एकदमै बेथिति बढेको छ । अस्पतालहरूले सयजनाको उपचार गराएर हजारजनाको बिल बनाउने गरेका छन् । सरकारसँग पैसा ल्याउँदै खाने काम अस्पतालबाट भइरहेको छ । अस्पतालले सरकारबाट आएको औषधिसमेत मेडिकलमा बेचेर पैसा खाने काम गर्दै आएका छन् । बिरामीलाई औषधि सकियो भन्ने अनि सरकारबाट आएको औषधि मेडिकललाई बेच्ने । स्वास्थ्य चौकीमा निःशुल्क उपचार र निःशुल्क औषधिको व्यवस्था सरकारले मिलाएको छ ।

तर, जनताले ती औषधि सित्तैमा पाइरहेका छन् त ? सरकारले कहिले अनुगमन गरेको छ ? जनता औषधि लिन जाँदा सकियो भन्दै खाली हात फर्काउने कर्मचारीले औषधि मेडिकललाई बेच्ने गरेका छन् । अधिकांश सरकारी अस्पतालमा स्वास्थ्यकर्मी भेटिँदैनन् । स्वास्थ्य चौकीको हालत पनि त्यस्तै छ । जनताले तिरेको करबाट तलब खान्छन्, तर काम चाहिँ निजीमा गर्छन् । हाजिर गर्ने अनि कुलेलम ठोक्ने । त्यस्ता स्वास्थ्यकर्मीलाई कसले कारबाही गर्ने ?

स्वास्थ्यकर्मीहरू यति फटाहा छन् कि के भन्ने ? सरकारी अस्पतालमा आएका बिरामीलाई आफ्नो क्लिनिकमा रिफर गर्छन् । यहाँ उपचार सम्भव छैन भन्दै आफूले आम्दानी गर्न सक्ने ठाउँमा पठाउँछन् । सरकारी अस्पतालमा सम्भव नहुने उपचार निजीमा कसरी सम्भव हुन्छ ? उही डाक्टरले सरकारी र निजी अस्पतालमा छुट्टाछुट्टै उपचार गर्ने हो ? अहिलेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले यसअघि पनि सो जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि सिन्धुपाल्चोक–१ बाट चुनाव जितेका बस्नेत स्वास्थ्यदेखि सूचनामन्त्री भए ।
कांग्रेसमा हरेक जिल्लाबाट सांसद निर्वाचित भएर आएका छन् । कतिपय सांसदको जिल्लामा अहिलेसम्म पनि अस्पताल छैन । एम्बुलेन्स नभएर मर्नुपर्ने बाध्यता अझै पनि छ । त्यस्ता सांसदलाई मौका दिएको भए उसले त्यही दुःख देखेर पनि विकास त गथ्र्याे ।

माओवादीले शक्तिबहादुर बस्नेतलाई धेरैपटक मन्त्री बनायो । एमालेले विष्णु पौडेललाई कतिचोटि मन्त्री बनायो ? भीम रावल पनि तारन्तार मन्त्री भए । अहिलेका श्रममन्त्री शरतसिंह भण्डारी बारम्बार मन्त्री भए । यिनीहरूले काम के गरे ? सम्झनलायक छैन । अरुले कहिले पनि ठाउँ नपाउने यो कस्तो व्यवस्था हो ?

सबैतिर उजाडिएको छ । जनता मरेका मर्यै छन्, नेता मोटाएका मोटायै । स्वास्थ्य मन्त्रालय सबैभन्दा भ्रष्टाचारी मन्त्रालय बन्न पुगेको छ । औषधि सप्लायर्ससँग कमिसन खाने क्रम रोकिएको छैन । स्वास्थ्यमन्त्री बस्नेतलाई जनताको पर्वाह छैन, पैसाको छ । अस्पतालबाट लास निकाल्न नसकेर जनता घरघरमा चन्दा उठाउँदै हिँडेका छन् । राज्यलाई गिज्याउने योभन्दा अरु ठूलो विषय के हो ? कतिपयको लास अस्पतालमा कुहिएर बसेको छ । देशमा स्वास्थ्य मन्त्रालय छ, तर स्वास्थ्य क्षेत्रमा रद्दीभर पनि सुधार छैन् । किनकि स्वास्थ्य मन्त्रालयमा सबै माफियाहरू बसेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *