काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अर्बौं रकम असुली गरेको आरोप लागेका सरकारी उच्च ओहोदामा पुगिसकेका केही, निजामती सेवाका बहालवाला तथा भूतपूर्व उच्चपदस्थ केही र बिचौलियाको काम गर्ने केही गरी १२ जना आरोपित ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अन्य केहीको सक्रियतापूर्वक खोजी गर्दै कारबाही अघि बढाउनु अत्यन्त सकारात्मक कार्य हो ।
पैसा ठगी गरेको कसुर देखाउँदै पीडितहरुद्वारा प्रशासनमा दिइएका निवेदनका आधारमा २०७९ साल चैत १२ गतेदेखि नेपाल प्रहरीले सुरु गरेको यो कारबाही अहिले संगठित अपराध बिरोधी कारबाहीको रुपमा अघि बढिरहेको छ। नेकपा माले निष्पक्ष र गहिरो छानवीन गरी दोषीविरुद्ध कडा कानुनी कारबाही गरियोस् र कुनै पनि निर्दोष ब्यक्ति फस्ने त्रुटि नहोस् भनी सरकार र प्रहरी प्रशासनको ध्यान गम्भीरतापूर्वक आकृष्ट गर्दछ।
अन्तर्राष्ट्रियस्तरमै नेपालको बेइज्जत हुने गरी गरिएको यो नक्कली भुटानी शरणार्थी भ्रष्टाचार काण्ड नेपाली जनताको सार्वभौम अधिकार, देशको अस्मिता र विधिको शासनबिरुद्ध गरिएको घृणित मानव तस्करीजन्य अपराध हो । पाँच वर्षभन्दाअघिदेखि देशमा जम्न थालेको यो पिलो अहिले फुटेर पीप बग्न थालेको छ। आँखा नै निकाल्ने गरी यस पिलोको प्रभावकारी उपचार हुनैपर्छ ।
यो काण्डको भण्डाफोर र उपचार लडाकु शिविरबाट गरिएको अर्बौंको अपचलन, वालुवाटार जग्गा, वाइडबडी, सुन तस्करी, मेलम्ची, एनसेल, फोरजी, ओम्नी, सुरक्षण प्रेस र राष्ट्रिय परिचयपत्रलगायतका अन्य ठूला भ्रष्टाचार काण्डहरूको भण्डाफोर, प्रभावकारी छानवीन र दोषीबिरुद्ध गरिने कडा कानुनी कारबाहीको श्रीगणेश बनोस् भन्ने जनता चाहन्छन् । र, यही नेकपा मालेको पनि चाहना हो।
२०४६ सालको राजनीतिक परिवर्तनपछिदेखि नै देशमा भ्रष्टाचारको पिलो जम्न थालेका हुन् । दुर्भाग्यको कुरा हो, परिवर्तनकारी पुराना राजनीतिक पार्टीका नेताहरु नै यसको बीजारोपण कर्ता बन्न पुगे । राजनीतिक परिवर्तनसँगै आएका अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेपहरुले यसलाई मलजल गरे। यसको प्रारम्भ कमीशन, कूत असुली तथा घुसखोरी र प्राप्त प्रजातन्त्रलाई भ्रष्ट बनाउने काम तथा राष्ट्रियतामाथिको प्रहारबाट सुरु गरियो ।
अन्ततः दलहरु उनका घोषित सिद्धान्त र राजनीतिबाट च्यूत हुन पुगे। आज सबै पुराना संसदवादी दलहरुले फलाक्ने सिद्धान्त र राजनीति जनतालाई झुक्याउने प्रचार सामग्री मात्र बनेका छन् । सत्ता लिप्सा, राज्य दोहन, भ्रष्टाचार र पैसाको खोलो बगाएर पटकपटक चुनाव जित्नु उनीहरु सबैका वास्तविक सिद्धान्त र राजनीति बनेका छन्। आरोपित ब्यक्तिहरु राजनीतिक स्खलनको यस परिघटनाका गिनी पिग बन्न पुगेका बबुरा पात्र मात्र हुन्।
एउटा भ्रष्टाचार भण्डाफोरको वर्तमान घटना नेपालमा २०४६ सालदेखि पुनः सुरु भएको वेलायती संसदीय व्यवस्था, त्यसको दोषपूर्ण कार्यान्वयन, वाह्य हस्तक्षेपकारी शक्तिहरुको प्रयोग र त्यसका प्रमुख पात्रहरुको अधपतनको परिचायक पनि हो। पुरानै रक्सीले भरिएर आएका नयाँ बोतलहरुले पनि पुरानाका दुई चार गलत कुराको चर्को बिरोध गरेको भरमा तिनीहरुको रजगज हस्तगत गर्नेछौं भनी आस ब्यर्थ छ। नेपाली जनता कुरा बुझिरहेका छन्। अतः सबैे पुराना संसदवादी पार्टीहरुको घैटामा घामलाग्नु आवश्यक छ।जनताले भन्नथालि सकेका छन्, सच्चिने काम गर नत्र सिद्धिने छौ।
आज नेपाली जनता नेपाली समाजको उपरी संरचनामा थुप्रिएको फोहोरलाई बढार्न चाहन्छन्। त्यसको निम्ति उनीहरु देशमा एउटा सम्पूर्ण क्रान्ति चाहन्छन् । उनीहरु देशमा युगान्तकारी मार्ग परिवर्तन चाहन्छन् । यस्तो परिवेशमा भ्रष्टाचारबिरोधी जनचाहनालाई यस सरकारले रोक्न र बर्गल्याउन सक्ने छैन भन्ने आशा गरौं।




