काठमाडौं । पछिल्लो समय प्रत्येक नेपालीलाई राजनीतिक अस्थिरता र बढ्दो आर्थिक संकटको चिन्ता छ । सबैजना निराश छन् । जो पनि लगानी डुबेकै गुनासो गरिरहेका हुन्छन् । ऋणको बोझमा दबिएका त कति हुन् कति । हरेक व्यवसायी तनावमा छन् । घरजग्गा व्यवसायी, सेयर व्यवसायी, यातायात व्यवसायीलगायत अन्य व्यवसायीहरू डुबिसकेका छन् ।
बैंकिङ क्षेत्र पनि नाजुक अवस्थामा पुगेको छ । सहकारीका कारण पीडित बन्नेहरूको ओइरो लागेको छ । बजारमा पूरै मन्दी छाएको छ । आमनागरिकसँग पैसाको अभावले बजार सुस्ताएको छ । व्यापार व्यवसाय धराशायी बन्ने स्थितिमा पुगेको छ ।
एक वर्षअघिको अवस्था नियाल्ने हो भने सेयरमा राम्रै कारोबार भइरहेको थियो । घरजग्गाको खरिदबिक्री पनि चलिरहेको थियो । गाडी किन्नेहरूको संख्या पनि उत्तिकै हुन्थ्यो । तर, अहिले यी क्षेत्र सोत्तर बनिसकेको छ । किन्ने कोही छैनन्, बेच्ने मात्र छन् । अर्थविद्हरू घरजग्गा, सेयर र गाडी तीन दशकअघिकै मूल्यमा झर्ने बताउँदै आएका छन् । सरकारले यी क्षेत्रबाट सबैभन्दा धेरै राजस्व उठाइरहेको थियो । किनबेच ठप्प हुँदा राजस्वमा कमी आएको छ ।
राजस्व नउठ्दा सरकारलाई आफ्नै खर्च धान्न मुस्किल परिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको धेरै लगानी यी तीन क्षेत्रमा छ । जसको असर अहिले बजार र मुलुकको अर्थतन्त्रमा देख्न थालिसकेको छ । खेतीयोग्य जमिनलाई खण्डीकरण गरेर, टुक्राटुक्रा पारेर बेच्ने कामले प्राथमिकता पायो । सरकारी रेट आनाको पाँच हजार भएको जग्गालाई दलालहरूले टुक्रा पारे । सो जग्गामा प्लानिङ गरेर आनाकै लाखौंमा बेच्ने काम भयो । जग्गाको मूल्य दिनको दुई गुणा र रातको चौगुणा बढ्यो । मूल्य आकाशिएको देखेर बैंक तथा वित्तीय संस्थाले लगानी गर्न थाले ।
केही समययता नेपालीलाई आफ्नै गाडी चढ्ने मोह चलेको छ । ऋण लिएर भए पनि निजी सवारीसाधन किन्नुपरेको छ ।
भारतले पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलामलाई लाखदेखि करोडौंमा बेच्यो । नेपालीले आँखा चिम्लेर धमाधम किने । त्यही गाडी धितो राखेर बैंकले कर्जा दियो । कुनै पनि संस्थाले कति रुपैयाँमा सेयर निकास गर्छ ? सेयरको निकाल्दाको मूल्य जम्मा एक सय रुपैयाँ प्रति कित्ता हो । तर, यहाँ पनि दलालको बिगबिगी भयो । एक सयको सेयर ३२ सय रुपैयाँसम्म खरिदबिक्री भयो ।
सबैले तत्कालको अवस्था हेरे, भकाभक लगानी गरे । अहिले त्यसकै प्रतिफल भोगिरहेका छन् । ३२ सयमा किनेको सेयर हजार रुपैयाँमा बेच्छु भन्दा पनि कसले किन्ने ? बजारमा सेयर बेच्ने यत्तिकै छन्, किन्ने कोही छैनन् । सेयर निरन्तर ओरालो लागिरहेको छ । घरजग्गा र गाडीको अवस्था पनि त्यस्तै छ । हिजो ६० लाखमा किनेको जग्गा १० लाखमा बेच्छु भन्दा पनि बिक्री हुँदैन ।
२० लाखमा किनेको गाडी पाँच लाखमा किनिदिने पनि कोही छैनन् । सहकारीमा बचत भएका ९७ लाख बचतकर्ता त ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेका छन् । ३५ हजार २४९ वटा सहकारीले २० अर्ब रुपैयाँ खाइदियो । हजारदेखि करोडसम्म बचत गरेका छन्, बचतकर्ताले । उनीहरू निराश बनेका छन् । कतिले खेत बेचेर पैसा राखेका थिए । कतिले आफ्नो जिन्दगीभरको कमाई बचत गरेका थिए ।
तर, अहिले पैसा नै माया मार्नुपर्ने स्थिति सिर्जना भएको छ । बैंकमा बचत भएकाहरू पनि उत्तिकै तनावमा छन् । बैंक पनि डुब्ने हो कि ? भन्ने आशंका गर्न थालिएको छ । बैंकलाई पनि बचत फिर्ता गर्न सकस परिसकेको छ । बेरोजगारी बढेको बढ्यै छ । रोजगारी भएकाहरूले पनि वर्षौदेखि तलब पाउन सकेका छैनन् ।
न कोठाभाडा तिर्न सकेका छन् न बालबालिकाको स्कुल फिस तिर्ने पैसा छ । महँगीले सीमा नाघिसकेको छ । एकातिर थोरै तलब हुन्छ, अर्कोतिर भनेको बेलामा त्यो पनि पाइँदैन । पहिलेपहिले काम गर्नेहरू खोज्न हिँड्नुपथ्र्यो । तर, अहिले काम खोज्न आउनेहरू यत्तिकै छन् । पसलपसल, घरघरमा पुगेर काम खोजिरहेको देखिन्छ । राजधानीका धेरै घरहरू खाली भइसकेका छन् ।
व्यवसाय नभएपछि व्यापारीहरूले सटर नै छोडिदिए । कोठा भाडा तिर्न नसकेपछि प्रायःजसो आफ्नै गाउँघर फर्किए । घरधनीहरू ‘टुलेट’ लेखेको पोस्टर टाँसेर बसेका छन् । जसोतसो व्यापार सञ्चालन गरिरहेकाहरू पनि यस्तै अवस्था बन्यो भने सबै छोडेर घरै फर्किनुपर्ने बताउँछन् ।
कोठा लिएर बस्दै आएकाहरूको पनि त्यस्तै गुनासो छ । पैसा नभएपछि बोरा चामल किन्न छाडिएको छ । किलो चामल किनेर छाक टार्ने क्रम बढेको छ । सरकारी जागिर भएकाले पेटभरि खालान् । तर, अरुले सक्दैनन् । आम्दानी छैन, काम खोज्यो काम पाइँदैन । भोको पेटमा पटुका बाँधेर हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
सरकारले अर्थतन्त्र सुधारको दाबी गर्दै आएको छ । खोइ, कहाँ भएको छ सुधार ?
टाढाटाढासम्म कुनै संकेत देखिएको छैन । सरकारी कर्मचारीलाई नै तलब खुवाउन नसक्ने अवस्थामा छ सरकार । विदेशीसँग ऋण लिएर तलबभत्ता, पेन्सन खुवाएर देश कहिलेसम्म चलाउने ? नेताहरूले यो बुझ्न सकेनन् । उनीहरूले मासिक तलब र सरकारी सेवासुविधा पाएकै छन् । वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, भूपूमन्त्री, भूपूप्रधानमन्त्री, भूपूराष्ट्रपति, भूपूकर्मचारी सबै खाने मात्र छन् । अनि मुलुक कसरी उभो लाग्छ ?
जनताले तिरेको करले यिनीहरूको चाकरी गर्न पुग्दैन । सरकारले नेपाल प्रहरीलाई तीन महिना तलब नदिने घोषणा गरेको छ । तर, सर्वसाधारणले यसको विरोध गरिरहेका छन् । सर्वसाधारणहरू आर्मी र अन्य सरकारी कर्मचारीलाई तलब नदिए पनि हुने बताउँछन् । तर, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई तलब दिनुपर्नेमा उनीहरूको जोड छ । किनकि नेपाल प्रहरी र ट्राफिक प्रहरी जतिबेला पनि ड्युटीमा खटिएका हुन्छन् ।
अहिले प्रधानमन्त्रीको खुब विरोध भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक सिध्याउन लागेको भनेर आमनागरिक उनीप्रति खनिएका छन् । तर, प्रचण्ड प्रधानमन्त्री भएको चार महिना भयो । चार महिनामा अर्थतन्त्र सखाप भएको हो र ? यसअघि केपी ओलीदेखि लिएर शेरबहादुर देउवाको सरकार थियो । झलनाथ खनाल, बाबुराम भट्टराई, माधवकुमार नेपाललगायतको पनि हात छ । अर्थतन्त्र एकैपटक तहसनहस भएको होइन । संकेत देखिए पनि हावादारीमा उडाइयो ।
देश बिग्रिन थालेको २०४६ साल पछाडि हो । भ्रष्टाचार बढ्यो, नेताहरू बिलासी बने । खेतीयोग्य जमिनमा प्लटिङ गर्ने र बाटो बनाउने क्रम बढ्यो । मुलुक परनिर्भर बन्दै गयो । अन्य मुलुकको सामु घुँडा टेक्नुपर्ने बाध्यता बन्यो, नेपाललाई । हिजो सुको ऋण नभएका नेपालीको टाउको अहिले ९० हजार विदेशी ऋण छ । चाहे जुनसुकै शासन आओस् अब मुलुकलाई ‘ट्रयाक’ मा ल्याउने सम्भावना छैन । २०४६ सालपछि जुनजुन पार्टी सरकारमा गए, तिनले जनतासँग माफी माग्नुपर्छ । भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।
भक्तपुर




