काठमाडौं । उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा मतदान जारी छ । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन भएको हो ।
रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराएको हो । चितवन २ मा कांग्रेसका पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठ, रास्वपाका रवि लामिछाने, एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् । सोही क्षेत्रबाट चुनाव जितेका रविको नागरिकता विवादका कारण सर्वोच्चले सांसद पद खारेज गरिदिएपछि उपनिर्वाचन गरिएको हो ।
तनहुँ १ मा कांग्रेसमा गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा.स्वर्णिम वाग्ले उम्मेदवार छन् । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली उम्मेदवार छन् । बारामा चार पक्षीय भिडन्त हुने देखिएको छ । तर चितवन र तनहुँमा भने त्रिपक्षीय भिडन्त हुने निश्चित छ ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले दुई, एमालेले तीन, रास्वपाले तीन, जसपा र जनमत पार्टीले एक निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छन् । राप्रपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाए पनि कतै सिनमै देखिएको छैन । उपनिर्वाचनमा माओवादी र एकीकृत समाजवादीले उम्मेदवार नै उठाएनन् । सत्तारुढ गठबन्धनमा भएकाले पनि बारामा जसपा र तनहुँ तथा चितवनमा कांग्रेस उम्मेदवारीलाई सबैको समर्थन छ ।
तर, सामाजिक सञ्जाल हेर्दा उपनिर्वाचन ठूला दलका लागि जनमतसंग्रह नै हो कि भन्ने जसरी चर्चा परिचर्चा भइरहेको छ ।
रास्वपाले तीनवटै क्षेत्रमा क्लिन स्विप गर्ने घोषणा गर्नु अनि केही ठूला भनिएका अनलाइन मिडिया त्यसरी नै एकपक्षीय ढंगले निर्वाचनको प्रक्षेपण गर्न लाग्नुले धेरैलाई संशयमा पारेको छ । तर स्थलगत रिपोर्ट हेर्दा अहिले तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, चितवन २ मा रवि लामिछाने र बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाह नै विजयी हुने देखिएको छ । यद्यपि बारा २ मा जसपाका उपेन्द्र यादवले पनि धेरै मत सुधारेकाले जित्ने सम्भावना पनि उत्तिकै छ । तर मत प्रतिशत भने निकै कम छ । निर्वाचन आयोगका अनुसार बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मत खसेको छ ।
चितवन २ मा मंसिरमा ८६ हजार मत खसेको थियो । सवा लाख मतदाता रहेमा ६७ प्रतिशत मत खसेको थियो । तर यसपटक हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ । छ । यदि मत प्रतिशत कम भएमा सबै दलका उम्मेदवारलाई असर पुग्ने भए पनि रवि लामिछानेको मत भने २० हजार घाटा लाग्ने कांग्रेस र एमालेको बुझाई छ । यदि तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा वा बारा २ मा जनमत पार्टीले जितेमा भने कांग्रेस, एमाले र माओवादीका लागि २०८४ को आमनिर्वाचनले अस्तित्व नै संकटमा पारिदिने सम्भावना धेरै छ । सोही कारण अहिले उपनिर्वाचनलाई कांग्रेस, एमाले र जसपाले जनमतसंग्रहका रूपमा लिएका छन्




