समाचार

सुपर मार्केटहरूको ठगीधन्दा, अनुगमन गर्ने कसले ?


नेपाल सरकारले भाटभटेनीलगायतका व्यापारिक मल खोल्न इजाजत दिएसँगै थुप्रै मार्टहरू खुलेका छन् । सरकारले व्यापारिक मल सञ्चालन गर्ने अनुमति दियो, तर अनुगमन गर्न बिर्सियो । मलहरूले बेचेको सामान गुणस्तर छ कि छैन ? प्रभावकारी ढंगले अनुगमन गर्ने गरिएको छैन ।

सामानको रेट र तौलको विषयमा पनि सरकारलाई चासो छैन । म्याद सिद्धिएको सामानमा नयाँ मिति राखेर बेचेको गुनासो बजारमा व्यापक आइरहेको छ । सामानको तौल पनि कम हुने उपभोक्ताहरू बताउँछन् । तर, सरकारले सर्वसाधारणको गुनासोलाई बेवास्ता गरिरहेको छ । नबिकेको सामानमा नयाँ स्टिकर टाँस्दै बेच्ने काम हुँदा पनि सम्बन्धित निकाय टुलुटुलु रमिता हेरेर बस्नुलाई उदेक मानिएको छ । व्यापारिक मलमा पाउने सामानको मूल्य एउटा छ, किराना पसलमा अर्कै छ ।

सामान एउटै भए पनि मूल्यमा धेरै अन्तर देखिन्छ । सरकारले खाद्यान्नको मूल्य नतोकिदिँदा उद्योगी, व्यापारीहरूले फाइदा उठाउँदै आएका छन् । हरेक सामानको ह्वात्तै मूल्यवृद्धि भएको छ । सामानको तौल पनि कमकम हुँदै आएको छ । पहिले १० पिस बिस्कुट हुने प्याकेटमा अहिले आठ पिस मात्र हुन्छ ।

महँगो पैसा हालेका किनेर सामान पनि गुणस्तर छ भनेर भन्न सक्ने अवस्था छैन । अझ व्यापारिक मलका सञ्चालकले दलालीको काम पनि गर्दै आएका छन् । उत्पादक र ग्राहकलाई ठगेर यिनीहरूले कमाइरहेका छन् । सुपर मार्केटहरूले उत्पादकबाट उधारोमा सामान ल्याउँछन्, त्यो पनि सस्तो मूल्यमा । उत्पादकले वर्षसम्म आफ्नो सामानको पैसा पाउँदैनन् । उनीहरूले सय रूपैयाँमा सुपर मार्केटलाई छाडेको सामान ठ्याक्कै दोब्बर मूल्यमा बेचिन्छ । ग्राहकले सामान किन्नेबित्तिकै पैसा तिर्छन् । पैसा नतिरेसम्म ग्राहकले सामान ढोकाबाहिर लैजान पाउँदैनन् । ग्राहकले पैसा तिर्नेबित्तिकै उत्पादकलाई पनि दिनुपर्ने होइन र ? बीचमा बसेर आफू कमाइरहने, अरुलाई मारिरहने दाउ यिनीहरूको हो ।

भाटभटेनीका साहु मिनबहादुर गुरुङ केही समयअघिसम्म सम्पन्न थिएनन् । उनी पुँजीपति होइनन् । उनले कानुन व्यवसायी र भूमाफियासँग मिलेर सरकारी जग्गा कब्जा गरे अनि भटाभट दर्ता गरे । यसरी उनले आम्दानीको स्रोत बनाए । मुलुकभरका सरकारी जग्गा कब्जा गरिसकेका उनले अन्तिममा बालुवाटारको जग्गासमेत आफ्नो नाममा दर्ता गरे । प्रधानमन्त्री निवासको जग्गासमेत उनले आफ्नो नाममा ल्याउन भ्याए । आफू बच्नका निम्ति उनले आर्मीका चिफसँग साइनो गाँसे । राजनीतिक दलहरूलाई आफ्नो मुठ्ठीमा ल्याए ।

जति सरकारी जग्गा दर्ता गरेका थिए, त्यो भकाभक बेच्दै गए । भोलि कानुनको फन्दामा पर्ने देखेपछि उनले अर्कैको नाममा दर्ता गरे । कानुनले सुरुमा जग्गा कसको नाममा पास भएको छ, उसलाई समात्ने हो । उनले भाटभटेनी सञ्चालन गर्न व्यक्तिसँग सस्तोमा जग्गा किने । त्यही जग्गामा भाटभटेनी खोलिएको छ । भाटभटेनीले राज्यलाई राजस्व छल्दै आएको छ ।

उपभोक्तालाई पनि महँगोमा सामान बेचेर ठग्ने काम भइरहेको छ । आफ्नो कर्तुत लुकाउन भाटभटेनीका साहु गुरुङले विभिन्न रणनीति बनाए । दुर्गम जिल्लाका एकजना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने कुरासम्म बाहिर आयो ।

केही महिनाअघि नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि इलामका प्रेमप्रसाद आचार्यले आत्महत्याको बाटो रोजे । सामान उधारोमा लैजाने, वर्षौंसम्म पैसा नदिने गरेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् । भाटभटेनी साहुले पनि आफ्नो सामानको पैसा नदिएको उनको आरोप छ । जो मान्छे मर्दैछ, उसले कदापि झुटो बोल्दैन । मर्नेलाई केको डर ?

प्रेमप्रसादले छ्यापेको हिलो मेट्न भाटभटेनीका साहु गुरुङले तत्काल प्रेस विज्ञप्ति निकाले । उनले प्रेमप्रसादको सबै पैसा चुक्ता गरिसकेको दाबी गरे । कसैको पीडालाई भाटभटेनीका साहुले झुटो भएको देखाउने कोसिस गरे । गरिखानेहरूको पेटमा लात हान्ने काम भाटभटेनीको साहुले गरिरहेका छन् ।

व्यापारिक मल, सुपर मार्केटमा महँगो पर्ने सामान किराना पसलमा सस्तोमा पाइन्छ । तौल पनि पूरा पाउन सकिन्छ । ताजा र गुणस्तर पाउन सकिन्छ । तर, भाटभटेनी जानेकै लर्को लागेको छ, किन ? भाटभटेनीमा गएर सामान किनेपछि आफ्नो इज्जत बढ्छजस्तो गर्छन्, सर्वसाधारण । अझ आफ्नो गाडी देखाउन सर्वसाधारण त्यहाँ जान्छन् ।

मुलुकमा नाम मात्रको सरकार छ, नाम मात्रको प्रधानमन्त्री छन् । प्रधानमन्त्रीको कुर्सीमा प्रचण्ड बसेका छन्, तर सरकार चलाउनेमा व्यापारी, माफिया दलालीहरू छन् । उनीहरू आफ्नो हितमा प्रस्ताव लिएर जान्छन्, प्रचण्ड धमाधम हस्ताक्षर गरिदिन्छन् । पहिलेपहिले उद्योगी विनोद चौधरीले राजा वीरेन्द्रको पैसा चलाएको छ भन्ने गरिन्थ्यो ।

२०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको परिवार नै सखाप भयो । राजाको परिवार नै सकिएपछि के को ऋण तिर्नु ? विनोद चौधरीले त्यो पैसा पचाइदिए । भाटभटेनीका साहुले पनि ठूल्ठूला नेता, सरकारी कर्मचारीको पैसा चलाएका छन् । भोलि उनीहरूले आफ्नो पैसा फिर्ता माग्नेबित्तिकै भाटभटेनी साहुले धम्क्याउन थाल्छ । कालो कर्तुत बाहिर छरपष्ट पारिदिनेसम्मको कुरा बाहिर आउँछ ।

भाटभटेनी साहुसँग यत्रो पैसा कहाँबाट आयो ? त्यो छर्लंग छ । व्यापारिक मल र सुपर मार्केटले दिनहुँ अर्बाै रूपैयाँ ठगिरहेका छन् । जनताको स्वास्थ्यमाथि पनि खेलवाड गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति विभाग वर्षमा एकचोटि अनुगमनमा निस्किएर के के न गरेझैं गर्छ । उसले दिनकै अर्बाैं रूपैयाँ ठग्छ, विभाग भने ५० हजार रूपैयाँ लिएर छोडिदिन्छ ।

भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *