राजनीति

राष्ट्रपतिमा पराजित नेम्वाङ अब एमाले दलको उपनेता

काठमाडौं । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई दलको उपनेतामा मनोनीत गरेका छन्। सोमबार उनले नेम्वाङलाई दलको उपनेता मनोनीत गरेका हुन् ।

उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए। पौडेलले सोमबार नै राष्ट्रपतिको शपथ लिइसकेका छन्। त्यसलगत्तै ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन‍्। राष्ट्रपतिको उम्मेदवार भइसकेका व्यक्तिलाई चार दिनभित्रै ओलीले दलको उपनेताको जिम्मेवारी दिएपछि एमालेका नेताहरु खासै उत्साहित छैनन् ।

मौका पाउँदा राष्ट्रपतिको उम्मेदवार पनि र पराजित भएपछि राज्यको सेवासुविधा पाउने ठाउँमा नेम्वाङलाई नै बनाएकोमा एमालेका अन्य सांसदहरू खुसी नदेखिएका हुन् । एमाले अध्यक्ष ओलीले गरेका निर्णयमा पार्टीमा कसैले प्रश्न उठाउन सक्दैन । जसले प्रश्न उठायो वा विरोध गर्यो, उसको हालत भीम रावल र घनश्याम भुसालको जस्तै हुने भएकाले ओलीको निर्णयमा ताली ठोक्नुबाहेक अरु विकल्प छैन ।

अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि नेम्वाङ दलको उपनेता थिए । ओलीका भित्रिया नेम्वाङ पार्टीमा सधैं अवसर पाइरहने नेतामा पर्छन् । सभामुख र संविधानसभाका अध्यक्ष भइसकेका नेम्वाङ एमालेबाट मन्त्री, सांसद भइरहेका छन् ।

ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गरेका थिए। गिरी पूर्वस्वास्थ्यमन्त्री हुन्। बर्तौला भने पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन्। उनले एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका थिए। दलमा गिरी र बर्तौलालाई स्थान दिएर ओलीले अन्य युवा सांसदको मुख थुन्न सफल भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *