रिबन

प्रचण्ड र देउवा मिल्ने संकेत, भित्तामा पुग्दै ओली !

बुढापाकाले भन्थे,‘१२ वर्ष पुगेपछि उधो बगेको खोलो पनि उमो फर्किन्छ । बाउबाजेले गरेको पाप नातिले सम्म भोग्नुपर्छ ।’ २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री हुने बेलामा लिखित सम्झौता भएको थियो । पाँच वर्षमा आधाआधा कार्यकाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीले चलाउने भनेर सहमति जनाइएको थियो । ३० महिना पुगेपछि प्रचण्डले प्रधानमन्त्री पद मागे । तर, ओलीले सरासर इन्कार गरे । प्रचण्डसंग गरेको लिखित सम्झौतालाई नै ओलीले मानेनन् ।

न पार्टीको अध्यक्ष छोडे न प्रधानमन्त्री । ओलीबाट भएको विश्वासघातका कारण प्रचण्ड रन्थनिए । ओलीले प्रचण्डलाई भित्तामा पुर्याउन खोजेका थिए । तर, प्रचण्ड र माधवकुमार नेपाल मिलेर ओलीको पार्टीको सदस्यसमेत खारेज गरिदिए । त्यही झोकमा आएर ओलीले दुई पटक सांसद् विघटन गरिदिए । प्रधानमन्त्री प्रचण्डलाई दिनुपर्छ, आफ्नो हातबाट पद गुम्ने देखेपछि उनले दुई दुई चोटि संसद् विघटन गरे । प्रचण्डले आफूले प्रधानमन्त्री खाएनन् ।

बरु, माधव नेपाल र प्रचण्ड मिलेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयो । २०७९ मंसिर ४ गतेको चुनावमा नेकपा एमालेलाई जनताले पत्याएनन् । जनताले बहुमत नदिएपछि बनिबनाऊ पाँच दलको गठबन्धन फुटाएर ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरे । ओली र प्रचण्डको सम्झौता आधाआधा कार्यकाल प्रधानमन्त्री खाने सम्झौता भएको बताइन्छ । अन्य पदमा पनि यी दुई पार्टीबाट भागबण्डा मिलेर सहमति जनाइएको एमालेका सांसद्हरु बताउँछन् ।

हिजो ओलीले प्रचण्डलाई दिएको धोकाबाट सबै जानकार छन् । माओवादीका नेतालाई पनि थाहा छ सर्वसाधारणले पनि राम्ररी बुझेका छन् । माओवादीका कार्यकर्ताहरु एमालेलाई सभामुख र राष्ट्रपति दिन नहुने धारणा राख्छन् । साढे दुई वर्षपछि एमालेलाई सरकार हस्तान्तरण पनि गर्नुहुँदैन् भन्नेमा कार्यकर्ताहरुको जोड छ । हिजो दिएको धोकाको तिरो एमालेले तिर्नुपर्ने उनीहरु बताउँछन् । माओवादीका कार्यकर्ताले भनेअनुसार र कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएअनुसार अब सभामुख, राष्ट्रपति र उपराष्ट्रपतिमा कांग्रेस आँउछ ।

माओवादीले कांग्रेसलाई समर्थन गर्ने निश्चित छ । प्रचण्ड र देउवाको आधाआधा सरकार चलाउने भनेर गोप्य सम्झौता भएको भनि कांग्रेसका कार्यकर्ताहरु बताउँदै आएका छन् । दुई वर्ष प्रचण्ड, दुई वर्ष देउवा र एक वर्ष नेपालले चलाउने सहमति भएको कुरा छ्याप्छ्याप्ती बाहिर आएको छ । कांग्रेसले विश्वासको मत दिँदा प्रचण्ड खुसीले गद्गद् भएका थिए । त्यति खुसी त उनी एमालेले समर्थन गर्दा पनि भएका थिएनन् । समय बित्दै गएपनि प्रचण्डले धोका बिर्सन सकेका छैनन् ।

ओलीको चालदेखि प्रचण्ड पूरै जानकार छ । माओवादीका कार्यकर्ताहरु एमालेलाई धेरै मन्त्रालय दिन नहुने र विष्णु पौडेललाई अर्थमन्त्रीबाट हटाउनुपर्ने बताउँछन् । कांग्रेसले प्रचण्डलाई समर्थन गरेर विश्वासको मत दिनेबित्तिकै ओलीको अनुहार हेर्नेलायक बनेको थियो । उनी निलोकालो भएका थिए । ओलीले समेत आफू प्रधानमन्त्री पाउँदिन भनेर पत्तो पाइसकेका थिए । ओलीको राजनीति सिद्धिसकेको छ । उनको प्रधानमन्त्रीको यात्रा पनि यहीसम्म थियो ।

प्रचण्ड र देउवा मिलेर ओलीको राजनीति तहसनहस पारिदिए । एमालेलाई भित्तामा पुर्याउन यिनीहरु सफल बने । अहिले प्रदेशमा एमालेका मुख्यमन्त्री आएका छन् । केही महिनापछि मुख्यमन्त्री फेरिने छन् । माओवादी, कांग्रेस वा एकीकृत समाजवादीका मुख्यमन्त्री आउने छन् । सभामुख र उपसभामुख पनि एमालेले पाँउदैन् । माओवादीले कांग्रेसलाई मतदान गर्छ । जुन सपना देखेर ओलीले प्रचण्डलाई आफ्नो गठबन्धनमा ल्याएको थियो, त्यो चक्नाचुर भइसकेको छ ।

देउवाले ओलीको सपनामाथि पानी खन्याइदिएका छन् । पाँच दलीय गठबन्धन फुटाएर प्रधानमन्त्री बन्छु भनेर हिँडेका ओलीको जालो देउवाले तोडिदिइसकेका छन् । राजनीतिमा ओलीभन्दा देउवा चतुरे रहेछन् भन्ने स्पष्ट भइसकेको छ । देउवासंग प्रचण्ड निकै खुसी हुन्छन् । उनको अनुहार कति उज्यालो देखिन्छ । तर, त्यही प्रचण्ड ओलीसंग बस्दा शिर निहुराएर बस्छन् । कारण त हिजो ओलीले दिएको धोका नै हो । ओलीलाई भर्याङ बनाएर प्रचण्डले सबै तिरबाट विश्वासको मत लिए ।

कांग्रेस, एमाले, समाजवादीलगायत अन्य पार्टीले उनलाई विश्वासको मत दिए । अब आउने पाँच वर्षको चुनावमा एमालेलाई छ्याप्छ्याप्ती खोज्नुपर्ने हुन्छ । अहिले ७८ सांसद् भएको एमाले पाँच वर्षपछि १८ मा झर्छ । दिँउसै टुकी बालेर एमालेको खोजी गर्नुपर्छ । एमालेसंगै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सिद्धियो । रास्वपाका सभापति रवि लामिछानेले हिजो त्यही प्रचण्डलाई तथानाम गाली गरेका थिए । माओवादीको विरोध गर्ने रविले प्रचण्डलाई नै विश्वासको मत दिए ।
प्रचण्डकै सरकारमा उनी गृहमन्त्री छन् । पाँच वर्षपछि रास्वपाले यसको नतिजा भोग्नेछ ।

अहिले २० सीट पाएको रास्वपाले एक सीट पनि पाँउदैन् । राप्रपाले राजतन्त्र र हिन्दु राज्य चाहिन्छ । हामी राजतन्त्र फर्काउछौं भनेर जनतासंग भोट माग्यो । अहिले आएर गणतन्त्र ल्याउने, राजा भगाउने र हिन्दु राज्य सखाप पार्ने नेतालाई नै राप्रपाले विश्वासको मत दियो । राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीलाई कालोमोसो लगाएर जनताले लखेट्ने छन् । कमल थापाको जस्तै हालत यिनको हुने छ ।

०७० सालको चुनावमा राप्रपाका नेता कमलले मुलुकमा राजतन्त्र फर्काउछु । हिन्दु राज्य ल्याउछु भनेर जनतासग भोट मागेका छन् । उनले त्यतिखेर २४ सीट जितेका थिए । प्रचण्डकै सरकारमा कमल उपप्रधानमन्त्री भए । पटकपटक सरकारमा कमल गएपछि ०७४ सालको चुनावमा राप्रपा शुन्यमा झर्यो । देशभरबाट एउटै राजेन्द्र लिङदेनले मात्र विजयी हात पारे । अहिले फेरिपनि राजेन्द्रले उही ठोकुवा गरेर जनतासंग भोट मागेका हुन् । तर, उनले प्रचण्डलाई विश्वासको मत दिएका छन् ।

अधिकांश नेताहरु राजनीति सकाउने खुड्किलो चढिरहेका छन् । हिजो अभियन्ता भनिएका ज्ञानेन्द्रले व्यापारीहरुसंग पैसा उठाएर खाए । आफ्नो तीन पुस्तालाई पुग्ने सम्पत्ति उनले जोडेका छन् । प्रचण्ड र माओवादीको खुंखार विरोध गर्ने नेतामा पर्छन्, उनी । जुम्लाबाट माओवादीका नेतालाई हराएर संसद्सम्म आए । तर, उनको पनि उही पारा देखियो । अहिले आएर उनले पनि प्रचण्डलाई नै मतदान गरेका छन् । सबैको राजनीति तहसनहस बनाएर माथि पुग्ने नेता बनेका छन् प्रचण्ड र देउवा ।

पाँच वर्षपछिको चुनावमा पहिलो पार्टी कांग्रेस र दोस्रो पार्टी माओवादी हुन्छ । अन्य त बलीको बोका मात्रै बने । कांग्रेस र माओवादीको विरोध गरेर संसद् छिरेका रवि लामिछाने र ज्ञानेन्द्र शाहीजस्ताको हालत पाँच वर्षपछि देखिन्छ । कुन नेताले के बोल्यो ? कस्ता काम गर्यो ? भनेर सोचविचार गरेर बसेका हुन्छन् । त्यसको नतिजा जनताले चुनाव आएपछि दिन्छन् । एमालेका महेश बस्नेतलाई नै उदाहरणको रुपमा लिऔं । उनले भन्ने गर्थे,‘एमालेको नेता मै हुँ । एमाले नै मैले चलाएको हुँ । केपी ओली पनि मै हुँ ।’

भक्तपुर क्षेत्र नम्बर २ मा मैले यत्रो विकास गरे भनेर मिडियाबाजी गर्दै हिँड्ने व्यक्ति अहिले घरमा थन्किएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई गाली गरेको नतिजा उनले गत निर्वाचनमा पाइसकेका छन् । चुनाव हारेपछि उनी घरबाट बाहिर निस्किएका छन् । हिजो ठूल्ठूला दाबा गरेका उनी अहिले आएर लज्जित बन्नुपरेको छ । उनकै बाटोमा हिँडिरहेका छन् अन्य पार्टीका नेताहरु । एमाले, राप्रपा र रास्वपाका नेताहरु पनि घरमै थन्किन्छन् ।

३२ सीट ल्याएको पार्टीको अध्यक्ष अहिले देशका प्रधानमन्त्री छन् । पहिलो नम्बरमा आएको पार्टीसमेत प्रचण्डकै पछिपछि हिँड्ेको छ । प्रचण्डले यसरी अन्य पार्टीको राजनीति खाइदिन्छन् भनेर कसैले पनि सोचेका थिएनन् । आधाआधा कार्यकाल कांग्रेस र माओवादीले बाँडफाँड गर्छ भनेर जनताले सोचका थिए । त्यस्तै, सभामुख, उपसभामुख, राष्ट्रपतिको भागबण्डा पनि त्यसरी नै होला भनिएको थियो । तर, ओलीले जालो हालिहाले । उनले आफूपट्टी ताने तर त्यो केही दिनका लागि मात्र हुने भयो ।
कांग्रेसले प्रचण्डलाई विश्वासको मत नदिएको भए ओली सफल हुन्थे । तर, परिस्थिति फेरिएको छ । ओलीसंग नैतिकता छ भने सरकारबाट हटेर विपक्षमा बस्नु नै उचित हुन्छ । प्रचण्डले ओलीलाई धोका दिने निश्चित छ । कुनै पनि पद एमालेले पाउने छैन् । अब उही पूरानो गठबन्धन फर्किन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *