विचार

राजनीतिक अहंकारमा हुर्किदै गएको भोगनीति

बूढापाकाले भन्ने गर्छन् अति गर्नु तर अतिचार नगर्नु । यो भनाई आफैमा गहिरो अर्थ बोकेर आएको छ । यहाँ अति भन्नाले सहन सक्ने सम्मको अवस्थाको संकेत गर्दछ र अतिचार भनेको सहन र धैर्य गर्न नसक्ने अवस्था आर्थात परिस्थिति वा काबुभन्दा बाहिरको अवस्थालाई संकेत गर्दछ । नेपालको राजनीतिको पहिलो पुस्ता करिब अन्त्यको अवस्थामा पुगेको छ । जसले नेता र भगवानको बीचमा खासै फरक देखेन । आम रुपमा नेता भनेको आवाजविहीनहरुको आवाजको प्रतिनिधित्व गर्ने निष्कलंक, निस्वार्थ रुपले समाजसेवामा क्रियाशील प्रतिनिधि पात्र हो । दिनहीन, गरीब, दुखी पिछडिएको वर्गसमुदाय, महिला, दलित तथा दूरदराजमा कष्टप्रद जीवन विताईरहेका नागरिकहरुको आवाज बोकेर हिड्ने, उनीहरुको चुलोचौको, भोको पेट र नांगो शरीर अनि दबिएकाको स्वरलाई अहोरात्र बोकेर हिड्ने जीवित र प्रत्यक्षदर्शी भगवानको रुपमा नेताको पहिचान थियो । जनताकै घरमा बसोबास गर्ने, जनताकै भान्सामा पाकेको खाना खाने, जनताकै बीचमा हिड्ने र जनताको दुख,पीरमार्कालाई आफ्नो दुख सम्झिएर जनताकै लागि आफ्ना समस्त इच्छा चाहना, परिवार, सम्पत्ती त्यागेर हिड्ने पात्रको रुपमा नेताप्रतिको जनताको विश्वास, आस्था र समर्पण अगाध हुन्थ्यो । त्यो विश्वास, आस्था र समर्पण बुझेको नेतृत्व वर्तमान नेपालको राजनीतिक बजारमा पहिलो पुस्तामा जबरजस्त दर्ज हुँदै गएको छ तथापि आफ्ना विचार र ब्यवहारलाई अहंकारमा बदल्दै गलत राजनीतिक संस्कारको विजारोपण गर्दै गइरहेको छ ।


विगतमा नेतालाई गाउँले चिन्दथ्यो, गाउँलेहरुले चिन्दथे । नेताले बोलेको बोली र गरेको कार्यमा सिंगो समाजको ऐक्यबद्धता रहन्थ्यो । शहर र काठमाण्डांैले नेता चिन्दैनथ्यो जसको परिणाम राजनीति गाउँकेन्द्रित थियो । २०४८ साल भन्दा अगाडिको नेतृत्व सम्म आईपुग्दा पनि नेता प्रतिको सद्भाव र समर्पण अधिक थियो । नेताहरुसँग विचार र संस्कार थियो, पेसा थिएन । इज्जत, मान मर्यादा र सामाजिक प्रतिष्ठा थियो । आफ्नो विचार र ब्यवहारले जनताको मन जितेर मतदान गर्ने राजनीति हुर्किएको थियो । नेता र जनता बीचमा यति धेरै भावनात्मक सम्बन्ध थियो जुन अक्षर र शब्दभन्दा धेरै गुण माथि थियो । अस्पतालको बेडमा छट्पटाइरहेको बिरामीका लागि आफ्नो नेताको उपस्थितिले विरामीको दुखाई आधा कम हुने अवस्था थियो । गरीबीको मार खेपीरहेका दिन दुःखीहरुको मुहारमा नेताको एक शब्दले खुशी प्रवाह गर्ने अवस्था थियो । शत्ता, शक्ति, पद, प्रतिष्ठा गौंण मानिन्थे जसले गर्दा जनता र नेता विचको दूरी मानवीय सम्बन्धका आधारमा परिचालित हुन्थ्यो ।


विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शमशेर,गणेशमान सिंह, कृष्णप्रसाद भटराई पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता निस्वार्थ र निष्कलंक नेताहरु जसले कहिल्यै कसैसामु घुँडा टेक्नु परेन । नेपालीहरुको शीर निउराउने काम गरेनन । जति समय बाँचे देश र जनताको हितका लागि बाँचे र जे गरे देश र जनताको भलाईका लागि गरे । कति सुन्दर पल थियो, आफूलाई प्राप्त भएको सर्बोच्च कार्यकारी पद हाँसीहाँसी आफ्ना सहकर्मीलाई सुम्पिएको क्षण । कति उचो सोच थियो मदन भण्डारीको कम्युनिष्ट पार्टीभित्र प्रचलन नै नभएको अध्यक्ष पदको सृजना गरी मनमोहन अधिकारीलाई कम्युनिष्ट पार्टीको अध्यक्ष बनाई मातहतमा बस्न तयार रहने कति समृद्ध सोच र दृष्टिकोंण थियो त्यस समयका नेताहरुमा । यी र यस्ता नमुना दृष्टान्तहरुलाई प्रत्यक्ष रुपमा देखेका भोगेका र अनुभव समेत गरेका जबरजस्त पहिलो पुस्तामा बिराजमान राजनीतिक दलका बर्तमान नेताहरुको मनस्थिति र सोच कहिलेबाट स्खलित भयो र नेपालमा राजनीतिको नाममा भोगनीतिको विकास हुन थाल्यो । अब चौतर्फी रुपले केलाउन जरुरी छ । राजनीति देशका भूगोलसँग जोडिएको हुन्छ, राजनीति देशका अर्थशास्त्रसँग जोडिएको हुन्छ, राजनीति देशका इतिहाससँग जोडिएको हुन्छ, राजनीति देशका मूल्यमान्यता र परम्परासँग जोडिएको हुन्छ, राजनीति देशका संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ, राजनीति देशका पद्धति र प्रणालीसँग जोडिएको हुन्छ र राजनीति देशका पुर्खाहरुको रगत र पसिनासँग जोडिएको हुन्छ । यी र यस्ता सबै सवाल र सन्दभलाई एकाकार गर्दै राज्य सञ्चालन प्रकृया अघि बढ्न सक्यो भने मात्र बास्तविक अर्थमा राजनीतिको विजय सुनिश्चित हुँदै जान्छ यदि त्यस्तो गतिमा जान सकेन भने वर्तमान श्रीलंका र नेपाल जस्ता देशहरुमा भोगनीतिको विजय हुन्छ ।


देशमा गणतन्त्रको आगमनसँगै हुर्किएको नवसामन्तबाद, नवधनाड्यहरुको चलखेल, धुसखोरी र कमीसन, भ्रष्टाचार, बेथिति र राजनीतिक नेता तथा कार्यकर्ताहरुमा मौलाएको अहंकारी चरित्रले ब्यवस्था माथि नै प्रश्नचिन्ह खडा गरेको छ । विगतमा कोही त भने जहाजमा हरर,कोही त भने पसिना तरर हाम्रो नेपालमा भनेर घरघरै भाका हालेर गीत गाउँदै हिड्नेहरु आज जहाजमा सरर सयर गर्ने अवस्थामा छन् भने तिनै गीतांगेहरुलाई गास बास र कपासको ब्यवस्था गरि घरमा लुकाउने जनाताहरु आज पसिना चुहाउन बाध्य छन तर बिडम्बना हिजो आफ्नो र परिवारको ज्यान बलीबेदीमा चढाएर आफ्ना नेताहरुको सुरक्षागर्ने परिवारहरुलाई आज तिनै नेताहरुले चिन्न छाडिसकेका छन् । नयाँ नेपालका हवाला दिएर मञ्च भत्किने गरी उफ्रिएर भाषण गर्ने नेताहरुको जीवनस्तर सुध्रिएको छ । उनीहरुको भाषा गाउँको भन्दा फरक भएको छ, गाउँका गोठ र मतानहरुमा गुन्ध्री ओडेर सुत्नेहरु आज एसआराम सहितको बंगालामा पुगेका छन । उनीहरुले चोक चोकमा बिचौलिया राखी कमिसनको बार्गेनिङमा कार्यकर्ता खटाएका छन जसले लोकतान्त्रिक गण्तन्त्रलाई यति धेरै कुरुप बनाइदिएको छ कि जनता यो ब्यवस्थाको नाम समेत उच्चारण नगर्ने अवस्थामा पुगेका छन् ।


देशमा नीति बनेका छन् नेतृत्व अदूरदर्शी छ । कानुन बनेको छ कार्यान्वयन हुदैन । राजनीति भनेको नीतिका आधारमा राज्य सञ्चालन गर्ने ब्यवस्था हो तर नेपालमा दिनप्रतिदिन राजनीति असफल बन्दै भोगनीतिको अभ्यास विस्तार हुँदै गएको छ । भोगनीतिमा राज्यका श्रोत साधनहरुका दोहन गरी भोग गर्नका लागि नीति बनाइएको हुन्छ र त्यही नीतिको कार्यान्वयन गरी डाडुपन्यु हातमा लिने समुहले तिनै श्रोत हरुको अनाधिकृत रुपले भाइको नाममा, बहिनी ज्वाइँका लाममा, साला, साली, सासू ससुरा साला जेठान आदिका नाममा भोग गरिरहेकोका हुन्छन । जनता दैनिक प्रश्न उठाइरहेका छन उनीहरुलाई मौखिक विकासको नशामा लठ्ठ बनाइएको छ । दलहरु भित्र तहगत गुटहरु ब्यवस्थित रुपले झँंगिदै गएका छन । आफ्नै राजनीतिक दलभित्र गुट नमिल्नेहरु पराई बन्दै गएका छन । राजनीतिका नामामा आफ्नो सर्वश्वहरुण भएर कष्टपूर्ण जीवन विताउन बाध्य परिवारहरु आज चालीसौँ वर्षपछि पनि काठमाण्डांैमा एउटा छाप्रो हाल्न नसकेर कोठामै जीवन धान्न बाध्य छन तर पछिल्लो समयमा राजनीतिभित्र चुलिएको ठेकेदारीको बिस्तारसँगै राजनीतिमा लागेको दशकभित्रै घरघडेरी, गाडी घोडा सहित सुविधासम्पन्न बंगालाको मालिक बनेका छन । चुनावमा टिकट किन्न तिनै सक्षम हुन्छन, नेताहरुलाई विदेश शयर गराउन तिनै तत्पर रहन्छन, चुनावलाई अनधिकृत उपयोग गर्दै मत खरिद गर्न उनीहरु नै सक्षम रहने अवस्था मौलाउँदै गएकोले निष्ठा, त्याग, सिद्धान्त, प्रणली, विधि, पद्धति धारासायी बन्दै गएको कारण स्वतन्त्र, अभियन्ता र समाजसेवीको भेषमा टाउको उठाउनेहरु यत्र तत्र सर्बत्र देखिन थालेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *