नेता : जसले व्यक्ति र समाजलाई असल ज्ञान,असल बिचार दिन्छ वा प्रवाह गर्छ,जसको बिचारले व्यक्ति असल बन्दछ, समाज पनि असल र सुखी बन्दछ ,राष्ट्र समृद्धि बन्दछ भने उसलाई नेता भनिन्छ । याहाँ अर्थात हाम्रो समाजमा नेता भन्ने शब्दको अप ब्याख्या भइरहेको छ । हाम्रो समाजमा जो भ्रष्ट,बेइमान,ढांट छल,जालझेल गरि जनताको नाम जपेर जनता माथि नै शोषण गर्दछ । उक्त शोषण मार्फत आफू लाई उपल्लो दर्जाको व्यक्ति ठान्दछ उसलाई नेता भन्ने गरिन्छ । वास्तवमा यी नेता होइनन् । यी बिल्कुल राष्ट्रिय ‘ठग’ हुन । ‘ठग’हरुले आफुलाई स्वघोषित नेता मान्दछन । नेता नकहलिएसम्म पुनः जनता ठग्न र झुट बोलेर जनतालाई भ्रम छर्न पाइन्न । नेपालका सन्दर्भमा भन्ने हो भने असल नेता सिद्धार्थ गौतम बुद्ध, स्व.राजा पृथ्वीनारायण शाह र स्व.बीपी.कोइराला यो देशका नेता मान्न सकिन्छ । गौतम बुद्धलाई अहिले संसार भरिका मानव जातिले भगवान मान्दछन । भगवान यसकारणले मान्दछन कि उनको बिचार वा उपदेशले विश्वका मानव जगतलाई अहिंसा ,शान्ति र सत्मार्गमा डोर्याएको छ । सायद भारतका महात्मा गान्धीले बुद्ध कै उपदेश अनुशरण गरेको हुनुपर्दछ । गौतम बुद्धको उपदेशले असल मानव बन्न सिकाएको छ । राजा पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरि नेपाल भन्ने देशको पहिचान बनाउन सफल भए भने स्व.बीपी कोइरालाले असल व्यक्ती र असल समाज हुनको लागि असल बिचारको खाँचो पर्दछ भन्ने छाप छोडेर गए ।बीपीले भन्नु भयो मानव आफै स्वतन्त्र चेतनशिल प्राणी हो। उसको आफ्नो चेतना र विवेक हुन्छ । विवेक भएको प्राणी लोकतान्त्रिक ,असल र सभ्य हुन्छ । त्यो ब्यक्तीले मात्र असल समाज निर्माण गर्न सक्छ भन्नू भयो । जुन बिचार इ.सन ४००.पुर्वका मानव शास्त्रीहरु,दार्शनिकहरुले परिकल्पना गरेका थिए ।
सत्ताः सत्ता यस्तो आकर्षणको केन्द्रविन्दु रहेछ जुन व्यक्तिले त्यो स्थान हासिल गर्दछ वा सत्ता प्राप्त गर्दछ उसले अर्कोपटक सत्ता प्राप्त गर्न आफ्नो आचरण ,नैतिकता,संस्कार,इमान्दारिता सबै भुल्दो रहेछ । अनि आफ्ना बग्रेल्ती पूर्व गल्तिहरुलाई ढाकछोप गर्न फेरि राष्ट्र बदल्ने,समाज बदल्ने नयाँ नयाँ भ्रामक कुरा समाजमा छरिरहने गर्दो रहेछ । यो बिशेष गरि गरिब,बिपन्न मुलुकहरूमा देख्न र भोग्न पाइन्छ । व्यक्तिको गलत संस्कार र आचरणका कारण कुनै पसिन राष्ट्र अकल्पनीय दुःख कष्ट र संकटमा फस्दो रहेछ । जबसम्म राजनीतिमा भ्रष्ट,बेइमानी असक्षम व्यक्ति हावी भैरहन्छ तबसम्म राज्य संचालनमा इमानदार ,सक्षम र कुशल ब्यक्ति राज्यको अवसरबाट बञ्चित भैरहन्छ । जसको परिणाम २०४६ सालदेखि हालसम्म आइपुग्दा पनि जनताको जीवनस्तर जस्ताको त्यस्तै हुनु,राष्ट्र झनझन् गरिबी बन्दै जानु राजनीतिक दलका नेतृत्व गर्नेहरुको असक्षमताका उपज हुन । तथ्यांक अनुसार देश पुरै ऋणमा डुबेको छ । आयात बढेको छ । निर्यात घटेको छ । उत्पादन छैन,रोजगार छैन । यी यावत तथ्यांकसंग हामी जानकार हुदाहुदै पनि गैरजिम्मेवार र बेखबर छौं। सत्तामोह भन्दा जनता प्रति उत्तरदायी राज्य सञ्चालक भएभने मात्र नागरिक सुखी र राष्ट्र समृद्धि हुनसक्छ । यदि विगत देखि अहिलेसम्म यस्तै अपराधीक र भ्रष्ट शासक भैरह्यो भने नागरिकले व्यापक दुःख र कष्ट ब्यहोर्नु पर्ने हुन्छ । शासकका भ्रष्ट शासकीय शैली र मनोवृत्तीका कारण तीन करोड नेपाली जनता यसको शिकार हुनुपरेको छ । यसका लागि सम्पूर्ण देशभक्त,इमान्दार नागरिकले खबरदारी जारी राख्नुपर्छ । राज्य आफै नागरिकलाई पीडा दिने, र नागरिक, शासकद्वारा पीडित हुने भएमा त्यो देशमा नागरिक शासन भएर अधिनायकवादि शासन वा एकाधिकारवादी,स्वएच्छाचारि शासन हुन्छ । अपराधी पुरस्कृत भइरहेकै हुन्छ,निर्दोष दन्डित भइरहेकै हुन्छ । लोकतान्त्रिक प्रणालीमा निश्चित संस्कार,विधि र पद्धतिहरु हुन्छ्न । जसको सीमाभित्र रहेर सरकारले नागरिकलाई सुशासन दिनुपर्ने हुन्छ र स्वयं सरकारले पनि नियम कानुनलाई पालना गरेको हुनुपर्छ । राष्ट्र र लोकतान्त्रिक समाजलाई जोगाइराख्ने आधार भनेको शक्तिमा रहेका हरुलाई प्रश्न सोध्नु हो । प्रश्न सोध्नु भनेको खबरदारी गर्नु हो । यदि शासक प्रति औंला ठड्याइन्छ भने उसले आफूलाई सुधार्ने अवसरो रुपमा लिनुपर्दछ । शासकले फरक प्रश्नलाई सहन सक्दैन र दमन गरिन्छ भने राज्य कमजोर मात्र होइन छाडा तन्त्रमा परिणत हुन्छ । निरंकुश शासकलाई करेक्सन गर्न वा सहि बाटोमा डो¥याउन जर्मन दार्शनिक “फेड्रीक निन्त्सेले भनेका छन–‘तिमिहरु तिनै प्रश्न सुन्नेछौ जुन प्रश्नको जवाफ दिन र खोज्न तिमी लायक छौ’।छापा र नागरिक समाज सधै प्रतिपक्षी हो । सधै प्रश्न सोधिरहनु पर्दछ । सत्तामा जुनसुकै व्यक्ति वा दल आओस प्रेसले सत्ता संचालकको गल्ती र कमजोरीको प्रश्न उठाउने हो। सत्ता पनि सहि बाटोबाट हिड्यो भने सहि गन्तव्यमा पुग्दछ । त्यसकारण शक्तिपृथकिकरणको सिद्धान्त अनुसारनै राज्यका तीन वटा अंगहरु न्यायपालिका ,कार्यपालिका र व्यवस्थापिकाको व्यबस्था गरिएको हो। त्यसका लागि प्रेसले वाच डगकोको भूमिका खेल्ने हुनाले नै प्रेसलाई राज्यको चौथो अंग भनिएको हो।सत्तामा बस्ने शासकको गलत कदम र अनियमितताबिरुद्ध खबरदारी गर्ने राज्यको बलियो हतियार प्रेस हो र यसको सम्मान गर्नु लोकतान्त्रिक सरकारको पूर्ण दायित्व हो।
नैतिकता : वर्तमान राजनीतिक दल वा नेतासँग नैतिकता देखिदैन।यदि राज्य सञ्चालकसँग नैतिकता भएन भने ब्यक्ति वा संस्था स्वत भ्रष्ट र स्वएच्छाचारी भएर जान्छ । जस्को प्रतिफल राष्ट्र र नागरिकले भोग्नुपर्ने हुन्छ । बीपी कोइरालाले कल्पना गर्नुभएको नैतिकता सहितको सुराज्यको सपना बीपीवादी भन्नेहरूले बिर्सिसकेको जस्तो देखिन्छ । सुराज्यको शाब्दिक अर्थ असल बिचार,असल आचरण,नैतिकवान,इमान्दारिता र निश्वार्थ समाजिक सेवाभाव भन्ने बुझिन्छ । जब समाज सभ्य हुन्छ तब राज्य सुराज्य बन्दछ । कुनैपनि इतिहास पुरुष (नैतिकवान नेता वा ब्याक्तित्व )राज्य परिवर्तनको संवाहक हुन्छ । राज्य र समाजका धेरै घटना र परिस्थितिलाई प्रभावित पारेको हुन्छ । इतिहासकार,कार्लाइसका अनुसार घटनाहरु इतिहास पुरुषको माध्यमबाट भएका हुन्छन । उसको वरिपरि उसका बिचार र निर्णयहरु इतिहासकै पानामा अंकित हुन्छन । त्यसैले बीपीवाद अहिलेसम्म जीवित छ । बीपीको असल बाटो नै सुयोग्य र सुबिचार हो । बीपी राणादेखि राजा महेन्द्रसम्मको निरंकुश राज्यसत्तासँग असहमति जनाउँदै लोकतन्त्र पक्षधरहरुको आस्थाको पुञ्जमा रूपान्तरित भए । जेल र निर्वासनमा भोगेका कष्टलाई सहर्ष स्वीकार गरे। बीपी एउटा संघर्षशील र कष्टकर यात्रामा हुनुहुन्थ्यो । तापनि निरन्तर नैतिकताको लडाइँ लडिरहनु भयो । उहाँ नैतिकताको विजयी बन्नु भयो। तर बर्तमान बीपीका अनुयायीहरु नैतिक पतनको बाटोमा छन।सत्ता र शक्तिमा पुग्नका लागि जस्तो सुकै अनैतिक कार्य गर्न पछि पर्दैनन्।जुन बेला जस्तोसुकै खराब बिचार बोकेका दल वा समूहसँग अप्राकृतिक सम्झौता गर्न हिच्किचाउदैनन। स्थानीय तहदेखि प्रधानमन्त्री तहसम्म जसरी पनि छिटोभन्दा छिटो आर्थिकोपार्जन गर्नुपर्दछ भन्ने संस्कार र मानसिकता विकसित भएको छ। हाम्रो समाज त्यसैको पछिपछि कुदिरहेका हुन्छन।जसरी बीपी ब्यक्ति ,समाज र राज्यको रुपान्तरणको लागि सुराज्यको कल्पना गर्नुभयो । यी कुराहरु बीपीलाई सुक्ष्म रुपमा अध्ययन गर्नेहरुले सुराज्यको व्यापक ब्याख्या र विश्लेषण हुनुपर्ने हो । तर, त्यतातिर कसैको ध्यान गएको देखिदैन । सुशासन भन्नाले असल,राम्रो,उच्च,सुन्दर शासन भन्ने बुझिन्छ । २०४६ साल पछाडी प्रजातन्त्र ,लोकतन्त्र ,गणतन्त्र जे–जे नामको तन्त्रको नाम दिएपनि शब्दमा लिपिबद्ध गर्दैमा जनतामा कुनै परिवर्तन आएको देखिएन । आर्थिक प्रगतिको आधार तयार हुनुपर्नेमा तथ्यांक ओरालो गतितिर झरेको छ । प्राप्त राजनीतिक प्रणालीद्वारा समुन्नत राष्ट्र निर्माण गर्छौं भन्ने दलका खोक्रो प्रतिबद्धता झुटो रहेछ भन्ने आम नागरिकको बुझाइ छ । त्यसकारण राज्य सुराज्य नभएर कुराज्य अर्थात भ्रष्ट र अपराधी राज्य बन्न पुगेको छ । यसको जिम्मेवार यिनै राजनीतिक दल नै हुन । ति दलका नेता नै हुन । लोकतान्त्रिक पद्धतिद्वारा मानवीय मूल्यको आधारमा सामाजिक न्याय हुँदै समाजवाद हो । तर यहाँ आ–आफ्नो अनुकूलको मनगढन्ते समाजवाद हावी छ । राज्य प्रगतिशील न भएर प्रतिगामी बन्न पुगेको छ । प्रगतिशील भन्नाले अगाडिको बाटो अर्थात प्रगति उन्मुख हुनुपर्ने होइन र ? अग्रगामी प्रगतिशील भन्दैमा भाषण गर्दैमा अग्रगामी प्रगतिशील नहुने रहेछ । त्यो त व्यवहारमा देखिनु पर्दछ । किन नेपाली जनता ले त्यो अनुभूति गर्न पाइरहेका छैनन् ?जनताको प्रश्न यो हो । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको बाटो हुँदै सामाजिक रुपान्तरण सहित सुराज्य निर्माण हुनुपर्छ । जब सत्तामा बस्नेहरु राष्ट्र र जनता प्रति पूर्ण जवाफदेही हुन्छन तब नागरिक र समाजले नैतिक जिम्मेवारी वहन गर्न कर लाग्दछ । नैतिकता बिनाको राजनीतिले समाज र राष्ट्र नै अनैतिक भ्रष्ट बाटो मा रुपान्तरित भएको छ ।
बौद्धिकताः बौद्धिकता विद्वान, विशेषज्ञ जे नाम र विशेषणले सम्बोधन गरेपनि उसको विद्वताले असल मानिस,असल समाज निर्माण भयो कि भएन त्यो महत्वपूर्ण कुरा हो। बौद्धिकहरुले पनि आ–आफ्नो दर्शन र बिचार का आधारमा निजि र नश्लिय व्याख्या गर्ने गर्दछन । हिंस्रक चेत बोकेका विद्वानहरुले हिंसा को वकालत गरिएको पाइयो । अधिनायकवाद बिचार बोकेका विद्वानहरुले एकाधिकार एकदलीय वाद नै ठीक हो भन्ने व्याख्या गरेको पाइयो। यिनीहरु लाई कुन र कसरी विद्वान भन्ने ? हिंसाले सम्मुन्नत समाज निर्माण भएको पाइएन । बरु बिनास र बिग्रह उत्पन्न गराउदछ । बौद्धिकता भनेकै असल ज्ञान भएको असल मानिस भन्ने बुझ्नुपर्छ । उसको ज्ञानको प्रभावबाट अर्को असल ब्यक्तिको निर्माण र असल समाज निर्माण हुन्छ र हुनुपर्दछ । हाम्रो जस्तो गरिब र बिपन्न मुलुकमा हिंसा र अपराधको ज्ञान आर्जन गरेका बौद्धिक ब्याक्तित्वहरु नभएका होइनन । त्यो ज्ञानले असल व्यक्ति र समाज बन्छ कि बन्दैन? तथापि उनीहरु किन त्यो बाटोमा लाग्छ्न,लागिरहेका छन ? बौद्धिकताले हिंसा नगर,अपराध नगर भन्ने सिकाउछ । सामाजिक भावनाको बिकास गराउछ । सामाजिक भावना भनेको समाजमा मिलेर बस्ने हो । बौद्धिकताले असल व्यक्ति बन्न प्रेरणा मिल्नु पर्दछ । प्रेरणा कहाँ बाट प्राप्त हुन्छ त ? जो– जो हाम्रा श्रोतहरु हुन, श्रोत भनेकै अघिल्लो पुस्ताका बिध्वान ब्याक्तित्वहरु लाई मान्न सकिन्त । जसरी सुकरात ले इ.सं.४६९ मा एथेन्समा जन्मिएर समाजमा युवाहरूलाई राजनीति र व्यापारमा संलग्न गराउन सकिन्छ भनेर घरघरमा पढाउदै हिंड्ने गर्दथे । उनी शिक्षक थिए । जसलाई सोफिस्ट भनिन्थ्यो । सोफिस्ट भनेको शिक्षकहरुको समुह थियो । सोफिस्टहरुको समूहले कसरी आत्मनिर्भर बन्ने भन्ने खोज तथा अनुसन्धानमा लागे । आत्मनिर्भर बन्नको लागि ब्यापार ब्यवसाय गर्नुपर्ने रहेछ भन्ने निश्कर्षमा पुगे । ब्यापारमा सफल हुने नीति सिकाउदै हिंडें । त्यही दर्शन र बिचारद्वारा संसारभर कृश्चियन हरुले राजनीतिमा पनि सफलता हासिल गरे र संसारमा आफ्नो प्रभुत्व जमाए । आज ती मुलुकहरू सभ्य,सम्पन्न र विकसित छन । तिनै युरोपियनहरु नै सम्पन्न छन। आखिर असल ब्यक्तिको चरीत्र र आचरण युक्त राजनीतिले नै सुखी नागरिक र सम्पन्न राष्ट्र निर्माण गर्न सकिन्छ । यसमा बौद्धिक ब्याक्तित्वको ज्ञानको अहम् भूमिका रहन्छ । विद्वताको जाँच गर्ने कसी भनेको असल सुबिचारको कार्यान्वयन हो । त्यसको अभावमा देश पिल्सिरहेको छ । हालको नेपालको विद्वानहरुको बौद्धिक बिचारले देश झनझन् अज्ञानता र गरिबी तिर लम्किरहेको छ । प्रत्येक बौद्धिक भन्ने नेपालीहरुले पहिला आफ्नो सोचमा परिवर्तन गर्नु आवश्यक छ । पहिलो राष्ट्र त्यसपछि आफू र आफ्नो परिवार अनि दल हुन ..।
(लेखकका नितान्त निजि विचार हुन)




