रिबन

ओली अहंकारको साइज अझै उस्तै

काठमाडौं । स्थानीय तहको निर्वाचनको एक साताअघिसम्म पनि एमाले अध्यक्ष केपी ओली चुनाव हुँदैन, यो सरकारले चुनाव गराउँदैन भनेर जनमत भड्काउँदै थिए । चुनावी सभाकै क्रममा ओलीले त्यसो भन्दा धेरैले पत्याएका पनि थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी पनि चुनाव गराउनुपर्ने पक्षमा थिए । र, वैशाख ३० गते चुनाव सम्पन्न भयो पनि ।

तर पनि एमाले ओलीले भन्न छाडेनन् वैशाख ३० गते यो सरकारलाई ठूलो खड्गो छ । गठबन्धन ढल्छ । तर त्यसो भएन । चुनाव पनि भयो । गठबन्धन दलबीच मित्रवत प्रतिस्पर्धा भयो । स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । कांग्रेस पहिलो, एमाले दोस्रो पार्टी बन्ने संकेत देखिएको छ । मत परिणाम आउने क्रम जारी रहेकै बेला एमालेले सोमबार विज्ञप्ति जारी गर्दै चुनावमा योजनाबद्ध धाँधली गरेको आरोप लगाउन पुग्यो । उसले १५ बुँदे आरोप लगाउँदै आफ्नो पार्टीलाई योजनाबद्ध रूपमा हराइएको भन्नुले पनि ऊ कति पराजित मानसिकताको अवस्थामा रहेछ भन्ने पुष्टि गर्छ ।

सीबी खड्का

चुनावी परिणामपछि धेरैले ओलीको दम्भ र अहंकारमा धक्का लाग्ने अनुमान गरे पनि अझै देखिएको छैन । अझै पनि उनी अहिलेको सरकारलाई परमादेशी सरकार भन्न छाडेका छैनन् । बालुवाटारबाट बार्दलीमा खुम्चिनुको पीडा ओलीले भुलाउन सकेका छैनन् । जबसम्म प्रतिनिधिसभा र प्रदेश सभाबाट एमालेको अहंकारको साइज घट्दैन, उनको दम्भ विसर्जन नहुने धेरैको बुझाई छ ।

स्थानीय तहको मत परिणामले कांग्रेस ठूलो दल भएसँगै कम्युनिस्टबीच चाँडै तालमेल हुने धेरैको आशंका पनि छ । किनभने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्रले नेपालको राजनीतिलाई पनि प्रभाव पार्दै आएको छ । प्रचण्डको त्यही अस्थिर चरित्रलाई ओलीले दुनो सोझ्याउने अवसर पाउने अवस्था पनि छ ।

एमाले अध्यक्ष ओलीको मतदान गरेको वडा कांग्रेसले कब्जा गरेपछि उनी अतालिएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा कांग्रेसका प्रदीप कार्की प्यानलसहित विजयी भए । उनले एक हजार ५११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका विश्वराज बिष्टले एक हजार ३०५ मत पाएको निर्वाचन आयोगले जनाएको छ । अब पालिका पनि कांग्रेसले जित्ने अवस्था छ । त्यसैले उनी अर्को चुनावअघि नै अहिलेको गठबन्धन भाँड्न जे पनि गर्ने देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *