काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभामा मानवअधिकार परिषद्बाट रुसलाई हटाउने अमेरिकी प्रस्तावमा मतदान हुदैछ । ४७ सदस्यीय राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट कुनै देशलाई बहिष्कार गर्न दुई तिहाइ बहुमत चाहिन्छ । यसले मतदानमा भाग नलिने देशहरूलाई गणना गर्दैन ।
सन् २०११ मा, तत्कालीन तानाशाह मुअम्मर गद्दाफीका वफादार सेनाहरूले प्रदर्शनकारीहरूसँग गरेको हिंसापछि लिबियालाई मानव अधिकार परिषदबाट निलम्बन गरिएको थियो ।
१९३ सदस्यीय महासभामा रुसलाई निलम्बन गर्न पर्याप्त समर्थन रहेको बताइएको छ ।
प्रस्तावमाथि छलफल गर्दै संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले भनेकी छन्- ‘रुसलाई भन्नु महत्त्वपूर्ण छ कि हामीले मानवअधिकारको सम्मान गरेझैं भविष्यमा तपाईलाई जवाफदेहिताविहीन हुन दिने छैनौं ।’
समाचार एजेन्सी रोयटर्सले रूसले सदस्य देशहरूलाई चेतावनी दिदै प्रस्तावको समर्थनमा मतदान गर्न वा मतदानबाट टाढा रहनुलाई मित्र नठान्ने बताएको छ र सम्बन्धित देशसँगको द्विपक्षीय सम्बन्धलाई पनि असर गर्ने चेतावनी दिएको छ ।
रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि त्यसयता संयुक्त राष्ट्र संघको महासभाले रुसको निन्दा गर्ने दुईवटा प्रस्तावमा मतदान गरेको छ ।
युक्रेनले रुसी सेनाले बुचा सहरमा सयौं सर्वसाधारणको हत्या गरेको आरोप लगाएपछि अमेरिकाले रुसलाई मानवअधिकार परिषदबाट हटाउने प्रस्ताव ल्याउने बताएको छ ।




