रिबन

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । धेरैजसो पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ लेखिएको कार्ड झुण्डाएको देखिएको छ भने पेट्रोल भएका पम्पमा ठुलो लाइन देखिएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएसँगै शुक्रबार साँझ देखि नै काठमाडौँका पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको थियो । आगामी दिनमा पेट्रोल अभाव हुनसक्ने मनोवैज्ञानिक त्रासले मोटरसाइकल सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लागेका थिए ।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी शुक्रबारदेखि ठप्प बनाएका छन् ।

व्यवसायीको अवरोध कायम रहे पेट्रोलियम पदार्थको अभाव सिर्जना हुनसक्ने भएकाले उपभोक्ताहरू त्रासका कारण पेट्रोलियम सञ्चितमा लागेका छन् ।

भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ भने एलपी ग्यास प्रतिसिलिन्डर २७३ रुपैयाँ बढेर आएको छ ।

यता आयल निगमले भने राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थागत समन्वय समितिले राखेको मागको विषयमा समिति गठन गरेर अध्ययन भैरहेको जनाउदै ढुवानी अवरोध नगर्न आग्रह गरेको छ । साथै निगमले शनिबार पनि बिक्रि कार्यालय र डिपो खुला रहने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *