रिबन

विवेकशील साझाको कार्यालयमा तनाव, एक-अर्काविरुद्ध नाराबाजी

काठमाडौं । विवेकशील साझा पार्टीको कार्यालय बखुण्डोलमा असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेपछि रवीन्द्र मिश्र पक्षले अवरोध गरेको छ ।

कार्यालय परिसरमा पत्रकार सम्मेलन शुरु हुँदै गर्दा मिश्र पक्षले नाराबाजीसहित अवरोध गरेको हो । त्यसक्रममा तैनाथ सुरक्षाकर्मीले सो पार्टीका नेता कार्यकर्तालाई बाहिर निकालेको छ । मिश्र पक्षले गुटको भेला गर्न पाइँदैन भन्दै चर्को नाराबाजी गरेको थियो भने सो क्रममा असन्तुष्ट पक्षले पनि संस्थापनविरुद्ध नाराबाजी गरेको थियो ।

सो पार्टीका निर्देश सिलवाल नेतृत्वको समूहले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो समूहले रवीन्द्र मिश्रविरुद्ध पत्रकार सम्मेलन गर्न लागेको भन्दै मिश्र पक्षले पत्रकार सम्मेलनमा अवरोध गरेको हो ।

यसैबीच मिश्र समूहका नेता तथा प्रवक्ता शरदराज पाठकले पार्टीका केही अराजक तत्वहरुले मुठभेठ निम्त्याएको आरोप लगाएका छन् । ‘उहाँहरुले केही दिन अघि पनि अध्यक्षविरुद्ध विभिन्न षडयन्त्र गर्नुभएको थियो, आज पनि त्यसैलाई निरन्तरता दिने प्रयास भयो’, उनले भने बाहिरका मानिसहरु ल्याएर तर्साउने र धम्क्याउने प्रयास भयो ।’

उनले असन्तुष्टि र मतभेद रहे कानूनी प्रक्रियाबाट समाधान गर्न सकिने बताएका छन् । उनले विवेकशील पार्टी बैकल्पिक शक्ति रहेको भन्दै यसबाट यस्ता क्रियाकलापबाट विचलित नहुने बताए । अहिले पार्टी कार्यालय परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विवाद बढेपछि केन्द्रीय कार्यलय व्यवस्थापन विभागले सूचना निकालेर तत्काललाई कार्यलय बन्द गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *