काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस मुगुको पार्टी कार्यालय भवन उद्घाटन गरेका छन । नवनिर्मित दुई तले ‘बीपी स्मृति भवन’ सभापति देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन ।
छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर २ गमगढी बजारमा १ करोड ६ लाखमा पार्टी कार्यालय भवन निर्माण गरिएको पार्टी सभापति ऐनबहादुर शाहीले जानकारी दिए । कांग्रेस नेता एवं छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीको विशेष पहलमा निर्मित भवनको भुई तलामा स्टेज सहितको सभाहल र माथिल्लो तलामा सभापतिको कार्यकक्ष सहित ५ कोठा छन । निर्मित वीपी स्मृति भवन छयाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा बनेको हो ।

नेपाली कांग्रेस मुगुका संस्थापक सभापति एवं पूर्व जिविस सभापति बखत बहादुर शाहीको सालिक अनावरण आजै मुगु कांग्रेसले गरेको छ । छायाँनाथ रारा नगर प्रमुख शाहीको सक्रियता र नगरपालिकाको आर्थिक सहयोगमा साढे ६ लाख लागतमा सालिक निर्माण गरिएको हो ।

तस्वीर : पुष्प विक्रम शाही




