गठबन्धन गरेर निर्वाचनमा जाने कि एक्लै जाने भन्ने विषयमा कांग्रेसभित्र विभिन्न मतहरु बाहिर आएका छन् । केही, राजनैतिक रुपमा सुरक्षित ठाउँमा उभिएका युवा नेताहरु एक्लै जानू पर्ने भनेर पपुलर गफ दिइरहेका छन् । एक पटक यथास्थितिको अध्ययन नगरी लोकप्रियताका पछि लाग्दा नसोचेका परिणामहरु भोग्नुपर्ने हुन्छ ।
हामीले संविधान निर्माता सुशील कोइरालालाई पुनः प्रधानमन्त्रीमा उम्मेद्वार बनाउनु र हराउनु । भारतले गरेको नाकाबन्दीमा जिव्रो चपाउनु, ख्याति कमाएकि प्रधान न्यायधीशलाई महाअभियोग लगाउँनु । अन्तराष्ट्रिय सम्वन्धमा अपरिपक्क व्यक्तिवादी र हठी केपी ओलीलाई राष्ट्रवादका नाममा उत्तेजित गराई कुटनैतिक चरण नै नटेकी एक्कासी नक्सा जारी गराउँनु जस्ता गम्भीर त्रुटीहरु गरिसकेका छौं । अब पनि पपुलिजमको पछि लाग्ने हो भने फेरि पनि पछुताउनु पो पर्छ कि ? त्यसैले यथार्थ राजनैतिक धरातल सही विश्लेषण जरुरी हुन्छ ।
केपी ओलीले यति ठूलो बदमाशी नगरिदिएको भए यो मुलुक यतिखेर अफगानिस्थान वा युक्रेनको गतितिर उन्मुख भइसक्ने थियो । केपी ओलीको एकदलीय तानाशाही प्रवृतिको विरुद्ध प्रचण्ड र माधव नेपालले विद्रोह नगरिदिएको भए, वर्षौ वर्ष एकदलीय सर्वसत्तावदले मुलुकलाई धोद्रो बनाउँथ्यो । एकपटक केपी ओली (जो नेपालको राजनीतिमा कम्युनिष्ट नाम धारी पार्टीको अन्तिम प्रधानमन्त्री) ले भनेका थिए ‘कांग्रेस पार्टीको तर्फबाट इतिहासको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुनेछन् । दलाल पूँजीपति वर्गको घेराबन्दीमा सञ्चालित यो एकदलीय अधिनायकवादी सत्ता कायमै भएको थियो भने केपी ओलीको भविष्यवाणी पूरा हुँदैनथ्यो भन्न कसरी सकिन्थ्यो र ?
तपाईंहरुकातिर के कस्तो छ कुन्नी ! हाम्रोतिर त केपी पन्थीहरुको बाहुल्यता भएका स्थानीय निकायहरु अनुदानका नाममा, विपन्नको नाममा, सरकारी पैसा बाँढेर भोट किनिरहेका छन् । विकास गर्यौं भनेर जबरजस्त प्रचारबाजी गरेर जनतालाई भ्रमित पारिरहेका छन् । पार्टी सदस्यतालाई गोत्र सम्झने हाम्रो अल्पविकसित समाजको चरित्रले हत्तपत्त परिवर्तन नचाहने यो परिस्थितिमा आफू लागेको पार्टी र नेताले जतिसुकै घृणित काम गरे पनि उस्कै पक्षमा रमाउने संस्कृतिमा हुर्किएका जनताबाट न्यायको आशा राख्नु पनि गलत नजर अन्दाज हुन्छ ।
नेपाली राजनीतिको शिखरबाट गज्जवले चिप्लिएको कांग्रेस फेरि शिखरमै पुग्नको लागि टाउकाको खुड्किलो यिनै सत्ता गठवन्धनका दलहरुले दिएका हुन् । अब फेरि शिखरमै स्थायीरुपमा रहने हो भने निर्वाचनमा गठबन्धनको अनिवार्यता सहश्र स्वीकार गर्नु पर्छ । यो पटक सबै निकायमा गठवन्धन सरकार गठन हुने गरी गठबन्धन गर्नु पर्छ । पहिलाको जस्तो हसियाको चुच्चो मात्र जोडिने खालको गठबन्धन अर्थ न वर्थको हुनेछ ।
कांग्रेसबाहेकका दलहरुले पनि आफ्नो धरातलीय यथार्थलाई स्वीकार गरी आत्मा रक्षाको अवसर खोज्नु पर्छ । खास गरी निर्वाचनमा जाँदा मोर्चाबन्दी अवधारणामा जानू पर्छ । मोर्चाले साझा उम्मेद्वार तय गर्दा छनौट गरिने उम्मेद्वारको पार्टी संलग्नतालाई आधार बनाउनु हुन्न । चुनाव चिन्हको हकमा स्थानीय बाहुल्यताको आधारमा तय गर्नु पर्छ । वडाको हकमा मोर्चाका उम्मेद्वारहरु एउटै चिन्हमा लड्नु पर्छ । निर्वाचनपछि मोर्चाका उम्मेद्वारहरुलाई पुर्ववत् पार्टीमा संलग्न हुन पाउने स्वतन्त्रता सुनिश्चित गरिनु पर्छ । सकभर प्रत्येक वडामा कम्तिमा एक सदस्य मोर्चामा सामेल हुने दलले पाउने व्यवस्था मिलाउनु पर्छ ।
विपिले अवलम्वन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको जगमा कांग्रेससँग मोर्चाबन्दी गर्न रुचाउने पार्टी वा समुहलाई समेटेर मुलुक हाँक्ने फराकिलो दृष्टिकोण कांग्रेसले बनाउनु आजको ऐतिहासिक अभिभारा हो । कांग्रेसले दम्भ देखाउनु हुन्न अन्यले आचे भन्दा पाचे ठूलो भाग खोज्नु हुन्न ।




