मनोरञ्जन

फिल्मी शैलीमा दल बदल्छन् कलाकारहरु

काठमाडौ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राष्ट्रिय कलाकारहरूले समेत दल फेरबदल गर्ने गरेका छन् । यसै क्रममा नेपाली सिने क्षेत्रमा सदाबहार सुन्दरी नायिकाको उपमा पाएकी करिष्मा मानन्धर मंगलबार एमाले प्रवेश गरेकी छिन् ।

करिश्माले एमाले प्रवेश गरेसगै सामाजिक सन्जालमा प्रतिक्रिया जनाउनेको भिड नै लागेको छ ।

करिष्मा यसअघि ०७२ मा डा.बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य भएकी थिइन् । तर उनले त्यहाँ काम गर्न नसकेपछि जिम्मेवारीबाट बाहिरिएकी थिइन् । अहिले उनै करिश्मा एमाले प्रवेश गरेकी हुन् ।

नेपाली सिने क्षेत्रमा महानायिका घोषणा गरिएको भएपनि उनले महानायिकाको भूमिकाभन्दा कुनै दलको कार्यकर्ता हुनुमा बढी रुचाइरहेको पाइएको छ।

राष्ट्रिय कलाकारको भूमिका निर्वाह गर्नुपर्ने ख्यातिप्राप्त सेलिब्रेटीहरू नै स्वार्थपूर्तिका लागि राजनीतिक दलका नेताहरूको घर आगन पुग्ने गरेका छन्।

स्वार्थ पूरा हुन्जेल एउटा पार्टीमा ओत लाग्ने नभएपछि घरै छोडेर भाग्ने रोग कलाकारमा पनि देखिएको भन्दै टिकाटिप्पणी हुने गरेको छ । उनीहरू फिल्मी चरित्र शैलीमै दल बदल्नै हिड्ने गरेका छन् ।

यसअघि कात्तिकमा गायिका कोमल वलीलाई साथमा लिएर उनी ओली भेट्न बालकोट पुगेकी थिइन् । करिष्माले कक्षा १२ को परीक्षा उतीर्ण गरेकोमा ओली आफेँले फोन गरी बधाई समेत दिएका थिए ।

अभिनेत्री मानन्धरको हकमा पनि यो लागू भएको छ। दलबदल गर्नेमा अभिनेत्री मानन्धर एक्ली कलाकार भने होइनन्। उनी लगायत धेरै नायक–नायिका र गायक–गायिकाले दलबदल गरेका छन् ।

दलबदल गर्नेमा तयस्तै नायिका रेखा थापा, अभिनेता भुवन, चर्चित अभिनेता तथा निर्देशक नीर शाह, चर्चित सञ्चारकर्मी एवं गायिका कोमल वली पर्दछन् ।

रेखा थापा

माओवादी शान्ति प्रक्रियामा आएपछि रेखा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन् । प्रचण्डको नजिक रहेर काम गरेकी उनी ०६६ मा माओवादीले सिंहदरबार घेराउ गर्दा प्रचण्डसँग छमछम नाचेर चर्चामा आएकी थिइन् । माओवादीको केन्द्रीय सदस्य बन्न इच्छा देखाएकी रेखाले भोटर लिस्टमा आफ्नो नाम नहुँदा ०७० को संविधानसभा चुनावमा भोट खसाल्नसमेत पाएकी थिइनन् ।

माओवादीमा केन्द्रीय सदस्य बन्न नपाएपछि ०७३ मा राप्रपा प्रवेश गरेकी थिइन् रेखा । राप्रपाको एकता महाधिवेशनमा उनले शानदार मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् । तर गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवसँग नजिक रहेकी रेखालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् ।

कोमल वली

त्यस्तै दलबदल गर्नेमा चर्चित सञ्चारकर्मी एवं गायिका कोमल वली पनि पर्छिन् । रेखासँगै ०७३ मा राप्रपा प्रवेश गरेकी वली एकता महाधिवशेनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा जितेकी थिइन्। राप्रपामा सकृय रहेकी उनी ०७४ असोजमा एमाले प्रवेश गरेकी थिइन् । गत मंसिरमा चितवनमा भएको एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएकी छिन् । ओलीकै जोडबलमा राष्ट्रिय सभा सदस्य बनेकी उनी आफ्नो चार वर्षे कार्यकाल सकेर भर्खरै विदा भएकी छिन् ।

नीर शाह

त्यस्तै माओवादी शान्ति प्रक्रियमा आएसँगै एकीकृत माओवादीमा प्रवेश गरेका चर्चित अभिनेता तथा निर्देशक नीर शाह राष्ट्रिय राजनीतिमा कमजोर भएसँगै ०७६ मा नेपाली कांग्रेसतिर लागेका थिए ।शाहले कुनै बेला राजनीतिक परिवर्तनको बाहक माओवादी भएको भन्दै प्रचण्डको हातबाट टीका लगाएका थिए । कांग्रेसमा पनि भनेजस्तो अवसर नपाएपछि पार्टी छोड्ने घुर्की लगाउन थालेपछि उनलाई राष्ट्रिय सभाको रिक्त एक सदस्यमा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गर्ने तयारी भएको चर्चा चलेको छ ।

भुवन केसी

समाजसेवाका लागि एमाले भएको प्रतिक्रिया दिँदै अर्का चर्चित अभिनेता भुवन केसी ०७० को संविधानसभा चुनावअघि एमाले प्रवेश गरका थिए । केसीलाई एमालेले काठमाडौंको चर्चित क्षेत्र नम्बर १ मा उम्मेद्वार बनाएको थियो । मदन भण्डारीको क्षेत्रसमेत रहेको कम्युनिस्ट लाल किल्लामा गैरराजनीतिक व्यक्तिलाई टिकट दिएको भन्दै एमालेभित्रबाट तीव्र विरोध भएपछि अन्तिम अवस्थामा टिकट खोसियो । पाएको टिकट खोसिएपछि असन्तुष्ट रहेका केसी त्यसयता राजनीतिमा निष्कृय रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *