काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । आयोगले स्थानीय तहअनुसार चुनाव खर्च तोकेको छ र महानगरको मेयरका उम्मेदवारले साढे ७ लाख खर्च गर्न पाउने छन् ।
निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले वैंक तथा वित्तीय संस्थामा खाता खोल्नु पर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ । राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मरवार पदाधिकारीमार्फत खर्च गर्नुपर्नेछ ।
५० हजारभन्दा बढी आर्तिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ । दल र उम्मेदवारहरुले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउने निर्वाचन आचार संहितामा उल्लेख छ ।
उम्मेदवार बन्ने स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने
स्थानीय जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने भएको छ । स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ का लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवारका दावेदार छन् ।
तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ । राजपत्रमा प्रकाशित निर्वाचन आचार संहितको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’
स्थानीय कार्यपालिकाका पदाधिकारी चुनाव प्रचारमा जान नपाउने
केन्द्र र प्रदेश सरकारका मन्त्रीहरुसँगै स्थानीय कार्यापालिकाका पदाधिकारीहरु पनि अन्य उम्मेदवारको चुनाव प्रचारमा सहभागी हुन नपाउने भएका छन् ।
३० वैशाख २०७९ को स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले बनाएको आचार संहिता राजपत्रमा बिहीबार प्रकाशित भएको छ, जसअनुसार केन्द्र र प्रदेश सरकारका मन्त्रीका साथै स्थानीय कार्यपालिकाका पदाधिकारीहरु पनि कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रचारमा संलग्न हुन पाइने छैन ।
आफैं उम्मेदवार भएका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू उम्मेदवार भएमा निर्वाचन प्रचार प्रसारमा सहभागी हुन पाउने छैनन् । तर उम्मेदवारी दर्ता अघि वहाल रहेको पदबाट राजीनामा दिइसक्नुपर्नेछ । आचार संहिता राजपत्रमा प्रकाशित भएपनि लागू भइसकेको छैन । कहिलेबाट लागू हुने भन्ने आयोगले तोक्नेछ ।
हेर्नुस् आचारसंहिता




