म समय किनिरहेछु
म समयसित खेलिरहेछु
समय मलाई निरन्तर जिस्क्याइरहेछ
उसकै काँध चढेर म
वर्तमान भोगिरहेछु
समय किन्न म पैसा खर्चिरहेछु
उचाइको महँगी पछार्न पराजित छु म
किनकि म समय पर्खिरहेछु ।
घिच्याइरहेछ समयले मेरो जिन्दगी
र समयको फेर समातेर म
उसको पिछा लगिरहेछु
उसकै शरण परिरहेछु
किनकि ऊ बलवान् छ
त्यसैले म उसको कठोरतालाई किनिरहेछु ।
कहिले खसीको किस्ती लिएर आउँछ ऊ
कहिले दुःखद चीत्कार भोगाउदै आउँछ
दिन र रात, सुखदुःख, घामपानी, जाडोगर्मी भित्र्याँउदै
लुरुलुरु मलाई उसैको अधीनमा हिँडाउँछ
अविचलित छु म
खटनपटन उसैको भएर
बगिरहन्छु उसैको बहाबमा
पयेट लागेर हिंडिरहन्छु म
किनकि ऊ दास बनाउन चाहन्छ मलाई
अविराम अविश्रान्त म
अधीनस्थ भै उसैको अधि बढिरहन्छु
जे जे हुन्छ उसको आज्ञा सकारिरहन्छु म ।
म खुम्चिन्छु ऊ साँघुरिंदैन
म पग्लिन्छु ऊ पगालिरहन्छ
त्यसैले म उसलाई जति मूल्य परे पनि
विना आनाकानी किनिरहन्छु
ऊ मलाई धाप मारेर थपथपाइरहन्छ
विना विरोध म थापिइरहन्छु
ऊ सहनशील बन्न अराइरहन्छ
* * *




