रिबन

संसदमा एमसीसी पारित प्रक्रियामा विवाद खडा

काठमाडौँ । प्रतिनिधि सभाबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारितको प्रक्रियामा विवाद खडा भएको छ । यसले राजनीतिक सरगर्मी बढेको छ ।

बिहीबार दिनभर संसद् भवनमा राजनीतिक दलका नेताहरूको भेटघाट बाक्लिएको छ । सांसदहरू बैठकका लागि नयाँ बानेश्वर पुगे पनि शीर्ष नेताहरू सिंहदरबारको संसद् भवनमा भेटघाट र छलफलमा नै केन्द्रित बने । कार्यव्यवस्था समितिको बैठकले बैठक सञ्चालनको तयारीका लागि कार्यसूची फाइनल गरे पनि सरकारको आग्रहमा सूचना टाँस गरेर बैठक स्थगित गरियो ।

प्रधानमन्त्रीको आग्रहमा संसद् बैठक स्थगित भएको हो । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग सहमति गर्न शुक्रबारसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्रीको आग्रहमा सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिएको जनता समाजवादी पार्टीका सांसद बाबुराम भट्टराईले जानकारी दिए । प्रतिनिधि सभामा अहिलेसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी एमसीसी पारित गर्न‘पर्ने पक्षमा छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत–समाजवादी) विपक्षमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसदीय प्रक्रियामा भाग लिएको छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *