काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको विषयले सत्ता गठबन्धन धरापमा परेको छ । एमसीसी बारेमा सत्ता घटक दलहरू एकमत हुन नसक्दा बिहीबारको संसद् बैठकसमेत स्थगित भएको छ । गत आइतबार एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएको थियो ।
कांग्रेस महामन्त्री गगन थापाले एमसीसी पारित गर्ने कुरा नमिलेपछि सत्ता गठबन्धन धरापमा परेको बताएका हुन् । राष्ट्रिय राजनीतिमा एमसीसीको विषय धेरै नै गिजोलिएपछि बिहीबार दिनभर प्रधानमन्त्री शेरवहादुर देउवालगायत काग्रेसका शीर्ष नेताहरू अन्य दलहरूसँग संवादमा व्यस्त रहे । प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सो पार्टीको शीर्ष नेताहरूसँगको छलफलपछि कांग्रेस महामन्त्री थापाले भने– ‘ओली नेतृत्व सरकारले संसद्मा दर्ता गरेको एमसीसी सम्झौता अनुमोदनका लागि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।’
‘एमसीसी सदनमा तपाईंले दर्ता गरेको विषय हो । हामी प्रतिपक्षमा हुँदा पनि तपाईंलाई सहयोग गरेका थियौं । तपाईबाट पनि हामी त्यही अपेक्षा गर्छौं’, प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई भनेको भनाइ उद्धृत गर्दै थापाले भने । एमसीसीको विषयमा दलहरूवीच चर्को मतभेद देखिएसँगै कूटनीतिज्ञहरूसमेतको चासो बढ्न थालेको छ । बिहीबार चिनियाँ नेताहरूले ओलीका साथै माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।




