रिबन

बालुवाटारमा कांग्रेस-एमाले छलफलः सरकारका प्रवक्ता के भन्छन् ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफल सकिएको छ । बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा करिब २ घण्टा चलेको छलफलमा संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रीत रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठक सकिएसँगै एमाले नेताहरु कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता सहभागी थिए ।बैठकपछि सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गर्न पहल गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गरौं, सबैको सहयोगमा संसदबाट एमसीसीलाई अनुमोदन गरौं भन्नु भयो’ उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीले पुरानै कुरा राख्नु भएको छ। जुन कारणले संसदमा प्रवेश गर्न सकेका छैनौं त्यसको निराकरण नहुँदा सम्म संसदमा आएर विचार राख्न कठिनाइ छ भन्नु भएको छ ।’

संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन यो वार्ता जारी रहने कुरामा नेताहरु सहमत भएको उनको भनाइ छ । समस्या समाधान चाँडै गर्नुपर्छ भन्नेमा नेताहरु सहमत भएपनि निष्कर्ष ननिस्किएको उनले बताए ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने एमालेको तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

बिहीबार बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि पनि संसद् भवनमै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *