सम-सामयिक

कांग्रेस–एमालेबीच बाक्लो भेटः महन्थ ठाकुरलाई सभामुख बनाउने तयारी

काठमाडौं । अमेरिकी सहयोग मिलियन च्यालेन्च कर्पोरेशन (एमसीसी) लाई लिएर नेपालको राजनैतिक क्षेत्रभित्र भाँडभैलो मच्ची राखेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ ।

विवाद र विरोधका कारण पनि सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गर्यो एमसीसी सदनमा टेबुलगर्नुभन्दा अघि सत्ता गठबन्धन भित्र नै दुई मतका विवाद भए ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालले अहिलेको अवस्थामा एमसीसी टेवुल गर्न नहुने अडान राखेका थिए ।


उता, जसपामा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको पक्षमा बहुमतम देखिएको छ। सो सँगै अल्पमतमा परेका अध्यक्ष उपेन्द्र यादव पनि अन्ततः एमसीसी टेबुल गर्न दिने पक्षमा पुगेका थिए । तर, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का भातृ संगठन भने एमसीसीको विरोधमा सडक संघर्षमा उत्रिएका छन् । प्रचण्ड र माधव नेपालले एमसीसीलाई लिएर दोहोरो भूमिका खेलेको भन्दै आलोचना भैरहेको छ ।

प्रधानमन्त्री देउवा भने कुनैपनि हालतमा एमसीसी पास गराउने गरि अन्तिम गृहकार्यमा जुटेका छन् । अमेरिकाले भने यही फागुन १६ गतेभित्रै एमसीसी पास गराउनको लागि समयसीमा तोकिदिएको छ। यदि उक्त समयसिमाभित्र एमसीसी पास भएन भने एमसीसी फिर्ता लैजाने अमेरिकाले जनाएको छ ।

एमसीसी पारित गराउनको लागि सहयोग नगर्ने भनेर प्रचण्ड र माधव नेपालले सार्वजनिक रुपमै भनिसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि दबाबमा परेका छन् ।

देउवा एमसीसी पास गराउने शर्तमा गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नपनि आफू तयार रहेको सन्देश दिईसकेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेटवार्ता बाक्लिएको छ । हिजोमात्रै ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

उक्त भेटमा एमसीसी पास गराउनको लागि एमाले अध्यक्ष ओली सकारात्मक बनेको स्रोतको दाबी छ। एमसीसी प्रक्रियामा अघि बढाउनको लागि सभामुख अग्निप्रसाद सापकोटाको भूमिका अझैपनि शंकाको घेरामा रहेको कांग्रेस नेताहरुको गुनासो छ।

उता, एमालेले आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्रको सूचना टाँस नगरेर सभामुखले गम्भीर गल्ती गरेको आरोप लगाउँदै लगातार सदन अवरुद्ध गरिरहेको छ। एमालेले एमसीसीमा साथ दिनको लागि सभामुखलाई हटाउने शर्त कांग्रेससामू राखेको छ । जसमा कांग्रेस नेतृत्व हिजोदेखि सकारात्मक बनेको चर्चा छ ।

उच्च स्रोतकाअनुसार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा सभामुख सापकोटालाई हटाउनेसम्मको तयारी भएको छ। एमसीसीको पक्षमा उभिएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सभामुख बनाउने गरी कांग्रेस र एमालेका नेताहरुबीच छलफल अघि बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *