काठमाडौँ । सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ ।
काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक गल्ली पूर्ण रूपमा दूषित भएको छ । फोहोर विसर्जन गर्न नसकेपछि अस्पतालजन्य फोहोरसमेत जहाँको त्यहीँ थुप्रिएको छ । स्थानीय, काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीका प्रतिधिनिबीच पटकपटक भएको वार्ता सफल हुन सकेको छैन । हिजो आइतबार साँझ अबेरसम्म भएको वार्ता पनि सफल हुन सकेन ।
कामपाका वातावरण व्यवस्थापन विभागका तर्फबाट खटिएका कर्मचारी रविन प्यासीले वार्ता जारी रहेको बताउँदै भने– ‘ठेकदारले सडक निर्माणका लागि चैत ८ गतेसम्म म्याद राखे तापनि स्थानीयले विश्वास गर्न नसक्ने भन्दै तत्काल काम शुरू गर्न माग राखेका छन् ।’ उनका अनुसार शारदा अधिकारीको कम्पनी शैलुङ कन्ट्रक्सनको तर्फबाट वार्तामा उपस्थित भएका अनुरूप अधिकारीले एक महिनाभित्र सडक कालोपत्रे गरिसक्ने वचन दिएका थिए । तर, स्थानीयले तत्काल नै सडक बनाउनुपर्ने माग राखेपछि वार्ता सफल हुन नसकेको हो ।




