राजनीति

एमसीसीका बारेमा माधव नेपालको यस्तो आशंका…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नसकिने बताएका छन् ।

शुक्रबार वीरगञ्जस्थित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताएका हुन् ।

‘एमसीसीलाई यथास्थितिमा समर्थन गर्न सकिँदैन। जनमत अहिले यसको विरोधमा छ । एमसीसीमा केही मिलाउनुपर्ने कुराहरु छन्। जनतालाई पनि यस विषयमा आश्वस्त पार्न चुनौती छ। यथास्थितिमा आँखा चिम्लेर हामीले एमसीसीको समर्थन गर्न सक्दैनौं,’ नेता नेपालले भने ।

एमसीसी थप छलफल र गहिरो अध्ययन गर्नुपर्ने विषय भएकाले यसलाई अझै पर सार्न सके राम्रो हुने उनले बताएका छन् । साथै एमसीसीको विषयमा भए नभएका कुराहरुको प्रचारप्रसार भइरहेको समेत नेपाले बताए ।

नेकपा एसले एमसीसीका विषयमा विभिन्न सात वटा बुँदामा असहमति जनाएको पनि उनले बताएका छन् ।

नेता नेपालका अनुसार एमसीसीमा उब्जिएका आशंकाहर

  • एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग हो कि होइन

  • यो अमेरिकाको सुरक्षा रणनीतिअन्तर्गत पर्छ कि पर्दैन, सैन्य सम्बन्ध छ कि छैन

  • एमसीसीको ट्रान्समिसन प्रयोग गर्दा नेपालको तलको भूभागमा नेपालको अधिकार रहन्छ कि रहँदैन

  • निर्माणको कार्य गर्दा श्रम शक्तिहरु नेपालको प्रयोग गर्न पाउने कि नपाउने

  • एमसीसी परियोजनाअन्तर्गत भएका विकासका कार्यहरुबाट उत्पादन हुने बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन,

  • एमसीसीको लेखापरीक्षण गर्ने हक नेपालका लेखापरीक्षकहरुले प्राप्त गर्छन् कि गर्दैनन्

  • एमसीसी तथा यससँग जोडिएका कानुनको बारेमा प्रस्ट हुनुपर्ने

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *