काठमाडौं । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा )मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले अगामी वैशाखका हुने भनिएको स्थानीय चुनाव आपत्तिजनक रहेको बताएका छन् ।
अध्यक्ष सोनलले प्रेस विज्ञप्ति जारी गरी वैशाखमा चुनाव हुँदा मधेश प्रदेशका जनप्रतिनिधिमाथि अन्याय हुने जिकिर गरेका छन्। सरकारले आगामी ३० वैशाखमा सबै प्रदेशमा एकै चरणमा चुनाव गर्ने घोषणा गरेको छ।
मधेश प्रदेशका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ६ महीना बाँकी छँदै चुनाव गर्नु लागेकोमा लोसपाले आपत्ति जनाएको छ।
स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षको पदावधि संविधानको धारा २१५ को उपधारा ६, धारा २१६ को उपधारा ६ र धारा २२० को उपधारा ५ अनुसार हुने भएको उल्लेख गर्दै कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एक दिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ।
२०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो। पहिलो चरणमा ३१ वैशाखमा, दोस्रो चरणमा १४ असार र तेस्रो चरण २ असोजमा भएको थियो। मधेश प्रदेशमा तेस्रो चरणमा २ असोजमा चुनाव भएको थियो।
तेस्रो चरणको चुनावबाट निर्वाचित जनप्रतिनिधिको पदावधि सकिनुभन्दा ६ महीनाअघि नै स्थानीय तहको चुनाव गर्न लागिएको लोसपाले आपत्ति जनाएको छ। यो न्याय संगत नभएको अध्यक्ष सोनलको भनाइ छ।
स्थानीय तहको चुनाव घोषणा हुनु सकारात्मक भए पनि संविधानअनुसार, चल्नुपर्ने लोसपा जनाएको छ।




