राजनीति

नयाँ पार्टी खोल्ने तयारीमा थापा, राजसंस्था एजेण्डामा नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर कमल थापाले नयाँ पार्टी खोल्ने तयारीमा देखिएका छन् ।

नयाँ पार्टीमा ‘राजसंस्था’ एजेण्डा नहुने र हिन्दुराष्ट्रको एजेन्डा मात्र बोक्ने गरी नयाँ पार्टी बनाउने थापा निकट स्रोतले जानकारी दिएको छन्।

निकटकाहरुसँग नयाँ पार्टीको उद्देश्य, संगठनात्मक संरचना, एजेन्डा लगायतका विषयमा सामान्य ब्रिफिङ गरेका थापाले त्यसका लागि आवश्यक दस्ताबेजलाई पनि अन्तिम रुप दिन थालेका छन् ।

स्रोतका अनुसार थापाले फागुन पहिलो साताभित्र नै नयाँ पार्टीको घोषणा गर्ने छन् । यससँगै थापाले पार्टी एकताका क्रममा खाएको हिन्दूहरूको पवित्र ग्रन्थ गीताको कसम पनि तोडिने भएको छ ।

थापाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसँग सामान्य परामर्श गरिसकेका छन् । बुधबारदेखि आफ्नो समूहभित्र थप छलफल गरी पार्टीलाई मूर्तरूप दिने तयारी छ ।

त्यसका लागि उनी निकट केही नेताहरुले छिट्टै पार्टी परित्यागको घोषणा गरेर थापाको अभियानमा होमिएको घोषणा गर्नेछन् ।

थापाले आफ्नो पार्टीमा आउन पूर्वअध्यक्ष पशुपति शमशेर राणालाई समेत आग्रह गरेका छन् । सो क्रममा थापाले अध्यक्षको प्रस्ताव समेत गरेको बनाइएपनि उनले सो प्रस्ताव अस्वीकार गर्दै राप्रपामै रहने जवाफ फर्किएको राप्रपाका एक नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *