राजनीति

यथास्थितिमा एमसीसी अनुमोदन हुन सक्दैनः देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र एमसीसी अगाडि बढाउनुपर्ने बताएका छन् । नेता गुरुङले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सहमतिबिना एमसीसी परियोजना अगाडि बढाएमा गठबन्धन स्वतः समाप्त हुने उनले बताएका छन्।

‘एमसीसी यही रुपमा यथास्थितिमा अनुमोदन हुन सक्दैन। त्यसैले यसलाई संशोधन गर्नुपर्‍यो, परिमार्जन गर्नुपर्‍यो, एमसीसी कम्पनीसँग कुराकानी गर्नुपर्‍यो भन्नेकुरा भइराखेको छ पाँच दलभित्र। कति संशोधन हुनसक्छ, कति परिमार्जित हुनसक्छ, त्यही आधारमा दलहरु बीचमा कति राष्ट्रिय सहमति हुन्छ, हुँदैन भन्ने कुराको आधारमा अगाडि बढ्ने कुरा हो।

अहिले पाँच दलको बीचमा संशोधनको विषय भएको हुनाले संशोधनकै लागि प्रयास गरौँ एमसीसी कम्पनीसँग। उसले संशोधन गर्दिनँ भनेर जतिसुकै भनेता पनि उसले भनेको बेलामा चाहीँ खुरुखुरु संशोधन हुने, हामीले भनेको बेलामा संशोधन नहुने भनेपछि त यो त असमानताको पराकाष्ठा भयो। अहिले यो संशोधन नगरिकन हुँदैन भनेर हामीले कुरा लैजाने, सम्वाद गर्दै गर्ने। जबसम्म संशोधन गर्न तयारी हुँदैन तबसम्म यो सदनमा टेबुल हुने विषय भएन। यो लिङ्गरिङ भइरहन्छ। गठबन्धन छोडेर जान चाहनुभयो भने त उहाँको (प्रधानमन्त्री) कुरा पर्‍यो।

गठबन्धन रहँदासम्म त गठबन्धनमा सहमति गरेर जाने कुरा हो। गठबन्धन छोड्ने कि नछोड्ने भन्ने त उहाँको (प्रधानमन्त्री) कुरा हो। उहाँले गठबन्धन छोडेर एमसीसी लिएर जानुभयो भने त गठबन्धन स्वतः समाप्त भयो त। मलाई लाग्छ गठबन्धन छोडेर उहाँ त्यो रुपले लाग्नुहुन्छ जस्तो लाग्दैन,’ नेता गुरुङले भने ।

यस्तै उनले आगामी वैशाख ३० गते स्थानीय तहको निवाृचनन गर्दा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *