राजनीति

प्रतिनिधिसभामा एमसीसी अनुमोदनको प्रस्ताव पेश गर्न नदिन माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा थप निर्णय केन्द्रीय कमिटीको बैठकपछि मात्रै गर्ने भएको छ।

माओवादी केन्द्रका शीर्ष नेताहरुले एमसीसी बारेमा आइतबार दिनभर र सोमबार विहान छलफल गरेका थिए । छलफलमा एमसीसीबारे पार्टी भित्रको दोहोरो रणनीतिबारे आउँदो केन्द्रीय कमिटी बैठकमा थप प्रष्ट पार्ने सहमति बनेको बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गते बस्ने तय भएको छ । सो बैठकमा एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ । सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा देखिएका छन् ।

आगामी माघ २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आगामी बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी अनुमोदनसम्बन्धी परियोजना संसदमा टेबुल गर्ने पक्षमा रहेका बताइएको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रमा प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछिमात्रै त्यसबारेमा ठोस निर्णय गर्ने समझदारी बनेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *