सम्पादकीय

चीनको चिन्ता छाडाैं, देश बनाउनतिर लागाैं

एमसीसीका खराबी के-के हुन शायद ७५ पेजमा समेटिएको बुँदा भन्दा पनि बढी बुँदा सार्वजनिक भइसकेका छन । एमसीसी पास भएमा सीधै अमेरिकी सेना बुट बजार्दै नेपाल प्रवेश गर्छन भन्ने देखि एमसीसीको नाममा जासुसी संस्था निर्माण गरेर अमेरिकाले चीन घेर्छ भन्ने सम्मका तर्क वितर्क भइसकेका छन । र,अमेरिकाका पाँच प्राथमिकता र अबको युद्ध एशियामा भन्ने पनि बहश भइसकेका छन । यो बहशमा संलग्न हुनेहरुले अब अमेरिका एशियामा युद्ध चाहन्छ र यसको लागि कि अफगानस्तानलाई आधार बनाएर अमेरिकाले चिनलाई आक्रमण गर्छ,कि ताइवानको भूमि प्रयोग गर्छ कि साउथ चाइना सि मा किचकिच गरिरहन्छ,कि नोलको भूमि प्रयोग गर्छ कि मंगोलियालाई प्रयोग गर्छ भन्ने छ । यसको अर्थ के हो भने अब अमेरिकाको अर्थतन्त्र डोलायमान हुन्छ र सन २०२५ पछि चीन विश्वको आर्थिक शक्ति हुन्छ र यसो हुन नदिन अमेरिकाले कि चिनलाई युद्धमा होम्छ कि उसलाई अन्य घरेलु वा वाह्य विषयमा अलमल्याएर माथि उठन दिदैन भन्ने नेपाली कम्युनिष्टहरुको विश्लेषण छ ।

खासमा भन्ने हो भने नेपाली कम्युनिष्टहरुमा नेपालको भन्दा चीनको चिन्ता बढ्ता देखिन्छ जुन एमसीसीलाइ लिएर भएको बहशबाट बुझ्न सकिन्छ । जति चिन्ता नेपालका कम्युनिष्टले चीनको बारेमा गरेका छन शायद यति चिन्ता चीनले पनि आफनो बारेमा गरेको छैन । सैन्य र आर्थिक हिसावले अहिले मजवुद रहेको चीन नेपालीहरुले सोचे जति कमजोर पनि छैन । तर,पनि चीनको चिन्ता जारी छ ।


तर,एमसीसीको सन्दर्भमा हामीले सोच्नुपर्ने के हो ? नेपाल आफैले बर्षौंसम्म मेहनत गरेर प्रशारण लाइन र यसको लागि आवश्यक सडक निर्माणको लागि सहयोग गरिदिन अनुरोध गरेपछि यो प्रोजेक्ट हात लागेको हो । एमसीसी ५ बर्षमा सकिन्छ र यो पैसा लिदा ब्याज तिर्नुपर्दैन । तर पनि नेपालका राष्ट्रवादी किन यसको उछितो काढिरहेका छन ?


अमेरिकाको एक विश्वविद्यालयले हालै गरेको एक अध्ययन अनुसार,संसारमा मानिसहरु देखिएको र लेखिएको विषय भन्दा नदेखिएको र नलेखिएको षडयन्त्रको बारेमा पत्याउन थालेका छन । र,यो क्रम बढदो छ । एमसीसीको सन्दर्भलाई लिएर हेर्दा षडयन्त्रको राजनीतिलाई पत्याउने जमात बढेछ भन्नुपर्ने हुन्छ । एमसीसी अनुमोदन गर्ने बेलामा रक्षामन्त्री भएका,यसपछि पनि पटक पटक मन्त्री भएका भीम रावलको अभिब्यक्तिलाई यहि कोटीमा राखेर हेर्न सकिन्छ ।


खासमा एमसीसीलाई नेपालको मात्र चासोको विषय रहेन । अमेरिकाको पनि इज्जतको सवाल भयो । नेपाल जस्तो गरिव मुलुकले नि:शुल्क पाउने पैसा समेत अति राष्ट्रवादी बन्ने नाममा नलिदा अमेरिकालाई उदेक लाग्नु स्वभाविक नै हो । र,यसको पछाडि चीनको हात छ भन्ने कुरा उसलाई थाह नहुने कुरै भएन । तर,नेपालका राष्ट्रवादी किन एकोरिएर यो पैसा होइन,षडयन्त्र हो भनिरहेका छन त ? पटक पटक मन्त्री भएका एक वामनेताको कुरालाई ध्यान दिन जरुरी छ । उनी भन्छन–एमसीसीको विरोध हुनुको पछाडि दुइ कारण छन ।
एक–आइएनजिओ र एनजिओ
दुइ–यो आवश्यकता भन्दा बढी पारदर्शी भयो


अमेरिकाले जब नेपाल जस्ता देशमा आएनजिओ मार्फत लगानी गरेर कुनै प्रतिफल देखेन तब उसले सिधै लगानी गर्न चाहयो,भारत र चीनले जस्तै । यसबाट आएनजिओवालाहरु सतर्क भए र विरोध उत्रिए । र,अमेरिकाले जुन ५ बर्षको समय तोक्यो,यो भन्नुको मतलब समय लम्ब्याउने,रकम बढाउने जुन नेपाली चलन छ,यो पनि नहुने भयो । यसबाट पैसा खान पल्केकाहरु पनि रिसाए र विरोधमा उत्रिए । र,यो एमसीसी यति पारदर्शी भयो कि यसको बुँदा बुँदामा वच्चा वच्चाले बहश गर्न थालेको छ । तर यसको खास विरोध हुनुको उदेश्य वेग्लै छ । यदि अमेरिकाले यो पैसा फिर्ता लियो भने उसको इशारामा मद्धत गर्ने देशहरु जापान देखि कोरिया र इजरायलसम्म पछि हटनेछन । ध्यान दिनुपर्ने कुरा के छ भने नेपालमा कृषि देखि स्वास्थ्य र सडकसम्म सहयोग गर्ने यिनै देश हुन ।

जब अमेरिका र उसका मद्धतगार देश पछि हटछन यसपछि नेपालमा विकासको काम चीनले गर्नेछ र पैसा उसले आफ्नै बैंक मार्फत उपलब्ध गराउँछ । र,नेपालसँग बाध्यता हुन्छ कि चीनको भर पर्नुपर्ने । किनभने भारतसँग यति धेरै पैसा छैन कि नेपाललाई मद्धत गर्न सकोस । यस्तो बेलामा के हुन्छ भन्ने कुरा बुझ्न टाढा जानै पर्दैन श्रीलंकलाई हेरे पुग्छ । अमेरिकाको एमसीसी फिर्ता गरेको श्रीलंका जब टाट पल्टयो,तब चीनको ऋण तिर्न आखिरमा भारत चाहियो । के नेपाल यसैगरि हिडने हो ?

यसैले चीनको चिन्ता उसैलाई गर्न दिऔं,हामी हाम्रै देश बनाउतिर लागौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *