काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार बुधवारका लागि सचिवालय बैठक बोलाएको भएपनि बैठक बस्ने स्थान र समय यकिन भई नसकेको जानकारी दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमणमुक्त भएपछि सचिवालय बैठक बस्न लागेको छ।
एमालेको विधानले अध्यक्षको नेतृत्वमा पदाधिकारी सम्मिलित सचिवालयको व्यवस्था गरेको छ। एमाले केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहेका छन् ।
सचिवालय बैठकले टुंगो लगाउनुपर्ने विषयमा एमालेको कार्यालय बैठकमा सोमवार छलफल भएको छ।
एमालेले महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू सदस्य रहेको केन्द्रीय कार्यालय गठन गरेको छ।
एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सोमवार केन्द्रीय कार्यालयको बैठक बसेको हो ।
बैठकमा सचिवालयमा छलफल गरेर टुंगो लगाउनुपर्ने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले बताए।
महासचिव नेतृत्वको कार्यालय बैठकले समसामयिक विषयमा छलफल गरेर पार्टीको सचिवालयमा प्रस्तुत गर्ने गर्छ ।
सोमवारको बैठकमा गत राष्ट्रिय सभाको निर्वाचन, आसन्न स्थानीय तहको निर्वाचन लगायतबारे छलफल भएको विष्टले जानकारी दिए ।
‘सरकारले साँच्चिकै स्थानीय तहको निर्वाचन गराउन लागेको हो कि होइन भन्नेबारे सचिवालयमा छलफल गर्नुपर्ने विषय उठेको छ। सचिवालय बैठकमा यसबारे विस्तृतमा छलफल हुन्छ,’ उनले भने ।
यसबाहेक अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौताबारे अहिले चर्चामा रहेको विषयमा पनि बैठकमा छलफल भएको उनले बताए ।




