विचार

एमसीसी संसदमा छिर्न नदिने को ?

काठमाडौं । मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) ले यतिबेला मुलुकको राजनीति तातेको छ । परियोजना स्वीकार गर्ने वा नगर्ने निर्णय दिन फेब्रअरी १ सम्मको समयसीमा एमसीसी मुख्यालयले तोकेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी संसदमा अघि बढाउने निर्णय गरेपछि राजनीतिक माहोल तातेको हो ।

गठबन्धन तोडेर भए पनि एमसीसी संसदमा प्रवेश गराउने निष्कर्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । एमसीसी पास गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ससर्त सघाउने वचन दिएपछि प्रधानमन्त्री देउवा उत्साहित देखिएका छन् । प्रधानमन्त्री देउवाको यो निष्कर्ष र प्रतिपक्षी दल एमालेको नयाँ रणनीतिले निर्वाचनको मुखमा कांग्रेसको औला समात्न पाइँदैन कि भनेर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा समाजवादी झस्केका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गरेकाले एमसीसी अघि नबढेको सतही कारण देखाइएको छ । एमालेको संसद अवरोधले सत्ता साझेदार माओवादी केन्द्र र नेकपा समाजवादीको लुतो कनाइदे सरह भएको बुझाइ राजनीतिक वृत्तमा छ । गत माघ १६ गते बोलाइएको संसद बैठकबाट त्यो स्पष्ट हुन्छ । सभामुख अग्निप्रसाद सापकोटा आफै संसद बैठक नबसोस भन्न मनस्थिति बनाएर प्रस्तुत भएका थिए ।

सरसर्ती हेर्दा एमसीसी अघि बढाउन संसद बैठक बाधक बनिरहेको देखिन्छ । तर यसभन्दा अघि केपी ओलीको सरकारले पनि एमसीसी संसदमा प्रवेश गराउने प्रयास नगरेको होइन । त्यसबेला को बाधक थिए– जगजाहेर छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसीको नाम सुन्नसमेत चाहेनन् । उनको बहिगर्मनपछि यी तथ्यहरु बाहिर आएका हुन् ।

अहिले त्यही भूमिका वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले निर्वाह गरिरहेका छन् । संघीय निर्वाचनसम्म नै एमालेले संसद अवरोध गरोस् र एमसीसीलाई संसद प्रवेश गर्न नदिइ गठबन्धन टिकाइ राख्ने माओवादी केन्द्रको रणनीति अनुरुप नै सभामुखले काम गरिरहेका छन् । देखिएको सत्य के हो भने– एमसीसी संसदमा रोकेको एजेन्डा बोकेर एमाले इतरका कम्युनिष्टहरु चुनावमा जान चाहन्छन् ।

माघ २६ गतेलाई संसद बैठक बोलाइएको छ । यो बैठकमा पनि सभामुखको भूमिका यही दोहोरियो भने गठबन्धनको भविष्य के हुने होला त्यो अहिले नै अनुमान गर्न सकिँदैन । तर माओवादीले रणनीति नबदले हत्याको अभियोग लागेका ‘भगौडा’ सभामुखलाई संसदमा महाअभियोग लगाइराख्नु पर्दैन, सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रहेको मुद्दा ब्यूताए पुग्छ । यो अवस्थासम्म पुग्न नदिन नेपाली राजनीतिका चतुर खेलाडी पुष्पकमल दाहालले रणनीति बद्ल्न सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *