राजनीति

सरकारका भौतिक सम्पत्तिहरु नीजि क्षेत्रलाई प्रयोग गर्न दिइँदैनः शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारका भौतिक सम्पत्तिहरु नीजि क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।

आइतबार केशर महलको निरीक्षणमा पुगेका मन्त्री पौडेलले महल परिसरमा रहेको जमिन नीजी क्षेत्रको प्रयोजनका लागि दिन नहुने बताएका हुन् ।

विभिन्न सञ्चारमाध्यमहरुमा केशर महल बाहिरको जग्गा नीजि क्षेत्रलाई निजी प्रयोजनका लागि दिने तयारी भएको भन्ने समाचारका आधारमा आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए ।

सरकारी सम्पत्ति नियमविपरित नीजि क्षेत्रलाई प्रयोग गर्न दिएको पाइएमा कारबाही गर्ने पनि उनले बताएका छन् ।

‘शिक्षा मन्त्रालय मातहतका निकायहरुले नीजि क्षेत्रलाई नीजि प्रयोजनको निम्ति बाहिरपट्टिको जमीन दिन खोजेको हो कि भन्ने आशयको कुराहरु आएको हुँदा शिक्षा मन्त्रालय र मेरो आफ्नो पनि ध्यानाकर्षण भएर कुरा हो।

कुनै पनि प्रकारको नीजि क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यसप्रकारको भौतिक सम्पतिहरु प्रयोग गर्न दिइने छैन, दिइँदैन। कहीँ कतै भए गरेको प्रप्त भएमा हामी राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्छौँ,’ मन्त्री पौडेलले भने ।

त्यसैगरी केशर महलको पुनर्निमाणको कार्यमा ढिलाइ हुँदा मन्त्रालयका कतिपय कामहरु व्यवस्थित गर्नका लागि भौतिक ठाउँ अभाव भएको उनले बताएका छन् ।

आगामी ६ महिनाभित्र केशर महलको पुनर्निर्माणको काम सम्पन्न गर्न पनि उनले निर्देशन दिएका छन् ।

‘कन्ट्याक्टरहरुले हामी अब ६ महिनाभित्र करीब कम्प्लिट गर्दछौं र तीन महिनामा एउटा भाग हामी सक्छौँ भन्नुभएको छ ।

हामीले पनि प्रशासनिक सहयोग, बजेट जुटाउन परेमा हामीलाई भन्नुहोला तर अब गरिएको, थपिएको सहमतिअनुरुपको समयावधि यो बिल्डिङको रिनोभेट गर्ने प्रक्रियाको काम सकिनुपर्छ भनेका छौँ,’ मन्त्री पौडेलले भने ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ ।

महलको क्षेत्रफल ३४ रोपनी, २ आना, १ पैसा, ३ दाम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *