काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी आगामी वैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन्।
शनिबार काठमाडौंमा नेकपा (एस) निकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुलाई निर्वाचनमा जानका लागि डरायो भन्ने भ्रम छर्ने काम भइरहेको बताए ।
‘हामी चुनावसँग आत्तिएका छैनौं, चुनाव वैशाखमै हुन्छ भने पनि सामना गर्न तयार छौं’, नेता नेपालले भने । त्यसैगरी आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने उनले दाबी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्म गठबन्धन कायमै राख्नका लागि आग्रह गरिरहेकाले गठबन्धनमा खटपट आउँछ कि भनेर शंका गर्नु पर्ने कुनै कारण नभएको उनले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकारका षड्यन्त्रबाट गठबन्धन टुटाउने प्रयास गरेपनि त्यो असफल भएको नेता नेपालले बताए ।
साथै गत बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट एमालेको सूर्यमा ग्रहण सुरु भएको समेत उनले टिप्पणी गरेका छन् ।




