काठमाडाैं । नेपालले अफगानिस्तानलाई औषधि र लत्ताकपडा सहयाेग गरेकाे छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए। मन्त्री खड्काले हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको हो। परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन्। तीमध्ये ३० लाख बालबालिका कुपोषणबाट ग्रस्त रहेको उनले बताए।
प्राकृतिक प्रकोपमा नेपाल परेका बेला विभिन्न देशबाट सहयोग लिएको स्मरण गर्दै उनले नेपालले पनि परेका बेला सहयोग गर्न सक्ने बताए।
औषधिलगायत सामग्री बोकेको जहाजमा नेपालका तर्फबाट मन्त्रालयकी सहसचिव सेवा लम्साल, मन्त्रालयका कर्मचारी, उद्योगी तथा व्यवसायीहरू र पत्रकारहरू रहनेछन्। केही महिनाअघि तालिबानले सत्ता कब्जा गरेको मुलुक अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएपछि नेपालले सहयोग गरेको हो। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि गत अगस्टमा असरफ घानी नेतृत्वको सरकार ढलेको थियो। तालिबानहरूले सत्ता कब्जा गरे पनि उनीहरूको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन।




