काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका एक दम्पती रिहा भएका छन् ।
जग्गा हिनामिना प्रकरणमा नक्कली कागजात तयार पारेको आरोपमा पक्राउ परेका रामकुमार सुवेदी र माधवी सुवेदीलाई हाजिरी जमानीमा रिहा गरिएको हो । उनीहरुलाई यही पुस ७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेकाे थियाे ।
सीआईबीले १ सय १३ रोपनी सरकारी जग्गा किर्ते गरेर हडप्नेविरुद्ध ३ सय ६२ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, दुई वर्ष लगाएर गरेको अनुसन्धान प्रतिवेदनलाई सरकारी वकिल कार्यालयले विभिन्न बहाना बनाएर फिर्ता गराएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सीआईबीलाई बालुवाटार प्रकरणको अनुसन्धान गर्न २७ पुस २०७६ मा जिम्मा दिएको थियो ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार लिखतसम्बन्धी कसुरमा उजुरी परेको दुई वर्षभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधान छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको उजुरी आजकै दिन दुई वर्ष पूरा हुँदै थियो । सो संहिताअनुसार २७ पुसमा मुद्दा दर्ता हुनुअघिल्लो दिन नै सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन फिर्ता पठाउँदा अब मुद्दा दर्ताको सम्भावना न्यून रहेको छ ।




